‘धेरै विद्यार्थी लागु औषध दुर्व्यसनीमा फस्न थाले’

डम्मर बुढा मगर, बागलुङ
यहाँ आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय बालबालिका र युवायुवती लागु औषध दुर्व्यसनीमा फस्दै गएको बताएका छन् । बिहिबार बागलुङमा आयोजित जिल्ला प्रहरी कार्यालयको नागरिक सुनाई कार्यक्रममा बोल्ने वक्ताहरुले सबैभन्दा बढी विद्यार्थीहरुले लागुऔषध सेवन गर्ने गरेको बताए । प्रहरीले कडा निगरानी र लागुऔषध व्यापार गर्ने गिरोहलाई नियन्त्रणमा ल्याउन नसक्दा बजार क्षेत्रमा दुर्व्यसनी विकारल रुपमा फैलिँदै गएको उनीहरुको भनाई छ ।

अधिवक्ता लक्ष्मी बास्कोटाले भरिया, कामदारमार्फत लागुऔषध बढी ओसारपसार हुने गरेको भन्दै प्रहरीले मुख्य व्यापारी पक्राउ गर्न नसकेको बताउनुभयो । उहाँले नियामक निकायको बेवास्ताका कारण विद्यालय छेउछाउँबाटै विद्याथीृहरु दुर्व्यसनीमा फस्दै गएको बताउनुभयो । परिवारमा अभिभावकले बालबालिकाको आनीबानी र गतिविधिलाई चासो नदिँदा दिनदिनै बालबालिकाहरु कुलतमा फसेको उहाँको भनाई छ ।

अधिवक्ता बास्कोटा भन्नुहुन्छ– “स्कूलको १०० मिटर वरपर चुरोट, सुर्ती तथा मदिराहरु बेचविखन गर्न पाइँदैन, विद्यालयसँग जोडिएका थुप्रै घरहरुमा चिया पसलहरु छन्, त्यहाँ चिया मात्रै विक्री हुँदैन, सबै प्रकारका लागुऔषध त्यहाँ पाइन्छ, त्यहाँ कसले निगरानी गर्ने ?, त्यसको अनुगमन र नियमन कसले गर्ने ?, दिनदिनै विद्यार्थीहरु यहीँबाटै लागु औषधमा फसी रहेका छन् ।”

प्रहरीले युवायुवती र बालबालिकालाई लागुऔषध दुव्र्यसनीबाट मुक्त गराउनका लागि समुदायसँगै परिवारसँग पनि विभिन्न खालका साझेदारी कार्यक्रमहरु गर्नु पर्ने महिला अभियान्ता सकुन्तला शर्माले बताउनुभयो । उहाँले विद्यालयका शिक्षिक, अभिभाक र विद्यार्थीलाई सँगै राखेर जनचेताना मुलक कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो । उहाँले थप बोल्दै प्रहरीले सबै खाले घटनाको गम्भीर रुपमा अनुसन्धान नगर्दा पीडितले न्याय पाउन नसेको गुनासो समेत गनुभयो ।

“समाजमा हुने कुनै पनि घटनामा संलग्न भएको सामान्य व्यक्ति उत्तिखेरै पक्राउ हुन्छन्, तर हुनेखाने र पहुँचवाला खास्सै पक्राउ परेको पाइँदैन, जिल्लामा हुने धेरै घटनामा यस्तो देखिएको,” शर्माले भन्नुभयो– “प्रहरीले अनुसन्धानमा गम्भीरतापूर्वक लाग्नु पर्ने देखिन्छ, फितलो अनुसन्धनका कारण अहिलेसम्म कतिपय ठूला घटनाका दोषीहरु पत्ता लाग्न सकेका छैनन् ।”

जिल्लामा प्रहरीसँग हुने रहेक कार्यक्रममा ‘रुपा गौतम हत्या प्रकरण’ उठि रहन्छ । तर प्रहरीले त्यसको जवाफमा छिट्टै पत्ता लाग्ने बताउँदै आएको छ । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बागलुङ नगरपालिका–३ बोक्से स्थित बीच बाटोमै गौतमको हत्या भएको थियो । हत्या भएको ८ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । कार्यक्रममा अहिला अभियान्ता लक्ष्मी बोहराले यतिका वर्षसम्म गौतमको हत्यारा पत्ता नलाग्नु दुःखद भएको बताउनुभयो ।

उहाँले थप बोल्दै अहिले पनि महिलाहरु घरेलुदेखि अन्य विभिन्न किसिमका हिंसाबाट पीडित बन्दै गएको भन्दै उनीहरु खुलेर बाहिर आउन नसकेको बताउनुभयो । परिवारबाट हेलामा परेर जीवन धान्नका लागि होटलमा काम गर्ने महिलाहरु पछिल्लो समय थप हिंसामा पर्दै आएको उहाँको भनाई छ ।

बोहरा भन्नुहुन्छ– “पहिलेको तुलनामा अहिले महिला दिदीबहिनीहरु थोरै भए पनि खुल्न थाल्नु भएको छ, धेरै त अझै पीडा लुकाएर परिवार र समाजको दबाबमा हुनुहुन्छ, अझ अहिले त होटलमा काम गर्ने दिदीबहिनीमाथि हिंसा बढेको पाइएको छ, यस तर्फ प्रहरी प्रशासनको ध्यान जान जरुरी छ, निगरानी बढाउन जरुरी छ ।”

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले समुदाय र प्रहरीको सहकार्य बिना शान्ति, सुरक्षा र अपराध नियन्त्रण सम्भव नभएको बताउनुभयो । जिल्लामा दरबन्दी अनुसार जनशक्ति नभएको भन्दै त्यसले पनि अपराध नियन्त्रणमा केही समस्या भएको उहाँको भनाई छ । जिल्लाभर पाँच सय ८१ जनाको दरबन्दी रहेकामा हाल चार सय ५४ जना कार्यरत रहेको खड्काले जानकारी दिनुभयो ।

“प्रहरी जनताको हरेक गतिविधिसँग जोडिएको हुन्छ, जनताको सुरक्षाका लागि रहेक समय खटिएको हुन्छ, जहिले पनि नागरिक र प्रहरीको सम्बन्ध सुमधुर हुन जरुरी छ,” उहाँले भन्नुभयो– “जिल्लामा हुने रहेक किसिमका घटनालाई हामीहरु गम्भीर रुपमा लिने आवश्यक काम कारवाहीलाई कमी हुन दिएका छैनौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *