बालविवाह न्यूनिकरण गर्न भर्ना फारममै प्रतिबद्धता

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको संख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनिकरण अभियान संचालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान संचालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, ९ र १० मा पढ्ने बालबालिकाले विवाह गरि रहेको पाइएको छ ।

बालविवाह बढ्दै गएपछि यहाँका विभिन्न विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ । वडा नम्बर २ स्थित जनजागृती माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित धन गौ ज्योती माध्यमिक विद्यालय, वडा नम्बर ५ स्थित शान्ति माध्यमिक विद्यालय लगायतले प्रतिबद्धता गराएर मात्रै विद्यार्थी भर्ना गरेका छन् । भर्ना गर्नु पूर्वनै अभिभावक र विद्यार्थीलाई भर्ना फारममा सही गर्न लगाएर प्रतिबद्ध नाइएको तमानखोला गाउँपालिका–३ स्थित धन गौ ज्याती माध्यमिक विद्यालयमा प्रधानाध्यापक रविन्द्र कुमार बढा मगरले बताउनुभयो ।

उहाँले पालिकाका अन्य विद्यालयमा पछिल्लो समय धेरै बालबालिकाले विवाह गरि रहेको हुँदा विद्यार्थी र अभिभावकलाई सचेत बनाउन भर्ना फारमको ढाँचानै परिवर्तन गरि भर्ना हुन आउनेलाई प्रतिबद्धता जहेर गर्न लगाइएको बताउनुभयो । बालविवाह सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएको हुँदा यस विद्यालयमा पहिलेको तुलनामा धेरै घटेको बुढा मगर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– “विगतमा धेरै बालबालिकाले विवाह गरे, अबदेखि कुनै पनि विद्यार्थीले बालविवाह नगरोस् र अभिभावकले आफ्ना नानी बाबुहरुलाई सचेत र सजग बनाउन् भन्ने हिसाबले यो शैक्षिक सत्रदेखि भर्ना गर्ने बेलामै अभिभावक र विद्यार्थीलाई सँगै राखेर सचेत बनाउने र प्रतिबद्धता व्यक्त गर्न लगायौँ, यसले बालविवाह रोकथाममा कही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”

तमानखोला गाउँपालिका–५ खुङ्खानी स्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३÷४ जोडी विद्यार्थीले बालविवाह गर्ने गरेका छन् । गत शैक्षिक सत्रमा मात्रै छ जना (तीन जोडी) बालबालिकाले विवाह गरेको विद्यालयमा प्रधानाध्यापक सत्यनारण सिंहले जानकारी दिनुभयो । उहाँले पटक–पटक अभिभावक र विद्यार्थीलाई बालविवाह बारेमा सचेत बनाए पनि कमी आउन नसकेको बताउनुभयो ।

“बालविवाह रोक्नका लागि धेरै प्रयास ग¥यौँ, गाउँपालिका पनि निकै लाग्यो, केही समय त रोकिन्छ तर पछि उस्तै अवस्था आइहाल्छ, अहिले पनि गर्दैछन् भन्ने सुनिएको छ,” प्रधानाध्यापक सिंहले भन्नुभयो– “जसले बालविवाह गर्छ, उसलाई कानुनी दायरामा ल्याउने विद्यालयले एउटा कार्य विधि बनाएको छ, गाउँपालिका, विद्यालय व्यवस्थापन समिति लगातसँग सहकार्य गरेर न्यूनिकरणमा लागेका छौँ ।”

उहाँले यहाँ सबैभन्दा बढी दलित समुदाय रहेको र विदेश जाने तथा अरुको लहलहैमा लागेर विवाह गर्ने प्रचलन रहेको बताउनुभयो । आर्थिक अवस्था कमजोर, पुरानो रीतिरिवाजका कारणले गर्दा बालविवाह रोग्न चूनौतिपूर्ण रहेको उहाँको भनाई छ ।

वडा नम्बर २ बोङ्गादोभान स्थित जनजागृती माध्यमिक विद्यालयमा गत वर्ष ६ जना बालबालिकाले विवाह गरेको प्रधानाध्यापक बेदबहादुर बुढा मगरले जानकारी दिनुभयो । उहाँले बालविवाह रोक्नका लागि अभिभावक र विद्यार्थी बीच समय–समयमा अन्तरक्रिया गर्ने, सचेत बनाउने र किशोरी शिक्षा दिने गरिएको बताउनुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बालविवाह अन्यत्य गर्नका लागि गाउँपालिकाले अभियान थाल्ने बताउनुभयो । अघिल्लो कार्यकालको सुरुमै बालविवाह न्यूनिकरणका लागि निर्वाध रुपमा लागेको हुँदा केही कम भए पनि अहिले फेरि समस्या आइरहेको बताउनुभयो । उहाँले गाउँ–गाउँ र विद्यालयमै पुगेर बालविवाहको बारेमा अभिभावक र बालबालिकालाई सचेत गराउने बताउनुभयो ।

अध्यक्ष बुढा मगर भन्नुहुन्छ– “भौगोविक विकटताका कारण अशिक्षा, गरिबी लगायका कारणले यहाँ बालविवाह हुने गरेको छ, पहिले–पहिले १५÷१६ वर्षमै विवाह गर्ने, चलन थियो, अहिले पनि त्यसैले निरन्तरता पाएको छ, यसलाई भंग गर्नका लागि हामीहरुले केही कसरत गरेका छौँ, तत्कालै नभए पनि केही समयमा बालविवाहको अन्त्य हुनेमा हामीहरु आशावादी छौँ, शिक्षाको पहुँचमा नभएका बालबालिका र अभिभावकलाई बुझाउने काम पनि भएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *