गलकोट क्षेत्र सिसी क्यामराको निगरानीमा

डम्मर बुढा मगर, बागलुङ
वैदेशिक रोजगार तथा बढ्दो शहरी मोहले गर्दा गलकोटमा थुप्रै गाउँहरु रित्तिदै गएका छन् भने बजार भरिभराउ भएका छन् । गाउँका केही घरमा बृद्धवृद्धा बाहेक अरु छैनन् । घरमा ताला ठोकेर कोही विदेशिएका छन् त को बजार झरि सकेको छन् । पछिल्लो समय ताला लगाइएका घर तोडफोड गरि भएका समान चोरी हुने गरेको छ ।

चोरका घटनासँगै गलकोट क्षेत्रमा अपराधिक घटनाहरु पनि बढि राखेको छ । बजार क्षेत्रमा होस् या गाउँमा यस्ता घटनाले स्थानीयलाई त्रसित बनाएको छ । बढ्दो अपराधिक घटना नियन्त्रणका लागि गलकोट नगरपालिकाले चासो देखाएको छ । नगरपालिकाले बजार क्षेत्रसँगै बढी अपराधिक घटना हुने स्थानलाई लक्षित गरि सिसी क्यामेरा जडान गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बीच भागमा पर्ने गलकोट पछिल्लो समय तीव्र रुपमा सहरीकरण भइरहेको छ । सहरीकरणसँगै अपराधिक घटना बढ्दै गएपछि नगरपालिकाले हटिया बजार नरेठाँटी, मल्म, हरिचौर बजार, भ्यूटावर, लगायतका गलकोटको मुख्य बजार क्षेत्र र नाकाहरुमा २० वटा सिसी क्यामेरा जडान गरेको छ । सिसी क्यामेरा जडानपछि अपराधिक क्रियाकलाप रोक्न सकिने गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले बजार क्षेत्रमा सिसी क्यामरा जडान नहुँदा प्रहरीलाई घटनामा संलग्न व्यक्तिलाई पत्ता लगाउनसमेत गाह्रो परेको बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको १० लाख रुपैयाँले मुख्य–मुख्य नाका र बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएको उहाँको भनाई छ । सिसी क्यामेराको कन्ट्रोल रुप इलाका प्रहरी कार्यालय हरिचौरमा रहने भण्डारी बताउनुहुन्छ ।

प्रवक्ता भण्डारी भन्नुहुन्छ– “गलकोटमा अहिले चोरी लगायत हत्या हिंसाका घटनाहरु बढे, अपराधी नियन्त्रण गर्न गाह्रो भएको सन्दर्भमा नगरपालिकाले सिसी टिभी राख्ने योजना बनायो, सोही अनुसार का गरेका छौँ, अहिले लोकमार्ग छेउछाउका क्षेत्रहरुमा धमाधम घर भवनहरु बनि रहेका छन्, सँगसँगै बढ्दो बजारीकरणका कारण यहाँ धेरै घटनाहरु पनि हुने गरेका छन्, त्यस्ता घटनाहरु नियन्त्रण गर्न हामीहरुले बजार क्षेत्रमा र संभावित घटना हुने ठाउँमा सिसी क्यामरा जडा गरेका हौँ, आवश्यता अनुसार अन्य क्षेत्रमा पनि बिस्तारै जडान गर्ने योजना बनाएका छौँ ।”

नगरप्रमुख भरत शर्मा गैरेले बजारलाई व्यवस्थित गर्न सिसी क्यामराले ठूलो टेवा पु¥याउने बताउनुभयो । समय–समयमा बजार क्षेत्रमा गलत क्रियाकलाप हुने र नगरपालिकाले बनाएका नीति नियमलाई पालन नगरेको पाइएकोमा अब सिसी क्यामरामार्फत निगरानी गर्ने उहाँको भनाई छ । प्रमुख गैरेले बजारमा आँखा छलेर जथाभावी रुपमा सार्वजनिक स्थानमा फोहोर फ्याक्ने, सामाजिक संघ संस्था तोडफोड हुने गरेकोमा अब यस्ता घटना न्यूनिकरण हुने बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *