ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर, चार सय जनाले लिए सेवा

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिका–९ ढोरपाटनका चन्द्रसिंह गुमाई लामो समयदेखि दन्त रोगी हुनुहुन्थ्यो । दाँत किराले खाएर दिनरात छटपटाउने गर्नुहुन्थ्यो । उपचारका लागि नजिकमा अस्पताल छैन । बुर्तिबाङ झर्नलाई हजारौँ रुपैयाँ खर्च लाग्छ । घरेलु उपचार गर्दै आउनु भएका गुमाईले सोमबार ढोरपाटनमै विशेषज्ञ चिकित्सकबाट सेवा लिनुभयो । गाउँ घरमै विशेषज्ञ डाक्टरबाट दाँत उपचार गराएपछि गुमाईको दाँत दुख्न छोड्यो । ढोरपाटन नगरपालिका–९ ले दुर्गम गाउँका नागरिकलाई लक्षित गरि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट सयौँले सेवा लिए ।

गुमाई भन्नुहुन्छ– “दाँत दुखेको महिना दिनभन्दा बढी भएको थियो, दुखाईले गर्दा केही काम सकेको थिएन, यहाँ देश विदेशबाट डाक्टर सापहरु आउनु भएको रैछ, उहाँले चेकजाँच गरेर औषधी दिएपछि केही बेरमै निको भएको अहिलेसम्म दुखेको छैन, पुरै निको भएको छ, सरकारले हामी जनताको समस्या बुझ्यो, निकै खुसी लागेको छ, सरकारलाई धन्यबाद भन्छु ।”

गुमाई जस्तै स्थानीय प्रियासी पुन मगर पनि लामो समयदेखि ढाड दुख्ने र स्त्री रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँले पनि शिविरमा स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधि प्राप्त गरेपछि खुसी व्यक्त गर्नुभयो । पुन मगरले नजिकका राम्रो स्वास्थ्य संस्थाहरु हुँदा आफूहरुले लामो समयदेखि समस्या भोग्दै आएको भन्दै शिविरले यहाँका नागरिकलाई ठूलो राहत मिलेको बताउनुभयो ।

“यस्तो विकट ठाउँमा वडा कार्यालयले स्वास्थ्य शिविर राख्यो, हामी जस्ता दुर्गमका मान्छेले राम्रो सेवा पायौँ, यस्तो सेवा बेला–बेलामा ल्याउन सके, यहाँका धेरै मान्छेको अकालमा ज्यान जाने थिएन,” पुन मगरले भन्नुभयो– “यहाँ त अहिले पनि अस्पतालमा गएर उपचार गराउने चलन निकै कम छ, राम्रो अस्पताल नभएर पनि होला, ढोरपाटनमा धेरै समस्या छ ।”

ढोरपाटन जति चर्चित छ, उति विकट पनि छ । केही वर्ष अगाडिसम्म यहाँ सडक पुगेको थिएन । अहिले सडक पुगेको छ । सडक पुगे पनि अझै थुप्रै विकासले ढोरपाटनलाई छुन सकेको छैन । स्थानीय दीपेन्द्र पुन मगरले गाउँमै निःशुल्क उपचार गराउन पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले ढोरपाटनमा कोही बिरामी परे बुर्तिबाङ बजारमा झार्नु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले स्वास्थ्य चेतनाको अभावले गर्दा धेरैले अकालमा ज्यान गुमाएको उहाँको भना छ ।

शिविरले यहाँका नागरिकलाई समय–समयमा स्वास्थ्य परीक्षण गराउन र बिरामी पर्दा बित्तिकै अस्पताल जानु पर्छ भन्ने सन्देश दिएको पुन बताउनुहुन्छ । उहाँले भन्नुभयो “यहाँ धेरै जसो गरिब दुःख नागरिकहरुको बसोबास छ, बिरामी परे कि बुर्तिबाङ जानु पर्छ कि त पोखरा काठमाडौँनै जानुपर्छ, बुर्तिबाङ झर्दा पनि समस्या हुन्छ, जाँदा आउँदा तीन÷चार हजार खर्च हुन्छ, खर्च जुटाउन नसकेर धेरैले घरमै रोग पालेर बसेका छन्, यहाँ भएको शिविरबाट धेरैले सेवा लिए ।”

ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर संचालन गरेको बताउनुभयो । एक दिनको स्वास्थ्य शिविरमा दीर्घरोगीदेखि विभिन्न किसिमका रोगहरुको उपचार भएको बताउनुभयो । उहाँले अहिलेसम्म यो ठाउँमा यति ठूलो र विशेषज्ञ डाक्टरसहितको टोली नआएको सुनाउँदै आफूहरुले यस पटक सबै किसिमका रोगीलाई लक्षित गरि शिविर संचालन गरेको बताउनुभयो ।

ढोरपाटन नगरपालिका–९ को आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर संचालन गरेको जानकारी दिनुभयो । एक दिनको शिविर भए पनि धेरै नागरिकले गुणस्तरीय उपचार र औषधि पाएको बताउनुभयो । शिविरमा मुटु रोग, तन्द रोग, स्त्री रोग लगायतका रोगहरुको परीक्षण र उपचार गरि एको अध्यक्ष घर्ती मगरको भनाई छ ।

अध्यक्ष घर्ती मगर भन्नुहुन्छ– “ढोरपाटनमा अहिलेसम्म राम्रो स्वास्थ्य सेवा पुगेको छैन, सयौँ नागरिक गुणस्तरीय सेवाबाट वञ्चित छन्, यस पटक वडा कार्यालयले नै अगुवाई गरेर विदेशी डाक्टरसहितको टोली ल्याएर ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर राख्यौँ, शिविरमा आउनु भएका सबै बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र औषधि उपलब्ध गरायौँ ।”

शिविरमा ढोरपाटनका चार सय बढी स्थानीयले सेवा लिएको उहाँको भनाई छ । शिविरमा डाक्टर अमृत पोखरेल, डाक्टर सरमशिखा भट्टराई लगायत, अमेरिका, बेलायतदेखि आएका डाक्टरको टोलीद्वारा बिरामीको चेकजाँच र उपचार गरिएको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *