पातीहाल्नेमा आन्तरिक पर्यटकको चहलपहल


डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको संगम स्थल पातीहाल्नेमा गर्मी याम सुरु भएपछि दिनप्रति दिन पर्यटक पुग्ने गरेका छन् । चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटकहरु पुग्ने गरेका हुन् । छेउमै रहेका रिग ताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ ।

बागलुङ र पूर्वी रुकुम दुवै तर्फबाट सहज रुपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाईमा पातीहाल्ने पर्दै गएको हो । पातीहाल्ने हुँदै रिग र तिलाचन तालमा पुगिने हुँदा पर्यटकको आकर्षण केन्द्र बन्न पुगेको हो । रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । अग्लो पहाडको टुप्पोमा रहेका यि दुई तालमा पुग्न पाती हाल्नेबाट धेरै समय लाग्दैन । पातीहाल्नेबाट १५ मिनेटको पैदल यात्रामा रिग ताल पुग्न सकिन्छ भने आधा घण्टामा तिलाचन ताल पुग्न सकिन्छ ।

रिगतालसम्म मोटरबाटो पुगेको हुँदा आगन्तु गाडीमा पनि पुग्न सक्छन् । बाह्रै महिना पर्यटकले भरिने पातीहाल्ने यो समय अझ बढी आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढा मगर (सूर्यमान) ले बताउनुभयो । सामाजिक संजाल तथा विभिन्न संचार माध्यममा यि ठाउँहरुको प्रचारप्रसार तीव्र रुपमा भएको हुँदा पाती हाल्ने पर्यटकको रोजाइमा परेको बताउनुभयो । केही वर्ष अगाडि निसीखोला गाउँपालिकाले पातीहाल्नेदेखि रिग तालसम्म सडक पु¥याए पनि अहिले सीमा विवादका कारण पर्यटन पूर्वाधारहरु बन्न नसकेको अध्यक्ष बुढा मगरको भनाई छ ।

“पहिले त यहाँका चर्चा खास्सै थिएन, जब मध्यपहाडी लोकमार्ग कालोपत्रे भयो त्यस यता हजारौँ पर्यटक यहाँ आएर रमाउने गरेका छन्, ठाउँ निकै रमणिय छ, यहाँ थुप्रै पूर्वाधारहरु निर्माण गर्नु पर्ने छ,” अध्यक्ष बुढा मगरले भन्नुभयो– “अहिले केही समस्या परेको हुँदा काम गर्न सकिएको छैन्, समस्या समाधान भयो भने पालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेका काम गर्नु पर्ने देखिएको छ ।”

स्थानीय विर बहादुर विकले दैनिक डेढ सय बढी आन्तरिक पर्यटक घुम्न आउने गरेको बताउनुभयो । उहाँले हिउँमा हिउँसँग रमाउन र हिउँमा गर्मी छल्न आउनेको संख्या धेरै हुने गरेको बताउनुहुन्छ । विकले यहाँ घुम्न आउनेले आफूहरुले उत्पादन गरेका आलु, सिमी, भाँगो र चोयाबाट बनाइएका सामानहरु किनेर लैजाने गरेको सुनाउनुभयो । पहिले यस क्षेत्रमा नागरिकहरु निकै विकटमा भएको भन्दै अहिले उच्च लेक पनि सडकले गर्दा सुगम बनेको उहाँको भनाई छ ।

विक भन्नुहुन्छ– “यहाँ घुम्न आउने मान्छे एक ठाउँका मात्रै छैनन्, धेरै जिल्लाबाट आउने गर्छन्, कति टेन्ट टाँगेर दुई÷चार दिन यही बस्ने रमाइलो गर्ने गर्छन्, यहाँ बस्दाखेरी लोकल कुखुरा, आलु किनेर यहीनै पकाएर खान्छन्, हामीहरुलाई अलिअलि पैसा पनि हुने भयो, दुई साल जति भयो धेरै मान्छेहरु आउन थालेको, पहिले त यो ठाउँ जंगलनै हो, तल बेसीबाट गाईवस्तुहरु लिएर यहाँ आउने गथ्र्यौँ, पहिलेको जंगल अहिले धेरै घुम्ने रमाउने ठाउँ बन्यो ।”

यो याममा त अझ वरपर फूलेका लालिगुराँसले धेरैको मन लोभ्याउने गरेको छ । पातीहाल्ने पुग्ने अधिकांश पर्यटक रिग ताल र तिलाचन तालमा पुग्ने गर्छन् । सडकको सहज पहुँच भएको हुँदा बर्खामा पनि यहाँ पर्यटकको कमी हुँदैन । बर्खामा हरियाली र हिउँमा सेताम्य हिउँले ढाकिएको अग्ला डाँडाले पर्यटकलाई पटक–पटक निम्ता गरि रहेको हुन्छन् । पूर्वी रुकुमदेखि घुम्न आएका शिवकुमार खड्काले सडक सहज भएको हुँदा आफू पटक–पटक घुम्न आएको बताउनुभयो ।
लोकमार्गमा यात्रा गर्दा पूर्वी रुकुमदेखि लुकुम गाउँ हुँदै पातीहाल्नेसम्म अनेकौँ सुन्दर दृष्य अवलोकन गर्न सकिने हुँदा लामो बिदा पर्दा घुम्न आइ राख्ने बताउनुभयो ।

उहाँले पाँच वर्ष अगाडिसम्म सडक अप्ठ्यारो हुँदा मान्छेहरु घुम्न कम आउने गरेको भन्दै अहिले पातीहाल्नेमा बागलुङ, रुकुम र रोल्पाका मात्रै नभई धेरै ठाउँका मान्छेहरु आउने गरेको बातउनुभयो । “५/६ वर्ष अगाडि यहाँ एक पटक आएको थिए, यस्तो चहलपहल थिएन, यहाँ घरहरु पनि बनेका थिएनन्, सुनसान थियो, अहिले यो ठाउँ निकै फेरिएको छ, अलि चोसो ठाउँ हो भयो, त्यही भएर गर्मी ठाउँबाट धेरै आउने गरेको पाइन्छ,” उहाँले भन्नुभयो– “मुख्य कुरा त विकासनै रैछ, यो सडक नबनेको भए यति सुन्दर ठाउँ ओझेलमै हुन्थ्यो, तर अब उत्कृष्ट गन्तव्य मध्यमा पर्छ यो ।”
युवायुवतीसँगै पारिवारीक घुमघामका लागि पातीहाल्ने पहिलो रोजाई बन्न थालेको छ । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङदेखि एक घण्टामै पुग्न सकिने भएको हुँदा व्यापारीहरु पनि यहाँ घुम्न पुग्ने गरेका छन् । बिदाको दिन करिब तीन सय पर्यटक यहाँ पुग्ने गरेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *