हिमपातका कारण शिकार कार्यतालिका प्रभावित


आदर्श अनलाइन, बागलुङ

नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा अहिले शिकारको दोस्रो सिजन चलिरहेको छ । तर बेमौसमी हिमपातका कारण एक हप्ता शिकार कार्यतालिका प्रभावित बनेको हो ।
फागुन देखि वैशाख सम्म चल्ने उक्त सिजनका लागि १२ नाउर र ८ झारको शिकार खेल्नका लागि विदेशी शिकारीहरुले अनुमती पाइसकेका छन् । तर विदेशी शिकारीहरुलाई बेमौसमी हिमपातले त्यहाँ पुग्न र शिकारमा रमाउन समस्या बनाएको छ ।

हेलिकप्टर मार्फत शिकार व्लक क्षेत्रमा पुग्ने विदेशी शिकारीहरुलाई बेमौसमी हिमपातका कारण समस्या भएको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ । दोस्रो शिकार याम शुरु भइसकेपनि अहिले सम्म नाउर र झारलको शिकारका लागि हिमपातले शिकार व्यवस्थापनका लागि आरक्षलाई कठिनाई भइरहेको ढोरपाटन शिकार अरक्षका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।

“विदेशी शिकारीहरुको निश्चित समय विभागबाटै दिइएको हुन्छ, उक्त समय सिमाभित्रै शिकार गरेर फर्किसक्नुपर्ने हुन्छ, सुनदह व्लक र बार्से व्लकमा तोकिएको शिकार बेमौसी हिमपातका कारण एक हप्ता प्रभावित बनिसकेको छ, अहिले दुबै ब्लकमा शिकारीहरु ढिलोगरी पुग्नुभएको हो” सूचना अधिकारी थापाले भन्नुभयो “चैत तीन गते दुई शिकारी कम्पनीले हेलिकप्टर मार्फत शिकारी ल्याउने कार्यतालिका थियो, तर हिमपात र मौसम खराबीका कारण बार्से व्लकको शिकारी मंगलबार र सुनदह व्लकको शिकारी बुधबार मात्रै आएका छन् ।” थापाका अनुसार यसपटक ढोरपाटन क्षेत्रमा ढिलोगरी हिमपात हुँदा समस्या भएको जानकारी दिनुभयो ।

आरक्षले तोकिएको स्थानमा दुबै हेलिकप्टर पुग्न नसक्दा केही तलबाट शिकारीहरु पैदलमार्ग मार्फत शिकार खेल्न व्लक तर्फ लागेकोे जनाएको छ । मौसममा सुधार भए सबै नाउर र झारलको शिकार गर्न संभव भने रहेको आरक्षको भनाई छ । अधिकांश विदेशी शिकारीहरुले भने चैतको दोस्रो साता पछि मात्रै शिकार अनुमती लिएका कारण समस्या नहुँने आरक्षको भनाई छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन शिकार आरक्ष केन्द्रमा दोस्रो यामको शिकार पर्यटकका लागि बाह्र नाउर र आठ झारलको शिकार अनुमति दिएको थियो ।
आरक्षका अनुसार शिकार खेल्नका लागि विदेशी शिकारीहरु बन्दोबस्तीका सामाग्री सहित हेलिकप्टर मार्फत ढोरपाटन आउने गरेका छन् भने आरक्षका कर्मचारीहरु शिकारी भन्दा अगाडी नै शिकार खेल्ने स्थानमा आवश्यक सामाग्री सहित पुग्ने गरेका छन् ।

सुनदह व्लकमा ओपन नेपाल वाइल्ड लाईफ सफारीले चैत ३ गते देखि १६ गते भित्रमा नाउर शिकारका लागि अनुमती प्राप्त गरेपनि बेमौसमी हिमपातका कारण बुधबार मात्रै शिकार ब्लक तर्फ लागेको छ । यस्तै बार्से ब्लकमा हिमालय वाइल्ड लाईफ सफारीले समेत चैत ३ गतेदेखि १७ गते सम्म शिकार खेल्ने अनुमती पाएकोमा हिमपातका कारण हेलिकप्टर आउन नसक्दा मंगलरबार मात्रै आरक्षको केही तल्लो भागमा हेलिकप्टर ल्याण्ड गरी पैदलमार्ग मार्फत शिकार ब्लकमा शिकारी पु¥याइएको छ ।

आरक्षलाई विभाजन गरिएको सात व्लकमा फरक–फरक समयमा शिकार अनुमती दिइने गरिएको छ । विभागले पछिल्लो समय नाउर र झारल संगै बँदेलका लागि समेत शिकार आव्हान गर्दै आएको छ । विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर र झारलकोे शिकार गरिनेछ ।

यस सिजनमा नेपाली नागरिकका लागि ७ बँदेल र विदेशी नागरिकका लागि ४ बँदेल गरी जम्मा ११ वटा बँदेल शिकार कोटा तोकिएको छ । नाउर र झारल भने विदेशी शिकारीले मात्रै शिकार गर्ने गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । यहाँ कात्तिक–मङ्सिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको हुन्छ । आरक्षले शिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ ।

आरक्षमा कुल ७ वटा ब्लक छन् । ब्लकअनुसार मूल्य फरक फरक पर्छ । पर्यटकले शिकार गरेको जनावरको सिङ्ग, छाला, खप्परजस्ता महत्वपूर्ण अङ्ग भने आफ्नै देश लैजान पाउनेछन् । विभागले यस वर्षको पहिलो शिकार यामका लागि ८ नाउर र ५ झारलको शिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै शिकार भएको थियो । अघिल्लो याममा शिकार नभएका नाउर र झारलसमेतलाई थप गरेर वर्षको दोस्रो याममा १२ नाउर र ८ झारलको शिकार अनुमति दिएको हो । नाउर र झारलको अनुमति लिएका विदेशीले निःशुल्क बँदेलको शिकार गर्न पाउनेछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था छ ।

बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पंक्षीको सूचीमा परेका डाँफे र मुनाल लगायत १६४ प्रजातिका चरा पाइन्छन् । विदेशी शिकारीहरुले प्रतिस्प्रधाका आधारमा एउटै नाउर तथा झार शिकार गर्न लाखौ रकम सरकारलाई राजश्व बुझाउदै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *