पक्की सडक बनाउदै गलकोट


आदर्श अनलाइन, बागलुङ

हिउँदमा मर्मत गरेको ग्रामिण सडक वर्खामा उस्तै हुन्छ, अर्कोपटक उही सडकलाई बजेट माग हुन्छ यो नियती व्होर्दै आएको गलकोट नगरपालिकाले भने थोरै सडक बनाउने तर पक्की बनाउने अभियान थालेको छ ।

बागलुङको गलकोट नगरपालिकाले लगानी गरेको सडक हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे भएपछि थोरै काम गर्ने तर पक्की सडक बनाउने लक्ष्यमा अघि बढेको छ । ग्रामिण सडकमा लगानी बालुवामा पानी भएपछि गलकोट नगरपालिकाले सडक सुुधारका लागि दीर्घकालीन योजना अघि ल्याएको छ ।

ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि नगरपालिकाले ग्रामिण सडक पक्की बनाउने अभियान थालेको हो ।

“दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भए, पाँच वर्षमा अधिकांश सडकमा बजेट पुग्यो, तर उपलव्धी देखिएन, हिउँदमा मर्मत गरेको सडक वर्खामा बगेर जादो रहेछ, अर्कोवर्ष फेरी उस्तै” गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले भन्नुभयो “नगरको बजेट र साझेदारीमा आउने प्रदेश सरकार र संघीय सरकारको बजेटमा पक्की सडक मात्रै बनाउने योजना राख्न थालेका छौं, थोरै सडक बनाउने तर पक्की बनाउदा दीर्घकालिनरुपमा फाइदा पुग्दो रहेछ, अहिले ग्रामिण सडक धमाधम ढलान गर्ने काम भइरहेको छ ।”

ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने सडक बनाउने काम थालिएको नगर प्रमुख गैरेको भनाई छ । नगरपालिकाले अहिले दीर्घकालिन सडकमा लगानी गर्ने संकल्प गरेको बताउदै भरु पुरै सडक पक्की नभए, घुम्ती ढालन, नाली लगायतका पूर्वाधारका काम गराउने गरी कर्मचारी र जनप्रतिनिधिलाई भनिएको छ ।

अहिले गलकोट नगरपालिकाको केन्द्र रहेको वडा नम्बर ६ मा झण्डै एक किलोमिटर सडक ढलान भइसकेको गलकोट नगरपालिकाले जनाएको छ ।

अहिले वडा नम्बर छ मा सञ्चालित नगरपालिका र गण्डकी प्रदेश सरकारको साझदेरीमा चार वटा सडक निर्माणधीन रहेको बताउदै सबै सडक थोरै भएपनी पक्की र दीर्घकालीन बनाइने गलकोट नगरपालिका–६ का वडा अध्यक्ष राम प्रसाद कंडेलले जानकारी दिनुभयो । कंडेलका अनुसार अहिले ६ नम्बर वडामा चार वटा सडकमा गलकोट नगरपालिका र गण्डकी प्रदेश सरकारका रु. एक करोडको योजना सञ्चालिच रहेको बताउदै एक किमि सडक ढलान भइसकेको र चालु आर्थिक वर्षमा थप एक किमि सडक ढलान गर्ने योजना रहेको छ ।

वडामा नौबीसे जामुनडाँडा सडकमा रु. ४० लाख, चरौदी नेपाने कायशा सडकमा रु. २५ लाख, ठूलाथर भुजुङ्गे सडकमा २० लाख र जंगरा दर्मा हुँदै लामिडाँडा सडकमा १६ लाख बजेट विनियाजन भएर काम भएको थियो ।

चार वटा सडकलाईनै पक्की बनाउने योजना नगरपालिकाको छ । “थोरै सडक बनाउने तर पक्की बनाउने, अर्को वर्ष उक्त स्थानमा लगानी गर्न नपरोस भन्ने हो, अहिले हाम्रै वडामा दुई किलोमिटर सडक ढलान भइसक्नेछ, अन्य सडकको पक्की नाली तथा पहिरो रोकथाका लागि काम भइरहेको छ,” वडा अध्यक्ष कंडेलले भन्नुभयो “कम्तिमा नगरपालिकाको केन्द्र रहेको वडामा हेर्न लायक ग्रामिण सडक बनाउने हाम्रो अठोट हो, कनिका छरेजस्तै बजेट छर्दा बजेट सदुपयोग भएन, थोरै गर्ने तर पक्की बनाउने हाम्रो नीति हो ।”

नौबीसे जामुनडाँडा सडकमा ३८० मिटर सडक पूर्ण पक्की बनाएर ढलान गरिएको छ । यस्तै चरौदी नेपाने कायशा सडकमा १४५ मिटर सडक ढलान गरिएको छ भने ठूलाथर भुजुङ्गे सडकमा २०० मिटर सडक ढलान गरिसकेको छ । यस्तै जंगरा दर्मा हुँदै लामिडाँडा सडकमा एक किमि सडक ढलान गर्ने गरी ढुङ्गा सोलिङ गरिसकेको छ ।

एक वर्षमा दुई किमि सडक ढलान हुनुभनेको ग्रामिण सडकमा ठूलो प्रगती भएको वडा अध्यक्ष कंडेलको भनाई छ । उहाँले पाँच वर्षमा जति सकिन्छ सबै सडक पक्की बनाउनेगरी योजना अगाढी बढेको बताउनुभयो । “डोजरे बिकासले विनास मात्रै ग¥यो, एक किमि सडक बनाउन भन्दा सय मिटर सडक बनाउने तर पक्की बनाउने भन्ने हाम्रो योजना हो” उहाँले भन्नुभयो “वर्षातमा पहिरोको प्रकोप कम गर्न समेत पक्की सडक भरपर्दो हुनेछ ।”

नौबिसेदेखि जामुनडाँडा जाने सडक पूरै पक्की र ढलान भएपछि नियमित सवारी चल्न थालेको वडा अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर २ मा समेत पक्की सडक बनाउने अभियान रहेको वडा नम्बर २ का वडा अध्यक्ष तथा गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार नगरपालिकाले पुरानो बजार क्षेत्र रहेको हरिचौर, काँडेवास क्षेत्रमा सडक ढलान गरिएको, असजलिा घुम्ती सडक ढलान गरेर सवारीसाधनलाई सहजता दिएको बताउनुभयो । “२ नम्बर वडा भरनै नाली निर्माणको अभियान छ, नाली निर्माण भएपछि कच्ची सडकमा समेत ट्याक्सी गुड्न थालेका छन्, बजेटले भ्याए सम्म पक्की बनाउने नत्र सडक नाली मात्रै भएपनि बनाउदा ग्रामिण सडक सुध्रेको पाएका छौं, यो अभियान नगरपालिका भर हो, केही वडामा धेरै राम्रो काम भइरहेको छ,” भण्डारीले भन्नुभयो “ तोरखीखोलादेखि बतासे हुँदै ठाना पुग्ने सडक पनि ढलान गरेर वर्षातमा अवरोध नआउने बनाईसकेका छौं ।”

लागतका हिसावले ढलान सडक धेरै महङ्गो भएपनि दीर्घकालिन फाइदा पुग्ने भएकाले असजिला सडकहरुलाई धमाधम ढलान गर्ने नगरपालिकाको नीति रहेको नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *