मध्यपहाडी राजमार्ग : घोडाँबाधे–हटिया खण्डमा धमाधम मर्मत


खेमराज गौतम, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड कतै कालोपत्रे गर्न बाँकी छ भने कतै कालोपत्रे भइसकेको खण्ड उप्किएर क्षत विक्षत छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक बागलुङमा पर्ने १४२ किलोमिटर मध्ये जिल्ला सदरमुकाम बागलुङ बजार खण्ड अझै कालोपत्रे हुन सकेको छैन ।

अन्य खण्ड कालोपत्रे भइसकेको लोकमार्गको घोडाँबाधे देखि हटिया सम्मको सडक कालोपत्रे भएको सात वर्षमै विग्रिएको छ । अहिले उक्त खण्ड मर्मतका लागि पुन ठेक्का सम्झौता भएर धमाधम काम भइरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

दुई वर्ष अघिदेखि घोडाँबाधे देखि हटिया सम्मको २० किलोमिटर सडक बाढी र पहिरोका कारण क्षत विक्षत भएपछि अहिले धममाधम मर्मतको काम चलिरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

“घोडाबाँधे–हटिया स्थित कालोपत्रे सडक जीर्ण भएपछि भदौदेखि मर्मतको काम भइरहेको छ, अहिले ६० प्रतिशत मर्मतको काम सकिएको छ, धेरै स्थानमा पूर्वाधारको काम भइरहेको र असार सम्म सडक उप्किएको भागमा सडक कालोपत्रे सम्पन्न गर्ने गरी अगाढी बढेका छौं” प्रमुख भण्डारीले भन्नुभयो “रु. १४ करोड लागतमा यसै चालु आर्थिक वर्षमा लगाइएको ठेक्का अनुसार अहिले धमाधम सडक मर्मतको काम भइरहेको छ ।”

कालोपत्रे गर्न बाँकी स्थानमा कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, कालोपत्रे विग्रएको स्थानमा कालोपत्रेका ग्राभेल गर्ने, नाली, कल्र्भट निर्माण गर्ने, घुम्ती सडक ढलान गर्ने र आवश्यक स्थानमा पहिरो रोकथामका लागि पक्की पर्खाल लगाउने कार्य भइरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजनाले जनाएको छ ।

रु. २० करोड लागत आनुमानको कालोपत्रे सडक मर्मत ठेक्का रु. १४ करोडमा जोशी निर्माण सेवा संग चालु आर्थिक वर्षमै सम्झौता गरिएको थियो । निर्माण सेवाले असार सम्म सडक कालोपत्रे सम्पन्न गर्ने गरी मर्मत सहितको कालोपत्रे सडक बनाउने ठेक्का सम्झौतामा गरेको हो ।

घोडाँबाधे देखि हटिया सम्मको सडक मध्यपहाडी राजमार्गको बागलुङ खण्डमा पर्ने सडकमध्ये सबै भन्दा पहिला कालोपत्रे गरिएको खण्ड हो । उक्त घोडाबाँधे देखि हटिया सम्मको सडक आर्थिक वर्ष २०७१÷०७२ मा कालोपत्रे सम्पन्न भएपनि हाल सम्म सडक विभागलाई हस्तान्तरण नहुँदा सडकले संरक्षण पाउन सकेको थिएन ।

“सडक कालोपत्रे भइसकेपछि सडकको मर्मत संभार र हेरचाह सडक विभागले गर्ने हो, मध्यपहाडी राजमार्गको सबै खण्ड कालोपत्रे नभएकाले हस्तान्तरणको प्रकृयामा हुँदा समस्या भयो, आयोजनाले सडक मर्मत गर्न मिल्दैन” आयोजना प्रमुख भण्डारीले भन्नुभयो “कालोपत्रे गरेर छोडेको सडक मर्मत सम्भार नहुँदा पहिरो जाने, नाली बिग्रने गर्दा ठूलो क्षती पुगेको थियो, करिब ५० प्रतिशत सडक विग्रिएको अवस्थामा मर्मतका लागि ठेक्का आव्हान गरेर काम अगाढी बढेको हो, असार सम्म उक्त खण्ड चिटिक्क पर्ने छ ।”

लोकमार्गमा डिजाईन भइरहेको कालोपत्रे सबैभन्दा सस्तो कालोपत्रे सडक भएकाले समयमै कालोपत्रे सडक मर्मत गर्न आवश्यक रहेको आयोजनाका प्राविधिकहरु बताउछन् ।

कालोपत्रे भएको सडक सात वर्षमा क्षतविक्षत हुँदा सडक जीर्ण बनेपछि सवारीसाधन सञ्चालनमा निकै सास्ती भएको सवारीचालक रमेश पौडेलले गुनासो गर्नुभयो । “सडक कालोपत्रे भएपछि टिक्न पर्ने हो, भिरालो जमिन भएर समेत होला, सडक कतै–कतै मात्र कालोपत्रे देखिन्छ, जताततै खाल्टा खुल्टी भएको समस्या छ” चालक पौडेलले भन्नुभयो “अहिले सडक मर्मत तथा कालोपत्रेका लागि काम भइरहेको छ, जिल्ला सदरमुकाम जस्तो कालोपत्रे नहुँन भन्दा मर्मत पछि सडक राम्रो बन्नेमा आशावादी छौं ।”

गलकोट खण्डमा वर्खाको समयमा नाली व्यवस्थापन नहुँदा सडकमा भल भगेर कालोपत्रे सडक नोक्सानी गरेको गलकोट नगरपालिकाका प्रवक्ता तथा गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हेमन्त भण्डारीले बताउनुभयो । उहाँका अनुसार अहिले सडक मर्मतले तिब्रता पाएसंगै उक्त खण्ड पुन नयाँ हुँनेमा विश्वास व्यक्त गर्नुभयो । उक्त सडक मर्मत तथा कालोपत्रेसंगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने तयारी मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतको छ ।

लोकमार्गबाट अस्तव्यस्त ग्रामीण सडक निर्माण गर्दा, सडक निर्माणमा लापरर्वाही र कालोपत्रे सडकको निरन्तर मर्मत सम्भार नहुँदा तीन वर्ष देखि उक्त कालोपत्रे खण्डमा समेत यात्रुलाई यात्रा गर्दा निकै सास्ती हुँदै आएको छ ।

कालोपत्रे उप्किएर यात्रा गर्न निकै समस्या भएको छ भने दैनिक सयौँ साना तथा ठूला सवारी साधान गुड्ने सडकको अवस्था जीर्ण बन्दा यात्रुले सास्ती खेप्दै आएका छन् । बिहुँ देखि जिल्ला सदरमुकाम सम्मको खहरे सम्मको १४ किलोमिटर सडक भने ठेक्का लगाएको ६ वर्ष सम्म कालोपत्रे हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *