भकुण्डेका पाँचभाईको तित्याङमा सुन्तला खेति


खेमराज गौतम, बागलुङ


बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीको एक पाटोमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्ष यता सुन्तला बगैचाका रुपमा परिणत भएको छ ।

कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेति गर्नका लागि भकुण्डेका पाँचभाईले खेत मासेर सुन्तला खेति थालेका हुन् ।
बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका पाँच दाजुभईहरुले १८ रोपनी जग्गामा ५०० सुन्तलाका विरुवा लगाउनुभएको छ । विरुवाले आगमी वर्षदेखि उत्पादन दिन थाल्ने छन् ।

३५ वर्ष शिक्षक पेशा अगाल्नुभएका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो ६ रोपनी जग्गामा २०० सुन्तलाका विरुवा लगाउनुभएको छ भने अन्य चारभाईले १२ रोपनी जग्गामा २५० भन्दा बढी सुन्तलाका विरुवा लगाउनुभएको छ ।

भकुण्डे घर र खेत तित्याङ भएकाले धान उत्पादन लागत बढेको र मकै र गहुँ नछर्दा ६ महिना बाँझो छोड्नु पर्ने अवस्थामा रहेको खेत अहिले सुन्तलाका विरुवाले हरीयाली बनेको रेशमलाल शर्माले जानकारी दिनुभयो ।

“हामी पाँच भाईहरुको एउटै पाटो खेत थियो, अहिले उक्त खेत सुन्तला बगैचामा परिणत भएको छ, आगमी वर्षदेखि उत्पादन देला, पाँच भाईको सल्लाहमा एउटै बगैचाको रुपमा विस्तार गर्न सुन्तला लगाएका हौं” शर्माले भन्नुभयो “धान खेती भन्दा सुन्तलाबाट दोब्बर आम्दानी गर्न सकिने हाम्रो निश्र्कष छ ।”

रेशमलाल शर्मा सहित, ताराप्रसाद शर्मा, लक्ष्मण शर्मा, केशव शर्मा र दामोदर शर्माले धान खेति भन्दा सुन्तला खेतिबाट राम्रो आम्दानी गर्न सकिने भन्दै १८ रोपनी जग्गामा तीन वर्ष अघि सुन्तला खेति थाल्नुभएको छ ।

उक्त सुन्तला बगैचा जिल्लाकै ठूलो बगैचाका रुपमा बनाउनेगरी एकिकृत ढंगले सुन्तला खेति थालिएको हो । रेशमलाल शर्माले भने अझै १०० विरुवा थप्ने लक्ष्य राख्नुभएको छ ।

धान, मकै र गहुँ गरी तीनबाली हुने खेतमा भकुण्डेबाट आएर तीन खेती गर्न संभावना नदेखिएको र धान खेती मात्रै गर्दा २५ देखि ३० मुरी धानले खनजोत र खेतालाको रकम समेत नउठ्ने भएकाले सुन्ताला खेतिमा लागिएको अर्का भाई केशव शर्माले बताउनुभयो ।
“धान खेतिमा भन्दा सुन्तलामा राम्रो आम्दानी हुन्छ भन्ने हाम्रो सल्लाह भयो, अहिले सबै बगैचामा पाँच लाख लगानी भइसकेको छ, सिगानाका उन्नत जातका विरुवा मापदण्ड अनुसार खाडल खनेर लगाइएको हो” केशव शर्माले भन्नुभयो “बागलुङ बजारबाट नजिकै रहेको तित्याङमा नमूना सुन्तला बगैचा बनाएर कृषकहरुका लागि अध्ययन अवलोकनको केन्द्र समेत बनाइने लक्ष्य हो ।”

एक÷एक मिटर लम्बाई र गहिराईमा खनिएको खाडलमा गोबर मले हालेर पाँच मिटरको फरकमा सुन्तलाका विरुवा लगाइएको हो ।

शुरुमा सुन्तला खेतिलाई बढी मेहनत गर्न आवश्यक रहेपनि विरुवा हुर्किएपछि समस्या नहुँने शर्माको भनाई छ । सुन्तला फर्ममा एकजनालाई रोजगारी दिनेगरी पाँच भाईबीच सल्लाह भइरहेको छ ।

एकिकृतरुपमा सुन्तला खेति गर्दा सुरक्षा, सिंचाई तथा मल जलमा सहज हुनेछ ।
१८ रोपनी जग्गामा फैलिएको सुन्तला बगैचाको आरम्भ एकिकृत कृषि फर्मको नामाकरण गरेर दर्ता गरिएको छ । उक्त सुन्तला बगैचालाई तारबारका गर्न आवश्यक रहेको सुन्ताला किसानहरुको भनाई छ । सुन्तला किसानको बगैचा व्यवस्थापन तथा औषधी उपकरणमा अनुदान दिन सकिने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *