शुन्य बेरुजुतर्फ गलकोट नगरपालिका


खेमराज गौतम, बागलुङ
१० पालिका रहेको बागलुङमा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाले आफ्नो बेरुजु घटाउदै शुन्य बेरुजु तर्फ अग्रसर भएका छन् । बागलुङका अन्य स्थानीय तहको बेरुजु उकालो लागेपनि ताराखोला र गलकोटले भने शुन्य बेरुजु तर्फ आफूलाई अग्रसर बनाउन सफल भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका १० स्थानीय तहको बेरुजु रु. २१ करोड रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा झण्डै दोब्बरले बढेर रु.४२ करोड पुगेको भएपनि गलकोट नगरपालिकाको बेरुजु ०.०८ प्रतिशत र ताराखोला गाउँपालिकाको बेरुजु ०.६५ प्रतिशत मात्रै रहेको छ । गलकोट नगरपालिकाको बेरुजु गण्डकी प्रदेशकै कम बेरुजु मध्ये पर्न सफल भएको गलकोट नगरपालिकाले जनाएको छ ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा आर्थिक वर्ष २०७८/७९ रु. १३ अर्ब ३६ करोड २५ लाख ६६ हजार खर्चको लेखा परिक्षण गरिएकोमा रु. ४२ करोड ७२ लाख ६४ हजार बेरुजु आएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार बागलुङका गलकोट नगरपालिका र ताराखोला बाहेकको स्थानीय तहमा गत वर्षको तुलनामा दोब्बरले बेरुजु बढेको पाइएको हो ।
उक्त आवमा सबैभन्दा बढी तमानखोला गाउँपालिका बेरुजू देखिएको छ भने सबैभन्दा थोरै गलकोट नगरपालिकामा देखिएको छ । तमानखोला गाउँपालिकाको बेरुजु ५.०७ प्रतिशत रहेको छ भने गलकोट नगरपालिकाको ०.०८ प्रतिशत बेरुजु रहेको पाइएको छ ।
तमानखोला गाउँपालिकाले उक्त आवमा रु. ८३ करोड २५ लाख ४० हजारको लेखा परिक्षण गराएकोमा रु. तीन करोड ३० लाख ८९ हजार बेरुजु देखिएको हो । यस्तै सबैभन्दा कम बेरुजु रहेको गलकोट नगरपालिकाले उक्त आवमा गरेको रु. एक अर्ब ७१ करोड ८ लाख २९ हजार खर्च रकम लेखापरिक्षण गरेकोमा रु. १४ लाख ३५ हजार मात्रै बेरुजु देखिएको हो ।

आर्थिक अनुसासन अनुसार खर्च गर्दा बेरुजु घटाउदै गएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

आब २०७७/७८ मा जम्मा १.३३ प्रतिशत बेरुजु रहेको बागलुङ नगरपालिकामा आब २०७८/८९ मा बेरुजु बढेर ४.९८ प्रतिशत भएको छ । आब २०७८/७९ मा गरिएको रु. २ अर्ब ३७ करोड ३७ लाख ८५ हजार लेखापरिक्षण रकम मध्ये रु.११ करोड ८२ लाख ३ हजार रकम बेरुजु देखिएको हो ।

यस्तै ढोरपाटन नगरपालिकाले उक्त आबमा रु. १ अर्ब ३२ करोड ३२ लाख ५४ हजार रकम लेखापरिक्षण गराएकोमा रु. ३ करोड २२ लाख ११ हजार अर्थात २.४३ प्रतिशत बेरुजु रहेको छ ।

जैमिनी नगरपालिकाले रु. १ अर्ब ७१ करोड ७५ लाख ३४ हजार लेखापरिक्षण रकम मध्ये रु.६ करोड ८६ लाख ९४ हजार अर्थात ४ प्रतिशत बेरुजु रहेको पाइएको छ । यस्तै बडिगाड गाउँपालिकाले रु. १ अर्ब ४९ करोड ५० लाख४४ हजार रकमको लेखापरिक्षण गरेकोमा रु. ५ करोड ९१ लाख ८२ हजार अर्थात ३.९६ प्रतिशत रकम बेरुजु देखिएको छ ।

काठेखोला गाउँपालिकाको उक्त आवमा गरिएको रु. १ अर्ब २७ करोड ४६ लाख ६७ हजार लेखापरिक्षण रकम मध्ये रु.४ करोड ७६ लाख अर्थात ३.७३ प्रतिशत रकम बेरुजु देखिएको छ ।

यस्तै बरेङ गाउँपालिकाले रु.८६ करोड ५ लाख ९० हजारको लेखापरिक्षण गरेकोमा रु. ९९ लाख ८९ हजार बजेट अर्थात १.१६ प्रतिशत बेरुजु देखिएको हो ।

जिल्लाको निसीखोला गाउँपालिकाले उक्त आर्थिक वर्षमा रु. एक अर्ब १२ करोड १२ लाख १० हजार खर्च रकमको लेखापरिक्षण गरेकोमा रु.५ करोड १४ लाख २६ हजार रकम अर्थात ४.५९ प्रतिशत बेरुजु रहेको छ ।
यस्तै जिल्लाको ताराखोला गाउँपालिकाले उक्त आर्थिक वर्षमा रु. ८३ करोड २५ लाख४० हजार खर्च रकमको लेखा परिक्षण गरेकोमा रु. ५४ लाख ४५ हजार अर्थात ०.६५ प्रतिशत बेरुजु देखिएको हो । बागलुङका स्थानीय तहले शून्य बेरुजुको नारा लिएपनि गलकोट नगरपालिका र ताराखोला गाउँपालिका मात्रै शुन्य बेरुजुतर्फ उन्मुख भए पनि अन्य पालिकामा बेरुजु बढेको पाइएको छ ।

आर्थिक अनुशासन विपरीत खर्च गर्दा बागलुङका ८ स्थानीय तहको बेरुजु बढ्दै गएको पाइएको छ । ६० औँ प्रतिवेदनमा असुल गर्नुपर्ने भन्दा धेरै बेरुजु प्रक्रिया नपुगेका कारणले देखिएको पाइएको छ । उपभोक्ता समितिमार्फत हुने काम, कार्यालय सञ्चालन, कर्मचारीको प्रोत्साहन तथा नियुक्तिलगायतका शीर्षक, आर्थिक मितव्ययीता नअपनाएको, शीर्षक अनुसार खर्च नगरेको, क्षेत्राधिकार भन्दा बाहिर गएर खर्च नगर्दा स्थानीय तहमा बेरुजु बढेको महालेखाले औलाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *