स्ववियु निर्वाचन : तालाबन्दीका कारण धौलागिरी बहुमुखी क्याम्पसमा मनोनयन दर्ता भएन


आदर्श अनलाइन, बागलुङ

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा विवाद चुलिदा आज धौलागिरी बहुमुखी क्याम्पसमा मनोनयन दर्ता हुन सकेन । साविक धौलागिरी अञ्चलको एक मात्रै आंगिक क्याम्पसको स्ववियु निर्वाचनलाई महत्वपूर्ण ढंगले हेरिएपनि संगठन र क्याम्पबीच विवाद चुलिदा मनोनयन दर्ता हुन सकेन ।

आगामी चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्रको नामावली दाखिला तथा प्रकाशित गर्ने भएपनि विद्यार्थीसंगठनहरुले क्याम्पसमा गरेको तालाबन्दीका कारण मनोनयन दर्ता हुन नसकेको हो ।

निर्वाचन कार्यतालिका अनुसार विहान ११ बजेदेखि दुई बजेसम्म मनोनयन पत्रको नामावली दाखिला गर्ने र पाँच बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने समय रहेको थियो । विभिन्न विद्यार्थी संगठनले फर्जी परिचयपत्र भेटिएको भन्दै क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । अहिलेसम्म ताला नखुल्दा उम्मेदवारको मनोनयन पत्रको नामावली दाखिला तथा प्रकाशितको काम हुन सकेकोछेन भने मनोनयन दर्ताको समय दुई पटक सम्म थपिएको छ ।

समय थप गरी आज बेलुका सात बजे सम्म मनोनयन दर्ताको समय तोकिएकोमा विदार्थीसंगठनहरुबीच सहमती नजुट्दा भोली दिउँसो ३ बजे सम्मलाई मनोनयनको मिति सारिएको निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले बताउनुभयो ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण बिथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानलले वक्तव्य मार्फत जारी गर्दै दुई दिनअघिदेखि तालाबन्दी गरेका छन् ।

अहिले विद्यार्थी संगठनसँग सहमति जुटाउने प्रयास भए पनि सहमति जुट्न नसकेका कारण केन्द्रिय परिपत्रअनुसार मनोनयनको मिति आइतबार सम्म सारेको क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्ययाले जानकारी दिनुभयो । धौलागिरि बहुमुखी क्याम्पसमा लगाइएको ताला ५० घण्टा बितिसक्दा समेत खुल्न सकेको छैन ।

स्वतन्त्र विद्यार्थी युनियनको प्रयोजनका लागि छुट्टै परिचयपत्र जारी गर्नुपर्ने भन्दै बामपन्थी संगठनले फाल्गुन २५ गते बिहीबार साँझ ५ बजेदेखि लगाएको तालाबन्दी खुल्न सकेको छैन ।

धौलागिरी क्षेत्रका ४ जिल्लाको शैक्षिक धरोहर मानिएको त्रिभुवन विश्व विद्यालयको एकमात्र आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि कुल १ हजार ७ सय ४८ विद्यार्थी मतदाता रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *