कालिका–भकुण्डे केबलकारका लागि संभाव्यता अध्ययन


खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लामा पर्यटकीय गतिविधिलाई बढाउन केबलकारको अवधारणा ल्याइएको छ ।

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य कालिका मन्दिर देखि पर्यटकीय गाउँ भकुण्डे पुग्नका लागि केबलकार निर्माण गर्नेगरी योजना अघि सारिएको छ ।

बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुले स्थित दाबगरादेखि पञ्चकोट सम्म केबलकार लैजाने योजना अघि सारिएको थियो । तर स्थानीयको विरोधका कारण उक्त योजना अघि बढेको थिएन । अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताहरुको पहलमा थालेको अध्ययनले केबलकारका लागि उत्कृष्ट गन्तव्य बागलुङ कालिका मन्दिर देखि भकुण्डे देखिएको हो ।

केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्नका लागि प्रारम्भिक अध्ययन थालिएको छ । कालिका मन्दिरमा आएका धार्मिक पर्यटकहरुलाई रमणीय गाउँको रुपमा रहेको भकुण्डे लैजाने र नजिकै रहेको भैरवस्थान मन्दिरको समेत दर्शन गराउनेगरी केबलकारको अवधारण ल्याइएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो ।

“हामी प्रारम्भिक अध्ययनमै छौं, अहिले प्राविधिकहरुले पहिलो पटक यस स्थानको सर्वे गर्नुभएको छ, धेरै हिसावले कालिका मन्दिर नजिकैबाट भकुण्डे सम्म केवलकार निर्माण गर्न सहज देखिएको छ, जुन अध्ययनले देखाएको प्राविधिकहरुले जनाउनुभएको छ” चोखालले भन्नुभयो “लामो पुल हेर्ने, कालिका मन्दिर दर्शन गर्ने र बागलुङ बजार घुम्न आएका पर्यटकहरुलाई भकुण्डे पु¥याउने र भकुण्डेलाई एउटा सांस्कृतिक गाउँका रुपमा विकास गर्ने हो भने केबलकार चल्ने देखिन्छ जस्का लागि बागलुङ नगरपालिकाले पहल गर्नुप¥यो भने स्थानीय उद्यमीले साझेदारीमा निर्माण गर्न सकिन्छ ।”

केबरलकार निर्माणका लागि भकुण्डेका स्थानीय, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङ नगरपालिका तथा पर्यटन व्यवसायीसंग पहिलो चरणमा केबलकार निर्माण गर्नका लागि छलफल गरिएको र उक्त झलफलबाट केबलकार निर्माण गर्नका लागि सकरात्मक देखिएको अभियान्ता तथा कालिका मन्दिर तथा भकुण्डे केबरलकारको अबधारणा ल्याउने कृष्ण केसीले जानकारी दिनुभयो ।

उहाँले स्थानीय पालिकाले समन्वय गरेर प्राइभेट कम्पनी मार्फत केबलकार निर्माण गर्न सकेमा बागलुङको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

भकुण्डे गाउँ घरबासका कारण निकै चर्चित गाउँ हो जहाँ जिल्लाकै पहिलो घरबास अतिथि सत्कार घरबास स्थापना गरिएको थियो ।

भकुण्डे गाउँको बराह ताल, हिरा ताल, मुलाबारी भ्यू टावर, सास्कृतिक संग्रहालय र यहाँको घरबासमा पाइने स्थानीय परिकारको स्वादका कारण यहाँ पुग्ने पर्यटकहरुको संख्या दिनानुदिन बढ्दो भएकोले त्यहाँ पुग्नका लागि लागि केबलकारको अवधारणा ल्याइएको छ ।

“हामीले भर्खरै प्रारम्भिक अध्ययन गरेका छौं, कालिका मन्दिर देखि भकुण्डे सम्म केबलकार सञ्चालन गर्न सकिने देखियो, लगानी समेत निजि क्षेत्रले उठाउछ, शुरुमा स्थानीय पालिकाले समझदारी गर्न प¥यो, तत्कालै डिपिआर बनाएर प्रकृया अगाडी बढाउन बागलुङ नगरपालिकाले तगारुकता देखिएको छ” केसीले भन्नुभयो “भकुण्डेमा पर्यटकीय विकास गर्नका लागि चालु आर्थिक वर्षमा रु. २० लाख बजेट विनियोजन गरेको समेत रहेछ, अब जग्गा प्राप्तिका लागि लाग्नु पर्दछ ।”

कालिका मन्दिर देखि भकुण्डे सम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसावले निकै राम्रो देखिएको अध्ययनका क्रममा पाइएको केबलकार नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिनुभयो ।

ढकालले एक हप्ता लगाएर गरेको प्राविधिक अध्ययनका क्रममा यहाँ केबलकार सञ्चालनका लागि प्राविधिक रुपमा र व्यवसायिक रुपमा दुबै ठिक देखिएको बताउनुभयो ।

ढकालले बजार क्षेत्रबाट केबलकार सञ्चालन गर्दा केबलकार सञ्चालनमा पर्यटकको कमी नहुँने बताउदै धार्मिक पर्यटकको केन्द्र बन्दै आएको बागलुङमा धार्मिक पर्यटकलाई लक्षित गर्दै पर्यटकीय पूर्वाधार बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यस स्थानमा झण्डै एक अर्ब ५८ करोड लागतमा केबलकार बनाउन सकिने अध्ययनले देखाएको बताउनुभयो ।

“डेढ अर्ब लगानीमा केबलकार बन्न सक्ने अध्ययनले देखाएको छ, हामीले धेरै स्थानमा केबलकारको संभाव्यता अध्ययन गरेका छौं, तर यहाँको उत्कृष्ट लाग्यो, यहाँ केबलकार राम्रो चल्ने देखिन्छ” इन्जिनियर ढकालले भन्नुभयो “बहु व्यवसायका लागि भकुण्डे उत्कृष्ट गन्तव्य बन्न सक्दछ, यहाँ २५ वटा भन्दा बढी व्यवसायहरु एकैैसाथ गर्न सकिने संभावना छ, सांकृतिक गाउँ, होटल व्यवसाय, कृषि व्यवसाय र घारबास लगायतका ब्राण्डेड व्यवसाय गर्न सकिन्छ ।”

केबलकारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउनका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले केबलकार सञ्चालनका लागि ठूलो लगानी गर्न भने नगरपालिकाले नसक्ने बताउदै स्थानीयको समझदारीमा केबलकार निर्माण गर्न सकिने भन्दै पर्यटनको विकासका लागि बागलुङ नगरपालिका सकरात्मक भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *