गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलाई


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाई भएको छ ।

नगरपालिकाले चार वर्षको अथक प्रयासका बीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौता अनुसार अगाडी नबढ्दा समस्या भएको छ ।

गलकोट नगरपालिका वडा नम्वर ६ स्थित मजुवाफाँटमा नगरपालिकाले व्यवस्थापन गरेको ८ रोपनी जग्गामा प्रशासकीय भवन निर्माण गर्नका लागि २०७९ असार १४ गते सम्झौता भएको थियो । सम्झौता गरेको करिब १० महिना बित्नै लाग्दा बल्ल प्रशासकीय भवन निर्माण कार्य शुरु भएको छ ।

रु. १२ करोड ४१ लाख ३५ हजार लागतमा रविना जुगल जेवीसंग २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएपनि हाल सम्म १० प्रतिशत कार्य प्रगती समेत नभएको गलकोट नगरपालिकाले जनाएको छ ।

उक्त भवन निर्माणको सम्झौता गरेको १० महिनामा १० प्रतिशत काम समेत सम्पन्न नभएको भन्दै गलकोट नगरपालिकाले निर्माण कम्पनीलाई सचेत गराइएको गलकोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

“काम दु्रत गतिमा भएन, १० महिनामा बल्ल जमिनमुनी काम थालिएको छ, फेरी वर्षा हुने संभावना छ, कम्तिमा १० महिनामा एक तला भएपनि ढलान भइसक्नु पर्ने थियो, मैले निर्माण व्यवसायीलाई सचेत गराएको छु” नगर प्रमुख गैरैले भन्नुभयो “निर्माण सम्पन्न गर्नुपर्ने समयमा प्रशासकीय भवन निर्माण सम्पन्न नभए कुनै हालतमा निर्माणको म्याद थपिदैन, निर्माण व्यवसायीले हाल सम्म २० प्रतिशत भुक्तानी समेत लगिसकेको छ ।”

नगरप्रमुख गेरैले निर्माण व्यवसायीले १० महिनापछि बल्ल काम थाल्दा प्रशासकीय भपन समयमै नसकिने आशंका पैदा भएको जानकारी दिनुभयो । गैरेले आफ्नो पहिलो नगरप्रमुखको कार्यकालमा मजुवाफाँटमा ८ रोपनी जग्गा व्यवस्थापन गर्नुभएको थियो ।

प्रशासकीय भवन निर्माण निर्माणको जिम्मा पाएको रविना जुगल जेभीका आधिकारीक प्रतिनिधि नरेश ओझाले असारमा ठेक्का सम्झौता गरेको बताउदै वर्खामा खोलाको छेउमा भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न समस्या भएपछि अहिलेबाट काम थालेको बताउनुभयो । खोला नजिकै भवन निर्माण थालिएकाले सुख्खा याममा काम थालेको ओझाले बताउनुभयो ।

“केही ढिलाई भएको हो, तर सम्झौता अनुसार काम सक्नेगरी निर्माण सामाग्री र कामदार फिल्डमा खटाइएको छ” ओझाले भन्नुभयो “जमिनको काम सकिएलगत्तै कामले तिब्रता पाउछ, सम्झौता मिति भित्रै नगरपालिकाको प्रशासकीय भवन तयार गर्नेमा प्रतिबद्धता गर्दछु, निर्माणमा कुनै समस्या छैन ।”

नगरपालिकाको मुख्य प्रशासकीय भवन निर्माण रु. १२ करोड लागतमा निर्माण थालेपनि अन्य पूर्वाधार सहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भने २७ करोड लागत अनुमानको छ । सुविधा सम्पन्न पाँच तले प्रशासकीय भवन संगै अन्य शाखा कार्यालयहरु समेत निर्माण गरिने नगरपालिकाको लक्ष्य रहेको छ ।

गलकोट नगरपालिकाले गलकोट नगरपालिकाको स्थापना गर्दा सबै राजनितिक दल सरोकारवाला व्यक्तिहरुको सर्वदलीय भेलाले गरेको निर्णय अनुसार मजुवाफाँटमा नगरपालिकाको केन्द्र स्थापना गर्ने निर्णय संगै नगरपालिकाले सोही क्षेत्रमा जग्गा व्यवस्थापन गरेको थियो ।

ठेक्का सम्झौता गरेको १० महिनापछि निर्माण कम्पनीले काम थालेको बताउदै नगरपालिकाका प्रमुख इन्जिनियर दल बिक्रम दाहालले हाल सम्म २० प्रतीशत रकम भुक्तानी गरिएको बताउनुभयो । उहाँले निर्माण सम्झौता अनुसारनै मुक्तानी लगेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *