शहिदको सम्मानमा धिमीमा पार्क निर्माण गरिदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले–१ स्थित धिमी खानसिङमा शहिद पार्क निर्माण गर्न थालेको छ । गाउँपालिकाले सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरुको सम्मानका लागि शहिद पार्क निर्माण गर्न थालेको हो । सहिदपार्कसँगै वडा कार्यालयले चौतारा निर्माण गरि रहेको छ । शहिद स्मृति पार्क संरक्षणक केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आन जग्गामा अहिले पार्क निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरि पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण हुने भएको हो ।

पार्कमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनु भएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्क बहादुर थापा र चाँदनी थापाको शालिक राखिने छ । बागलुङ बजार नजिकै रहेको यस ठाउँ पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । सहिद पार्कले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको भनाई छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँले जग्गा सम्माउने र पदमार्ग निर्माणको काम भइरहेको काठेखोला गाउँपालिका–१ का अध्यक्ष खडक थापा मगरले जानकारी दिनुभयो ।

गाउँपालिकाले पहिलो कार्यकालमा ३० लाख रुपैयाँको लागतमा चौतारा लगायतका विभिन्न संरचना बनाएको छ । पार्क राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै निर्माण भइरहेको हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने अध्यक्ष थापा बताउनुहुन्छ । पार्कलाई व्यवस्थित र आकर्षक बनाउनका लागि गाउँपालिकाले निरन्तर बजेट विनयोजन गर्दै आएको उहाँको भनाई छ ।

“अहिले निर्माण गर्न लागेको पार्क विशेष खालको हो, यहाँ पार्क मात्रै बन्न लागेको होइन, एउटा पहिचान, इतिहास र सम्मान पनि जोडिएको हुने छ, राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनु भएका यही ठाउँका शहिदहरुको सालिकहरु पनि राखिने छ” वडा अध्यक्ष थापा मगरले भन्नुभयो– “खास गरी उहाँहरुको सम्मानसँगै पर्यटन प्रवद्र्धनका लागि हामीहरुले यहाँ पार्क निर्माण गर्न थालेका हौँ, अझै थप जग्गा व्यवस्थापन गर्नु पर्ने छ, तर कामको सुरुवात भनेर भइरहेको छ, केही समयमै पार्कले पूर्णता पाउने छ ।”

अध्यक्ष थापा मगरले यो पार्क ग्रामीण क्षेत्रकै उत्कृष बन्ने बताउनुहुन्छ । पार्कले गाउँको सुन्दरतालाई बढाउनुका साथै पर्यटक आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । पार्कसँगै फुलबारी, पदमार्ग, मन्दिर र पोखरी निर्माण गर्ने योजना रहेको अध्यक्ष थापा मगरले बताउनुभयो । पार्कै नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धि अभिलेख राख्ने यस यस ठाउँलाई अध्ययन अवलोनक गर्ने गन्तव्यका रुपमा विकास गर्ने उहाँ बताउनुहुन्छ । यहाँ बन्ने संरचनाका लागि करिब नौ करोडको रुपैयाँ लाग्ने उहाँको भनाई छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पार्क शहिदको स्मृतिमा निर्माण गर्न थालेको बताउनुभयो । काठेखोला–१ लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पार्कले ठूलो टेवा पु¥याउने भन्दै यसले बसाइँसराइलाई पनि रोक्न मद्दत पुग्ने बताउनुहुन्छ । पार्कलाई पूर्णता दिन गाउँपालिकाले वर्षेनी बजेट विनियोजन गर्दै आएको भन्दै यस वर्ष पनि प्राथमिकतामा राखेर काम गरेको सुनाउनुभयो ।

अध्यक्ष थापा भन्नुहुन्छ– “पार्क निर्माणपछि गाउँमा पर्यटकको चहलपहल हुनेछ, अहिल दिनदिनै गाउँ छोड्नै बजार झर्नेको लर्को लागेको छ, यसले त्यसलाई रोक्न ठूलो भूमिका खेल्ने छ भने अर्को कुरा पार्क वरपर राम्रो व्यवसाय संचालन हुनेल छ, त्यसले स्थानीयको आयआर्जनमा टेवा पुग्नु अपेक्षा लिएका छौँ, पार्कलाई केही समयमै सम्पन्न गर्न पालिका र अन्य सरकारसँग समन्वय गरि काम गर्ने छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *