ढोरपाटनमा बस पुगेपछि पर्यटकलाई सहज

आदर्श अनलाइन, बागलुङ

ग १ ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर गत साता चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो ।
सडक समस्याका कारण यसअघि साना सवारी साधनहरुमात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय बस पुग्न थालेपछि पर्यटकहरुलाई सहज भएको छ । एक साता अघि मात्रै बागलुङ बजारबाट पत्रकार र सञ्चाकर्मी सहितको बस समेत ढोरपाटन भ्रमणमा पुगेको थियो ।

नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन क्षेत्र घुम्नका लागि पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुइचो नै लाग्न थालेको छ । उनिहरुलाई ढोरपाटनमा बस पुग्न थालेपछि सहज भएको ढोरपाटन उपत्यकामा पुगेका पर्यटकहरुलाई घोडा सफारी गराउदै आनुभएका स्थानीय मिनलाल बिकले बताउनुभयो । सडक साँघुरो हुँदा साना सवारीसाधनमा थोरै पर्यटकहरु पुग्ने गरेकोमा पछिल्ला दिनमा सडकमा केही सुधार भएपछि पर्यटकहरु आगमन सहज भएको हो ।

“पहिला–पहिलाभन्दा सडक केही सास्ती हटेको छ, जोखिमका बाबजुत ढोरपाटनमा अहिले बस आउन थालेका छन्, पहिला साना सवारीसाधनहर जीप तथा भ्यानहरुमा थोरै पर्यटकहरु आउथे अहिले बस चल्न थालेपछि एकै पटक २५÷३० जनाको समूह ढोरपाटन आउने गरेका छन्” स्थानीय बिकले भन्नुभयो “पर्यटकहरु बढ्न थालेपछि अहिले घोडा सफारी समेत फष्टाउदो छ, दैनिकजसो एक हजार त, कमाई हुन थाल्यो, कहिले अलि धेरै नै हुन्छ, पछिल्लो समय घोडामा चढ्ने, तस्बिर खिच्ने र टिकटक बनाउनेहरुले गर्दा राम्रो आम्दानी हुने गरेको छ ।”

घोडा सफारीका लागि बिक जस्ता दुई दर्जन भन्दा बढी स्थानीयहरुले घोडा पालेर राखेका छन् । पर्यटकहरु नआउदा भने घोडामा घरायसी सामाग्री ओसार–पोसार गर्ने गरीएको छ । पछिल्लो समय बसमा ढोरपाटन पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भएको पाइएको ढोरपाटन घुम्न पुगेका पर्यटक अनन्त बहादुर खड्काले बताउनुभयो ।

उहाँले आफू बागलुङबाट बसमा चढेर ढोरपाटन घुम्न आएको बताउदै पहिला भन्दा ढोरपाटन पुगने सडक केही सहज भएको बताउदै वर्खामा भने बस पुग्न सक्ने अवस्था नरहेको बताउनुभयो । “बर्खामा म त खोला बढ्छ होला वुर्तिबाङबाट झण्डै ४० किलोमिटर सडक कच्ची छ, हिउँदमा बस चल्दो रहेछ, साना सवारीसाधानमा धेरै खर्च तिरेर ढोरपाटन पुग्न भन्दा बसमा धेरै जना पुग्दा लागतका हिसाबले समेत सस्तो पर्ने रहेछ” आन्तरिक पर्यटक खड्काले भन्नुभयो “बस पुगेपछि धेरैको पहुँचमा चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्ने देखियो, त्यहाँ पुग्ने सडक स्तरोन्नती गर्न भने बाँकी छ, ढोरपाटन–सालझण्डी सडक त्यती सहज भने छैन तर बस पुगेपछि पर्यटकहरुको लागत घटेको छ ।”

बागलुङबाट बुर्तिवाङसम्म सडक पक्की भएपनि त्यहाँबाट ढोरपाटन सम्म कच्ची सडक भएपनि बस पुग्न थालेको सवारीचालक रमेश पौडेलले बताउनुभयो । “म त दोस्रो पटक बस ल्याएर पर्यटकसहित ढोरपाटन आए, केही सडक त सहज नै छ, बोबाङको भूजिखोला क्षेत्रमा केही सडक सुधार गर्न आवश्यक छ, तर देउरालीमा सडक चौडा बनाएका कारण बस मज्जाले उक्लियो” चालक पौडेलले भन्नुभयो “ठूला बस त पुग्न ढोरपाटन मुस्किल छ तर मिनी बस पुग्न थालेका छन्, हिउँदमा मात्रै बस पुगेपनि सडक स्तरोन्नतीसंगै वर्खामा समेत बस लैजाने व्यवस्था मिलाउन आवश्यक छ ।”

ढोरपाटन नगरपालिकाका नगरउपप्रमुख कल्याण कायतले ढोरपाटन पुग्ने सडकमा केही सुधार भएपनि वर्खामा भने सास्ती नै भएको बताउनुभयो । उहाँले सडकको मर्मत संभार नगरपालिकाले गर्दा अहिले बस पुग्ने अवस्था आएपनि सडक कालोपत्रेका लागि सालझण्डी ढोरपाटन सडक आयोजनाले कुनै चासो नदिएको बताउनुभयो ।

“सडक स्तरोन्नती हुन सकेको छैन, तर देउराली क्षेत्रमा सडकको घुम्ती चौडा पार्ने काम भएकाले बसहरु पुग्न थालेका हुन् वर्खामा बस पुग्न मात्रै हैन साना सवारीसाधन समेत पुग्न समस्या हुन्छ, सडक स्तरोन्नती भए ढोरपाटनमा थामी नसक्नु पर्यटक आउने हाम्रो कल्पना हो” कायतले भन्नुभयो “तर सडक नै पहिलो प्राथमिकता हो, ठूलो आयोजनाले काम गर्दैन, मर्मत संभार गरेको सडकमा बस गुड्न थालेका हुन् तर यात्रा सहज भने छैन, पक्की सडक पुगे ढोरपाटनमा पर्यटकको चाप थामि नसक्नु हुनेछ ।” ढोरपाटनमा बस पुग्न थालेपछि ढोरपाटनका होटल तथा घरबासव्यवसायीहरु भने उत्साहित छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *