चैत्र १३ गतेदेखि बागलुङमा परम्परागत ‘चैते दशै मेला’


आदर्श अनलाइन, बागलुङ

चैते दशैको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ ।

नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैतेदशैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेला मूल आयोजक समिति बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, लोक भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिएको खड्काले जानकारी दिनुभयो ।

“नेपालकै पुरानो मेला मध्येको एक चैते दशै मेला देशभर प्रसिद्ध छ, यसलाई हामीले परम्परा धान्दै कलासंस्कृतिको प्रर्बद्धन गर्ने उदेश्य राखिएको छ” खड्काले भन्नुुभयो “परम्परागत रुपमा सयौं वर्षदेखि लाग्दै आएको मेलालाई पछिल्ला वर्षदेखि गुठी व्यवस्थापन समितिले व्यवस्थित गरि सञ्चालन गर्दै आइरहेको छ ।” पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा व्यापारिक मेलाहरु आयोजना हुने गरेको भएपनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको पाका पुरानाहरु बताउछन् ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरि पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । चैते दशै मेलामा घरायसी प्रायोजनका सामाग्रीहरु डाला, नाङ्ला, ठेका, हातहतियार लगायतका बस्तुहरुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दशैमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाट समेत भक्तजनहरुको आगमन हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *