आमाको मृगौलाबाट छोराको जीवनरक्षा

आदर्श अनलाइन, बागलुङ

“आफैले जन्माएको छोरा मृत्युको मुखमा पुगेको कसरी हेर्नु, अंगदान दिएर छोरालाई बचाएँ, बरु उसैको काखमा मरुला” छोरालाई मृगौला दान दिएर पुर्नजन्म दिनुभएकी आमा कमला पुनले भन्नुभयो “मृगौलाको सफल प्रत्यारोपण पछि छोराले पुर्नजन्म पाउदा निकै खुसी छु, छोराको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्नेहरुलाई समेत हृदयदेखि धन्यवाद छ ।”

छोराको जीवनरक्षाका लागि आफूले मृगौला दिने निर्णय गरेको बताउदै पुनले आफुले जन्मदिएको छोरा बाँचेको हेर्ने रहर पुरा भएको बताउनुभयो । स्थानीय सहयोगदाताको साथ र आफ्नो मृगौलाका कारण छोराको जीवनरक्षा भएकोमा कमला पुन खुसी हुनुभएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राम निवासी बोम बहादुर पुनको गण्डकी अस्पताल पोखरामा मृगौलाको हालै मात्र सफल प्रत्यारोपण भएको छ ।

दुबै मृगौला फेल भएर जीवन मरणको दोसाधमा पुगेका २५ वर्षीय बोम बहादुर पुनले जन्मदाता आमाको मृगौला पाएर पुर्नजीवन पाउनुभएको हो । आमाको मृगौला पाएर पुर्नजीवन पाउनुभएका २५ वर्षीय बोम बहादुर पुन अहिले पोखरामा उपचारकै क्रममा हुनुहुन्छ ।

“अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा पोखरामै आमा छोरा बस्दै आएका छौं, आमाले दिएको मृगौलाले पुर्नजन्म पाए” मृगौलाको सफल प्रत्यारोपण गर्नुभएका बोम बहादुर पुनले भन्नुभयो “उपचारका लागि धेरै रकम खर्च भयो, जस्का लागि हाम्रो परिवारको क्षमता भन्दा माथी थियो, तर देश विदेशमा रहनुभएका आफन्तजन र सुभेच्छुकहरुबाट २० लाख सहयोग प्राप्त भयो, जस्ले मेरो जीवन रक्षाका लागि सहयोग पुग्यो ।”

गत भदौमा दुबै मृगौला फेल भएको पत्तो पाएका बोम बहादुर पुनको उपचारका लागि आर्थिक समस्या परेको थियो । भदौमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दुबै मृगौला फेल भएको पत्ता लाएपनि बोम बहादुर पुनको मणिपाल अस्पताल, फिस्टेल अस्पताल र आस्था अस्पतालमा डायलासिस भएको थियो । स्वास्थ्य परिक्षणको क्रममा आमाले छोरालाई मृगौला दिन मिल्ने भएपछि गण्डकी अस्पताल पोखरामा हालै मृगौलाको सफल प्रत्यारोपण गरिएको पुनले बताउनुभयो ।

“आमाले मैले दिन्छु भनेपछि परिवारमा सल्लाह भयो, उहाँको मृगौला परिक्षण पछि मृगौला प्रत्यारोपण गर्न मिल्ने चिकित्सकको सल्लाह अनुसार प्रत्यारोपण गरिएको हो, अहिले आमा र मेरो स्वास्थ्यमा सुधार आएको छ, केही समयकोे उपचारपछि घर फर्कने तयारीमा छौं” छोरा पुनले खुसी हुँदै भन्नुभयो “आमाले जन्म त दिनुभएको थियो, २५ वर्षपछि आफ्नै मृगौला दिएर पुनर्जन्मदिनुभयो, आमाप्रति कसरी धन्यवाद भनु, कुनै शब्द छैन ।”

डायलासिस गराउनेक्रममा उपचारखर्चको अभाव भएपनि आफन्त गिरी बहादुर पुन संयोजक भएर मृगौला पीडित बोम बहादुर पुन बचाउ अभियान अन्तरर्गत आर्थिक संकलन समिति गठन गरिएको थियो । उक्त आर्थिक संकलन समितिले बोम बहादुरको डायलासिस तथा मृगौला प्रत्यारोपणका लागि विभिन्न चरणमा गरेर रु. १९ लाख २९ हजार सहयोग रकम प्रदान गरिसकेको मृगौला पीडित बोम बहादुर पुन बचाउ अभियानका संयोजक गिरी बहादुर पुनले बताउनुभयो ।

बोम बहादुर पुनका आफन्त, देश विदेशमा रहनुभएका सुभेच्छुक, युके समाज तंग्राम, पोर्चुगलमा रहनुभएका आफन्तजन, ताराखोला गाउँपालिका समाज कतार, कोरीयामा रहनुभएका नेपालीहरु लगायत २७ वटा संघ, संगठन तथा सुभेच्छुकको पहलबाट संकलित रकम रु. १९ लाख २९ हजार मृगौला पीडित बोम बहादुर पुनलाई हस्तान्तरण गरिएको संयोजक गिरीले बताउनुभयो ।

“आर्थिक अवस्था कमजोर रहेको मृगौला पीडित बोम बहादुरको परिक्षणका क्रममै धेरै रकम खर्च भइसकेको थियो, प्रत्यारोपण र थप औषधी उपचारका क्रममा परिवारले थेग्न सक्ने अवस्था थिएन, मृगौला रोगका लागि धेरै खर्च लाग्ने रहेछ” संयोजक गिरीले भन्नुभयो “बोम बहादुरको अहिले समेत मासिक ६० हजार खर्च औषधी उपचारमा लाग्ने रहेछ, उहाँको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।” अहिले आमा कमला पुन र छोरा बोम बहादुर पुन पोखरामा बसेर गण्डकी अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराईराख्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *