सहकारीका समस्या समाधान गर्न अभियानसंग सहकार्य गर्छौ : कावा नगरप्रमुख खड्का

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाका कार्यवाहक प्रमुख राजु खड्काले पछिल्लो समय बागलुङका सहकारीमा देखिएका समस्या समाधानका लागि अभियानसंग सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

सहकारीका समसामयिक विषयमा छलफल गर्न मंगलवार बिहान नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

सहकारीमा हाल देखिएको समस्या सहकारीका कारण मात्र आएको होइन, वित्तीय रुपमा विश्वमै परेको समस्याको असर सहकारी क्षेत्रमा पनि देखिएको हो, यस्ता समस्या समय समयमा आइरहन्छन्, कार्यवाहक नगर प्रमुख खड्काले भन्नुभयो,–‘समस्या आएपछि सरोकारवालाहरुबीच समन्वय र सहकार्य गर्दै संयमताका साथ अगाडि बढ्दा समस्या समाधान सहज हुन्छ ।’

सहकारीको समस्या समाधान गर्न सकिएन भने यसले अरु धेरै क्षेत्रमा प्रभाव पार्ने र वित्तीय बजारमा थप संकट उत्पन्न हुने भएकाले यसका सरोकारवालाहरु सबै सचेत भएर समस्या समाधानमा लाग्न उहाँले आव्हान गर्नु भयो ।


नगरपालिकाका तर्फबाट के कस्तो भूमिका निर्वाह गर्दा सहकारीलाई सहज रुपमा सञ्चालन गर्न सकिन्छ ? सुझाव दिन तथा समस्यामा सहकार्य गरेर अगाडि बढ्न उहाँले अभियानलाई आग्रह गर्नु भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले सहकारीहरुले सुशासनको पूर्ण पालना गरेर कारोबार गर्न तथा सहकारीमा समस्या आइसकेपछि सञ्चालकहरु जिम्मेवार बन्न, शेयर सदस्यहरुले संस्थामा परेको समस्यालाई बुझेर समस्या समाधानमा सहयोग गर्न तथा अन्य सरोकारवालाहरुले सहजीकरण गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

सहकारीहरुले गैर शेयर सदस्यसंग कारोबार नगर्न, गैर कार्यक्षेत्रमा नजान, सदस्यहरुबाट संकलन भएको रकम सही रुपमा सदस्यहरुमै लगानी गर्न, सहकारीका मूल्य मान्यता र सिद्धान्त विपरित कुनै पनि काम नगर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा अभियानका तर्फबाट जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक दिपक गौतम, जिल्ला सहकारी संघका सचिव तेजप्रसाद शर्मा, स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्मा, तरकारी तथा फलफूल सहकारी संघका अध्यक्ष अमृता थापा, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले सहकारीमा देखिएको समस्या, समाधानका लागि भैरहेका प्रयास र नगरपालिकाले गर्नु पर्ने सहजीकरणका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले नगरपालिकाका तर्फबाट सहकारीको अनुगमन तथा नियमनका लागि भएका कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *