आदर्श अनलाइन, बागलुङ
बागलुङ, पर्वत र म्याग्दीमा सडक मानव मुक्त अभियान प्रभावकारी बन्दै गइरहेको छ । ७ वर्ष पहिला सडक मानव मुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानव मुक्त अभियान सफल हुँदै गइरहेको छ ।
अहिले कालिका मन्दिर परिसरमा मागेर खाने सडक मानवहरु देख्न पाइदैन । उनिहरुको उद्दार, उपचार र आश्रय दिएपछि विगत एक वर्ष देखि कालिका मन्दिर परिसरमा सडक मानव देखिदैन् । यस्तै बागलुङका विभिन्न चोक तथा गल्लीहरुमा देखिने सडकमानवहरु क्रमश घट्दै गएका छन् । आश्रमले धौलागिरीको म्याग्दी, पर्वत र बागलुङलाई सडक मानव मुक्त अभियान बनाउने लक्ष्यका साथ सडक तथा बेसहारा मानवहरुको उद्दार, उपचार, हेरचाह तथा पुनर्मिलन गराउदै आएको छ ।
विभिन्न कारणले गर्दा सडकमा अत्यन्तै कष्टकर जीवन बिताउँदै आएका सहयोगापेक्षी तथा बेसहारा सडकमानहरुको उद्दार, उपचार र व्यवस्थापन गर्नाले सडक मानव मुक्त अभियान क्रमश सफल बन्दै आएको आश्रमका संयोजक विपाना तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार चालु आर्थिक वर्षमा मात्रै धौलागिरीका तीन जिल्लाबाट २७ जना सडक मानवहरुको उद्दार गरिएको बताउनुभयो । हाल आश्रममा ४९ जना बेसहारा तथा सडक मानवहरु आश्रीत रहेको बताउदै तामाङले चालु आर्थिक वर्षमा ६ जनाको पुर्नमिलन, ३ जनाको मृत्यु र स्वेच्छिक१२ जनाले छोडेको बताउनुभयो ।
“अहिले सडक मानवहरु विरलै देखिन्छ, कतैबाट खबर आए सुरक्षा निकाय र जनप्रतिनिधिको पहलमा तत्कालै सडक मानवको उद्दार गरीहाल्छौ, बागलुङ जिल्लालाई सडक मानव मुक्त घोषणा गर्ने अभियानमा सफलता पाइरहेका छौं, कतिपय सडक पेटीमा बसेर ज्याला मजदुरी गर्नेहरु हुनुहुन्छ, उहाँहरुलाई आश्रममा सुविधा हुन्छ जाउ भनेका छौं” तामाङले भन्नुभयो “६ वर्षमा झण्डै ४०० सडक मानवहरुको उद्दार भइसकेको छ, यहाँ आश्रीतको संख्या धेरै भएमा अन्यत्र आश्रममा स्थानान्तरण गर्ने गरेका छौं ।”
आश्रममा रहेका ८० प्रतिशत आश्रीतहरु मानसिक रुपमा असन्तुलन भएका हुनुहुन्छ भने २० प्रतिशत शारिरिक अपाङ्गता भएका हुनुहुन्छ ।” आश्रममा आश्रीतहरुलाई सके सम्म पुर्नमिलनमा जोड दिइएको आश्रममा अभिभावक शिव खड्काले बताउनुभयो ।
“उद्दार गरेर ल्याएका सडक मानवहरु कतिपय पुरानै अवस्थामा पुग्नुभएको, घर परिवार संग पुनर्मिलन गराएका छौं, कतिपय घरबाट भागेर सडकमा पुगेका, मानसिक रोगका कारण सडकमा पुगेका हुन्छन्, उनिहरुको उपचारपछि घर फर्केका थुप्रै उदाहरण छन्” खड्काले भन्नुभयो “हाम्रो कल्पना सडक मानव मुक्त हो, अहिले हदै सम्म प्रभावकारी बनेको छ, यो अभियान, अहिले कतै सडकमानव देखेमा खबर गर्नुहुन्छ, नागरिकहरुले समेत मानव सेवा आश्रमलाई गरेको आर्थिक, भौतिक र नैतिक सहयोगका कारण आश्रमले ६ वर्षमा यति धेरैकाम गर्न सफल भएको हो ।”
आश्रममा सहयोगापेक्षी तथा बेसहारा सडकमानहरुको संख्यामा वृद्धि हुँदै गएकाले सडकमा सडक मानवहरु कम देख्न पाइएको छ । दाताको भरमा चल्दै आएको आश्रममा आश्रीतको संख्या बढ्दै गएपछि आवास व्यवस्थापनका लागि समस्या भोगिरहेको आश्रमले जनाएको छ ।
आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा रु. १२ करोड लागतमा सात रोपनी जग्गामा आश्रमको भवन बनिरहेको छ । भवन सम्पन्न पश्चात १५० देखि २०० सडक मानवहरुलाई आश्रय दिन सकिने मानव सेवा आश्रमका अभिभावक निर्मल श्रेष्ठले बताउनुभयो । हाल सम्म आश्रम पुण्य तीथि, जन्मदिन, चौरासी पुजा र व्रर्तबन्धन जस्ता सामाजिक तथा धार्मिक कार्यको अवसरमा प्रदान गरेको खाद्यन्न र नगदबाट सञ्चालित छ ।