बागलुङ–म्याग्दी खानेपानी विवाद रत्नेचौरमा सिँचाइ, बागलुङमा खानेपानीको हाहाकार


खेमराज गौतम, बागलुङ
बागलुङ बजारसंग जोडिएको उपल्लाचौरमा खानेपानीको अभाव छ । बस्ती विकास भइरहेकाले उपल्लाचौरमा पछिल्लो समय खानेपानीको अभाव भइरहेको छ भने कुडुँले, फेदी लगायतको क्षेत्रमा खानेपानी चरम समस्या आजको हैन ।

घनावस्तीको रुपमा विकास भइरहेको बागलुङ नगरपालिकाको यस क्षेत्रमा खानेपानी ल्याउनका लागि बागलुङ नगरपालिका–५ कमेरेखानेपानी मुलमा पटक–पटक योजना पारेपनि कार्यान्वय हुन सकेको छैन । उक्त मुलबाट २०५८ सालबाट खानेपानी ल्याउन बजेट विनियोजन भएपनि अहिले सम्म खानेपानी मुहान विवादका कारण पानी ल्याउन नसकिएको हो ।

बागलुङ नगरपालिकाको कमेरे मुल सहितका एक दर्जन खानेपानीका मुल छिमेकी जिल्ला म्याग्दीले प्रयोग गर्दै आएको छ । परम्पराकालदेखि खानेपानी र सिचाईका लागि एकलौटी ढंगले छिमेकी जिल्लाले प्रयोग गर्दा बागलुङका जनताहरु निरन्तर रुपमा खानेपानीको अभाव झेल्दै आइरहेका छन् ।

अहिले कमेरेमुलको पानी म्याग्दी र बागलुङको आधा÷आधा खानेपानीको प्रयोग गर्ने सहमती भएपछि बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–५ र ४ का वडामा खानेपानीका लागि आयोजना सञ्चालन गरे पनि पुन रत्नेचौरवासीको अवरोधका कारण निर्माण गर्न थालिएको ट्याङ्की फुटाइको छ ।

बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्र क्षेत्रीका अनुसार २०५८ सालमा खानेपानीका लागि बजेट विनियोजन भएदेखि अहिले सम्म योजना सञ्चालन गर्न छिमेकी जिल्लाको अवरोधका कारण नसकिएको हो ।

“यहाँको कमेरेमुलको खानेपानी बागलुङ बासीले प्रयोग गर्ने २०५८ सालको योजना हो, २०५८ सालमै मुल बागलुङवासीको नाममा दर्ता समेत गरियो, तर पटक–पटक विनियोजन भएको बजेट कार्यान्वयनमा रत्नेचौरवासीको अवरोधका कारण समस्या भयो” क्षेत्रीले भन्नुभयो “उहाँहरुले एक दर्जन बागलुङमा रहेको मुल तथा खोलाबाट खानेपानी र सिचाईका लागि पानी लैजानुभएको छ, हामीले यो कमेरे मुलको पानी मात्रै आधा–आधी लैजाऔ भन्ने मात्रै थियो, उहाँहरुले मान्नुहुन्न, अहिले बागलुङ नगरपालिकाले नगर क्षेत्रको खानेपानी अभाव टार्नका लागि उक्त मुलको खानेपानी ल्याउनका लागि रु.५० लाख विनियोजन गरेको छ, कार्यान्वयनको चरणमा जादा उहाँहरुले अवरोध गर्नुहुन्छ, उहाँहरुलाई सिचाईका लागि चाहिने पानी हामीले खान नपाईने भयो, अझै मुल बागलुङको भु–भागमा छ ।”

२०५८ सालदेखि उक्त खानेपानी ल्याउने बागलुङ बासीको पटक–पटकको योजना असफल बन्दै गइरहेको स्थानीय उपभोक्ता सन्तोष कुँवरले बताउनुभयो । उहाँले हाम्रो भूमिमा भएको मुल एकलौटी ढंगले उहाँहरुले प्रयाृग गरिराख्नुभएको छ, हामीले एक दर्जन मुल चाहियो भनेका, छैनौ उहाँहरुले सिचाईका लागि प्रयोग गरिएको कमेरेखोला मुलको केही भाग पानी मात्रै ल्याउन खोजेको बताउनुभयो ।

“देशमा कानूनी राज्य छ, तर यहाँ त एकलौटी ढंगले बलप्रयोग गरेर पानीको प्रयोग गरिराख्नुभएको छ, एउटा बस्तीमा एक दर्जन मुलको पानी लगिरहेका छन्, बागलुङका एक हजार २०० घरधूरीमा खानेपानीको चरम अभाव छ” स्थानीय कुँवरले भन्नुभयो “यस पटक बागलुङ नगरपालिकाले बागलुङबासीलाई एक घर एक खानेपानीका लागि बजेट विनियोजन गरेर खानेपानी मुहान सम्म पहुँचमार्ग विस्तार गरेपछि बिवाद उत्पन्न भएको थियो, विवाद उत्पन्न गर्नुपर्ने कुनै कारण छैन, उहाँहरुले सिचाईलाई प्रयोग गरिएको पानीमध्ये हामीले खानेपानी ल्याउन लायका हौं ।”

बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका विभिन्न ठाँउका एक दर्जन मुलको पानी म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका स्थानीयले एकलौटी प्रयोग गर्दा बागलुङका २ वटा वडाका नागरिकले वर्षौ देखी खानेपानीको चरम अभाव झेल्दै आएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

“बागलुङ नगरपालिक– ५ बान्द्रे र वडा नम्वर ४ का उपभोक्तालाई खानेपानी खुवाउने उदेश्यले योजना पर्दा समेत रत्नेचौरका स्थानियले सिचाई सुक्ने भन्दै अवरोध गर्दा बागलुङका उपभोक्ता खानेपानीबाटै वन्चित हुदै आएका हुन्” श्रेष्ठले भन्नुभयो “दुई जिल्लाका जनप्रतिनिधि सहितको समूहले तीन चरणमा वर्ता गरेपछि सहमती गरेका थियौ, उहाँहरुले एक जर्नन बढी मुल प्रयोग गरिराख्नुभएकै छ हामीले एउटा मुल मात्रै आधा प्रयाृग गर्नेगरी सहमती भएको थियो, तर पछि स्थानीयले आएर हामीले निर्माण गरेको संरचना भत्काइएको अवस्था छ ।”

श्रेष्ठले उनिहरुले खानेपानीको बिवाद लम्बाउन रत्नेचौरवासीहरुले सर्वोच्चमा मुद्दा हालेको बताउनुभयो । अहिले सर्वोच अदालतले कारणदेखाउ आदेश समेत गरिसकेको छ । बागलुङ नगरपालिका ५ मालिकाको कमेरे खानेपानी मुलको पानी वडा नम्वर ४ का उपभोक्तालाई ल्याउने २०५८ साल देखिको यो विवाद २१ वर्ष पुग्दा समेत समाधान गर्ने पहलले सार्थकता नपाउदा हजारौ उपभोक्ता खानेपानी बाट वन्चित हुदै आएका छन् ।

बागलुङ खण्डमा रहेका करिव एक दर्जन खानेपानी मुलका पानी म्याग्दीको रत्नेचौरमा लगि खानेपानीका साथै रत्नेचौरको फाँटमा सिंचाई हुँदै आएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएको बागलुङ नगरपालिका वडा नं ५ को बान्द्रे, वडा नं ४ को कुँडुले फेदी, कुँडुले छाप, दाह्रेगौडा, रमेटार, उपल्लाचौर, डुङढुंगा लगाएतका बस्तीमा खानेपानी ल्याउने योजना भएपनि रत्नेचौरका स्थानियले जमिन सिचाईमा पानी प्रयोग गर्ने तर खानेपानी ल्याउन विरोध गर्ने प्रवृति गलत भएको स्थानीयले बताएका छन् ।

सरकार भन्दा पनि माथी रहेर मानोमानी ढंगले खानेपानीका मुहानहरुलाई मेरो र तेरो गरी प्राकृतिक श्रोतलाई जग्गादाता हुँ भनि कब्जामा लिन खोजेको स्थानीय ठाकुर जिसीको भनाई छ । एका तर्फ मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको खानेपानी नै उपभोग गर्न नपाउने अर्को तर्फ पानीको श्रोतहरु खेर जाँदा समेत ल्याउन नदिने प्रवृतीले मानिसको नैसर्गिक अधिकार हनन भएको छ भने संविधानमा उल्लेख भएको मानव अधिकारको समेत उल्लङघन भएको स्थानीय बताउछन् ।

बागलुङ नगरपालिका ५ मालिकाको कमेरे खानेपानी मुलको पानी साविक मालिका गाविसको बान्द्रे र बागलुङ नगरपालिको साविक वडा नम्वर १० तथा ११ हालको बागलुङ नगरपालिका ४ मा खानेपानी ल्याउन पहल सुरुभै २०५८ सालमा मुल दर्ता भएको थियो । सो समयमा बागलुङका उपभोक्ताले विच्छाएका खानेपानीका पाइप, पाइप जडान गर्ने औजार समेत म्याग्दीको रत्नेचौरका स्थानीयले लुटेर लगेको भन्दै तत्कालिन उपभोक्ता समितिले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयमा उजुरी समेत दिएको वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले बताउनुभयो ।

सशस्त्रद्वन्द्व तथा शंकटकालको अवस्था रहेकोले पानीको काम अघि वढ्न नसकेकाले अहिले काम सुरु गर्दा रत्नेचौरका स्थानीयले विरोध गर्नु दुखद् भएको रहेको छ । दुई जिल्लाबीचको आपसी समझदारीमा खानेपानीको विवाद समाधान गरिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

“खानेपानी मुलको प्रयोगका विषयको विवाद सर्वोच्च सम्म पुगेको रहेछ, विवाद समाधानका लागि मैले स्थलगत रुपमा निरिक्षण समेत गरिसकेको छु, अधिकांश मुलहरु बागलुङ जिल्लामा परेपनि उपभोग म्याग्दी जिल्लाले गरेको अथार्थ देखिन्छ, कुनै पनि पानी हाल सम्म बागलुङ जिल्लाले प्रयोग गर्न पाएको रैनछ, बागलुङ बासीको नाममा नै दर्ता भइसकेको कमेरे खानेपानीको केही भाग पानी मात्रै बागलुङ बासीले माग गर्नुभएको छ” थापाले भन्नुभयो “दुई जिल्लाको समन्वयकारी भुमिकामा विवाद टुङ्गाउन पहल गर्नेछौं ।”

बागलुङ नगरपालिका वडा नम्वर ५ रहेको कमेरे मुलमा निर्माणधिन खानेपानी ट्याङकीको संरचना तोडफोड भएको छ । रत्नेचौरका स्थानीयले लामो समयदेखि प्रयोग गर्दे आएको खानेपानीका विषयमा सहमती गरेरैर निकास निकाल्नु पर्ने म्याग्दीको बेनी नगरपालिका १ का वडा अध्यक्ष टेक बहादुर थापाले बताउनुभयो ।

खानेपानी समस्या समाधान गर्न भन्दै दुवै जिल्लाका उच्चपदस्थ अधिकारीहरुको २०७९ फागुन १७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्रविधिक जाँचमा प्रतिसेकेन्ड ७ लिटर पानी रहेकोमा प्रतिसेकेन्ड ४ लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी ३ लिटर बागलुङले प्रयोग गर्ने भने हिउँदका ४ महिना मुहानको कुल पानिको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरी सहमति भएपनि रत्नेचौरका स्थानीयले सहमतीको उल्लङ्घन गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *