पूर्वाधार निर्माणपछि चर्चामा ऐतिहासिक ओदानडाँडा


खेमराज गौतम, बागलुङ
ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्राउने लक्ष्यका साथ केही समय अघि सम्म गुमनाम रहेको ओदानडाँडा स्थानीयको सक्रियतमा पूर्वाधार र प्रभार प्रसारपछि चर्चामा आएको छ ।

आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको स्थानलाई अहिले पर्यटकीय गन्तव्य बनाउने उदेश्यका साथ पछिल्लो दुई वर्ष यता थुप्रै पर्यटकीय पूर्वाधार थपिएपछि ओदानडाँडाको चर्चा चुलिन थालेको छ ।


ऐतिहासिक महत्व बोकेको ओदानडाँडाको संरक्षण र विकासका लागि गठन भएको ओदानडाँडा संरक्षण समितिको अगुवाइ, स्थानीयको सहयोग र पालिका र गण्डकी प्रदेशको सहयोगमा ओदानडाँडामा पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकहरु समेत आउन थालेका छन् ।

ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडा स्थानीयको सक्रियतामा संरक्षणको काम भएको हो । ओदान रहेको मन्दिर र सत्तल मात्रै रहेको स्थानमा अहिले पदमार्ग, प्रवेशद्वार, आकर्षक पानीको फोहोरा सहितको पोखरी, व्यवस्थित सत्तल र जग्गा व्यवस्थापनको काम भएको छ ।



बाइसे चौबिसे राज्य अन्र्तगत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको प्राकृतिक ओदान संरक्षित गरेर राखिएको उक्त स्थानलाई पछि ओदानडाँडा नामकरण गरिएको थियो । अहिले ओदानडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको स्थानीय रामचन्द्र गौतमले बताउनुभयो ।
“अहिले ओदान कस्तो रहेछ भनेर हेर्न आउनेहरुको संख्या बाक्लो छ, यसलाई हिन्दु धर्म संग जोडेर समेत कतिले पूजा आजा गर्ने गरेका छन्” गौतमले भन्नुभयो “बिस्तारै ओदान हेर्नेका लागि चासो दिनेहरु बढेका छन् ।”

परापूर्वकाल देखिनै ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयको सक्रियतामा दुई वर्ष अघिदेखि मात्रै ऐतिहासिक स्थल ओदानडाँडाको संरक्षण थालिएको थियो ।

“गुमनाम रहेको ओदानडाँडा संरक्षण र प्रचार प्रसार संगै चर्चामा आउन थालेको छ, रेश जाने सडक सुधार भएको खण्डमा धार्मिक पर्यटकहरुको चाप बढ्ने देखिन्छ” गौतमले भन्नुभयो “ऐतिहासिक प्रमाण सहितको ओदानडाँडामा हाल सम्म पूर्वाधार निर्माणमा झण्डै ४० लाख खर्च भइसकेको छ, चर्चित लोक भजन गायक रेशम सापकोटाद्वारा ओदानडाँडाको विषयमा रचना गरेको भजन र छायङ्कन गरेको दृश्य अहिले तरेली संगितकुन्जको युट्युव च्यानलमा ६१ हजारले हेरीसकेपछि ओदानडाँडा एका एक चर्चामा आउन थालेको हो ।”
चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ । आदानडाँडाको गुरु योजना बनाएर ओदानडाँडाको तारबार गर्ने, ओदानडाँडा क्षेत्र विस्तार गर्ने र उक्त स्थानमा पुग्ने पदमार्ग निर्माणपछि ओदानडाँडाको मुहारै फेरिएको छ ओदानडाँडा संरक्षण संस्थाका अध्यक्ष विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७÷०७८ मा काठेखोला गाउँपालिकाको र वडा कार्यालयको रु. ४ लाख, चालु आर्थिक वर्ष गण्डकी प्रदेशको सामाजिक विकास कार्यालय बागलुङको रु.सात लाख र वडा कार्यालयको एक लाख ५० हजार तथा स्थानीयहरुबाट संकलित गरेको रु. २५ लाख बाट धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको ओदानडाँडामा पूर्वाधार निर्माण गरिएको हो ।

स्थानीय सहयोगदाताहरुले एक हजार देखि एक लाख ११ हजार सम्म ओदानडाँडा संरक्षणमा रकम तथा भौतिक पूर्वाधारका सामाग्री सहयोग गरेका थिए ।

सत्तल व्यवस्थापन, एक सय मिटर तारबार, शिवमूर्ती सहितको पानीको फोहोरा, पदमार्ग र मन्दिर परिसरमा रेलिङ, प्रवेशद्वार, १०८ शिवलिङ्ग, १०८ केजीको तामाको ओदान, मन्दिर अगाडीको जग्गा व्यवस्थापन, पक्की प्राङ्गण निर्माण र ३०० मिटर लामो पक्की पदमार्ग निर्माण गरिएको छ ।

“यो दुई वर्षमा धेरै मेहनत गरियो, स्थानीयको सहयोगमा प्राप्त रकमबाट पूर्वाधार निर्माण संगै प्रचार–प्रसारका लागि भजन समेत छायङ्कन गरियो, अहिले भजन हेरेकै आधारमा टाढा–टाढाबाट धार्मिक पर्यटकहरु ओदान हेर्न ओदानडाँडामा आउछन्” संरक्षण संस्थाका अध्यक्ष गौतमले भन्नुभयो “प्राकृतिक ओदान संगै १०८ केजीको तामाको ओदान राखेपछि पर्यटकलाई थप आकर्षण गर्नेछ, अझै मन्दिरमा सय मिटर जाली, ओदानडाँडा देखि खर्दाङ र खर्दाङ देखि धनीखोरीया झोलुङ्गे पुल निर्माण गर्ने र ओदानडाँडा देखि दामगाडे सम्म पक्की पदमार्ग बनाउने र शौचालय व्यवस्थापनको काम बाँकी रहेको छ ।”

गौतमकै सक्रियतामा संस्था दर्ता भएर संरक्षणको काम थालिएको थियो । ओदानडाँडा पुर्खाहरुको तपोभूमि तथा ऐतिहासिक र धार्मिक तिर्थ स्थलका रुपमा रहेकाले यसको संरक्षण, पूर्वाधार निर्माण तथा प्रचार–प्रसार गर्न थालिएको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

पालिकाको गुरुयोजनामा समावेश गरेर ओदानडाँडाको विकास गरिएको लामिछानेको भनाई छ । बाइसे चौबिसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात चट्याङ खस्ने र कोट तथा दरबार क्षती हुँने बताएपछि राजा रिसाएर पुजारीलाई कारवाही गरेको तर उक्त स्थानमा विज्ञले भने जस्तैगरी ओदान सहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेटिपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसावले निकै महत्वपूर्ण रहेको स्थानीय कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *