निसीखोलाका बिरामीको उपचार गर्दै डाक्टर केसी

डम्मर बुढा मगर, बागलुङ
डाक्टर गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा नागरिकको उपचारमा खटिनु भएको छ । मंगलबार निसीखोला आउनु भएका डाक्टर केसीले वडा नम्बर ३ मा रहेको बोहरागाउँ स्वास्थ्य चौकीमा पुगेर बिरामीको उपचारमा खटिनु भएको हो । मंगलबार निसीखोला आउनु भएका केसीले तीन दिनसम्म यहाँका बिरामीको उपचार गर्नु हुने भएको छ ।

डाक्टर केसीले स्वास्थ्य चौकीबाट बिरामीको चेक जाँचसँगै उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्य चौकीमा प्रमुख कसिन्द शाहीले जानकारी दिनुभयो । केसी कुनै खबर बिनानैस्वास्थ्य चौकी पुग्नु भएको शाहीको भनाई छ । प्रमुख शाही भन्नुहुन्छ– “डाक्टर साप आउने कुनै जानकारी दिएन, स्वास्थ्य चौकीमा हामी बिरामी हेर्दै थियौं, एक्कसी टुप्लुक्क आउनुभयो, हामीहरुनै अचम्म प¥यौँ, आएर केही बेरमा म डाक्टर गोबिन्द केसी हो तिन दिन सम्म यही बस्छु यस क्षेत्रमा सबै नागरिकलाई खबर गरि दिनु कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरुको स्वास्थ्य जाँच गर्छु ।”

डा. केसीले बोहोरागाउँ स्वास्थ्य चौकीमा शुक्रबार साँझसम्म बिरामीको उपचार गर्नुहुने छ । अघिल्लो वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारमा आएको केसी यसपाली निसीखोला क्षेत्रमा आएको बताउनुहुन्छ । उहाँले आफू यो समय फूर्सदमा भएको हुँदा निसीखोला आएको बताउनुहुन्छ ।

डाक्टर केसी भन्नुहुन्छ– “आएर काम सुरु गरेको छु, माया पाइएला, गाली पाइएला, म आएँ, यहाँका साथीहरुले बिरामीलाई खबर गरि दिनुभयो, म पहिले बोबाङ भन्ने ठाउँमा आएर पाँच÷सात दिन बिरामीको उपचार गरेको थिए, त्यस बेला यहाँका मान्छेले निसीखोला पनि आउनु प¥यो भन्नु भएको थियो, अहिले मेसो मिल्यो त्यही भएर आएँ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले डाक्टर केसी कुनै पनि जानकारी नगराई आएको बताउनुभयो । उहाँले यहाँ आएर तीन दिन बिरामीको सेवा गर्ने बताएपछि गाउँपालिकाले केसीले सिफारिस गरेका औषधीहरुको व्यवस्थापन गरेको बताउनुभयो ।

“डाक्टर साप आफ्नै हिसाबले आउनु भएको रैछ, हामीहरुलाई पूर्व जानकारीनै थिएन, उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाड, जोर्नी र नसा सम्बन्धी रोगी बिरामीहरुको उपचार गर्नुहुँदो रैछ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो– “बिरामी पनि आउन थालेका छन्, उहाँले निःशुल्क सेवा दिने भनेपछि हामीहरुले एक लाख बराबरको उहाँले भने बमोजिमको औषधी व्यवस्थापन गरि दिएका छौँ, छिटो समय भए पनि यहाँका बिरामीहरुले राम्रो सेवा पाउने अवसर पाए ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *