लोकमार्ग मिचेर घोडाबाँधेमा श्रीमेयर गणको पक्की संरचना


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँ बायाँ २५/२५ मिटरको हो ।

सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गर्दछ । तर यहाँको स्थित नेपाली सेनाको श्रीमेयर गणले राष्ट्रिय गौरवको आयोजनको रुपमा रहेको मध्यपहाडी लोकमार्ग मिचिरे पक्की संरचना बनाइरहेको छ ।

स्थानीय तहलाई खबरै नगरी मध्यपहाडी लोकमार्ग आगोजना कार्यालयको पत्रलाई सेमत बेवास्ता गर्दै संरचना निर्माण गरिरहेको पाइएको छ । निजी घर निर्माण गर्दा २५ मिटर मापदण्ड छोडेर निर्माण भइरहे पनि नेपाली सेनाले लोकमार्गको नालीसंगै जोडेर पक्की पिल्लर सहितको पर्खाल धमाधम निर्माण गरिरहेको छ ।

घरटहरा वा पक्की संरचना बनाउनुपर्दा स्थानीय तहमा दर्ता गरेर बनाउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहेपनि सेनाले एकलौटी ढंगबाट संरचना बनाइरहेको छ । सडकछेउमा बनाउने पक्की संरचनाका लागि सडक सीमाको मापदण्ड पालना गर्नुपर्ने र छुट्टै अनुमति पनि लिनुर्ने भएपनि नेपाली सेनाले मध्यपहाडी लोकमार्गसंग समेत अनुमती नलिईकन पक्की संरचना बनाइरहेको छ ।



हाल कार्यान्वयनको चरणमै रहेको मध्यपहाडी लोकमार्गको पादण्ड विपरित कसैले अवैध संरचना बनाउन नपाईने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका आयोजना प्रमुख नारायणदत्त भण्डारीले अस्थायी संरचना (तारजाली) लगाउनका लागि आयोजना कार्यालयमा जानकारी दिएकोमा अहिले पक्की संरचना बनाइरहको बताउनुभयो ।



“लोकमार्ग संग जोडिएर रहेको श्रीमेयर गणले अस्थायी संरचना तारजाली लगाउनका लागि हामीलाई पत्र पठाएको थियो, सुरक्षा संवेदनलिता हेरेर अस्थायी संरचना बनाउन समस्या थिएन, तर उहाँहरुले त लोकमार्गसंगै जोडेर पक्की पिल्लर सहितको इटाको पर्खाला लगाउनु भएको छ” भण्डारीले भन्नुभयो “सुरक्षा निकायलेनै मापदण्ड मिचेपछि अरुले के गर्लान, हामीले तारजाली लगाउन समस्या हुँदैन भनेका थियौ, पक्की संरचना रोक्नका लागि चैत ३ गते नै सेनाको गणलाई पत्र पठाएका छौं ।”

आयोजनाका अनुसार तत्कालै निर्माणकार्य रोक्नु भनी पत्र पठाएकोमा गणले अटेरी गरेर धमाधम पक्की संरचना बनाइरहेको छ । लोकमार्ग विस्तार गर्दा पक्की संरचना भत्काउन समस्या हुँने भन्दै लोकमार्गको २५ मिटर दायाँ बायाँ पक्की संरचना बनाउन नपाइने आयोजनाले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग स्थित बागलुङको काठेखोला–५ घोडाँबाधेमा सेनाले सय रोपनी जग्गामा श्रीमेयर गण छ । सेनाले वनको जग्गामा गण बनाएपनि लोकमार्ग मिच्न नहुँने स्थानीयको भनाई छ ।

यो सडकमा कम्तीमा २५ मिटर मापदण्ड छाडेर मात्रै बनाउन पाउने प्रावधान छ । लोकमार्ग घोषणा हुनु दशकअघि बनेका घरसमेत सडक बनाउने क्रममा भत्काइएको थियो । अहिले सडक विस्तार गर्नुपर्ने बेलामा सेनाको संरचनाले सडक साँघुरो भएको छ । लोकमार्गबाट श्रीमयर गणलाई पक्की संरचना बनाउन अनुमती नदिएको आयोजना कार्यालयले जनाएको छ ।

सेनाले घोडाबाँधे स्थित गणमा दर्जन बढी पक्की संरचना बनाइसकेको छ । हाल निर्माण भइरहेको अबैध संरचनाको पश्चिमतर्फ नालीमै जोडेर पिलर सहित ईटाको पर्खाल ठड्याइएको छ । लोकमार्ग मिचेर संरचना बनाउदा लोकमार्गको दुईवटा दुईघुम्ती साँघुरो हुने देखिन्छ ।

गण बसेको स्थान घोडाबाँधे सामुदायिक वनको सय रोपनी जमिनमा स्थापना गरिएको छ । नेपाली सेनाको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै पर्खाल निर्माण गरेको नेपाली सेनाको श्रीमयर गणको दाबी छ । श्रीमेयर गणका गणपती देशभक्त मणी श्रेष्ठले नेपाली सेनाले गण भित्र भइरहेने सुरक्षा तालिम लगायका गतिविधि बाहिरबाट देखिएकाले बाध्य भएर पर्खाल सहितको संरचना निर्माण गरेको बताउनुभयो ।

उहाँले लोकमार्गलाई जानकारी गराएर मात्रै पर्खाल निर्माण गरेको बताउनुभयो । “लोकमार्गलाई हामीले जानकारी गराएका हौ, राजमार्ग संग जोडिएको गण भएकाले सुरक्षाका हिसावले चुनौती भयो, लोकमार्ग विस्तारमा हाम्रो कुनै रोक तोक हुँदैन” गणपाती श्रेष्ठले भन्नुभयो “भित्र सेनाको गतिविधि बाहिरबाट हेर्दा समस्या भएकाले मात्रै संरचना बनाएका हौं, लोकमार्ग मिच्ने हाम्रो कुनै इच्छा होइन, लोकमार्ग सुरक्षाको जिम्मा हाम्रो पनि हो ।” लोकमार्ग विस्तार गर्दा अहिले बनाएको संरचना भत्काउन दिइने सेनाको दाबी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *