सोलेडाँडामा पर्यटन संवाद

आदर्श अनलाइन, बागलुङ
पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको यहाँको सोलेडाँडालाई प्रर्बद्धन गर्न थालिएको छ । हाँको तमानखोला गाउँपालिकाले सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रर्बद्धनात्मक कार्यक्रम थालेको हो । वरपर घना जङ्गलको बीचमा रहेको दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको पूर्वाधार विकासमा लगानी गर्दै आएको यहाँको तमानखोला गाउँपालिकाले प्रचार प्रसारको काम समेत गर्न थालेको छ ।

No description available.

सोलेडाँडामा सडक सहित अन्य पूर्वाधार निर्माण गरेको गाउँपालिकाले प्रचार प्रसारका लागि मंगलबार सोलेडाँडा पुगेरै पर्यटन बहस गरेको हो । पर्यटनको विकासका विषयमा होटल तथा सभाहलमा मात्रै बहस भइरहेको सन्दर्भमा तमानखोला गाउँपालिकाले सोलेडाँडँमै पुगेर पर्यटनका विषयमा छलफल र प्रर्बद्धन गरेको हो । गाउँपालिकाले पर्यटनको विकास तथा प्रचार प्रसारका लागि सोलेडाँडामै पुगेर पर्यटन बहस गरेपछि यहाँका स्थानयहरु समेत उत्साहित बनेका छन् ।

पर्यटनको विकासका लागि पूर्वाधार विकास संगै प्रचार प्रसारको काम समेत गर्न आवश्यक रहेको भन्दै सोलेडाँडामा जनप्रतिनिधि, पत्रकार, पर्यटन व्यवसायी र स्थानीयहरुको उपस्थितिमा मंगलबार तमानखोलाको पर्यटन संभावना, चुनौती र विषयक संवाद गरिएको हो ।

No description available.

सोलेडाँडामा आयोजित पर्यटन संवादमा यहाँका स्थानीयहरुले सोलेडाँडा पुग्ने सडक सहज बनाउनु पर्ने, पर्यटकहरुलाई आवासको व्यवस्थापन मिलाउनु पर्ने र सोलेडाँडाको महत्वलाई विश्वसामु पु¥याउनुपर्नेमा गाउँपालिकालाई सुझाव व्यक्त गरेका थिए ।

पर्यटन बहसमा स्थानीय उदिम छन्त्यालले तमानखोलाका पर्यटकीय गन्तव्य अवलोकनका लागि आउने पर्यटकहरुका लागि घरबास स्थापना गर्नुपर्ने बताउनुभयो । “गाउँपालिकाले पूर्वाधारमा लगानी गरेको छ, तर त्यहाँ पुग्ने सहज सडक छैन, सडक कम्तिमा ग्राभेल बनाउने, सोलेडाँडामा अतिथि आवास बनाउने तर्फ ध्यान दिन आवश्यक छ” छन्त्यालले भन्नुभयो “यहाँको पर्यटन संभावनाका विषयमा नागरिकस्तरमा उजागर गर्नुपर्दछ, पूर्वाधार संगै प्रचार–प्रसार आवश्यक छ ।”

No description available.

सोलेडाँडामा आयोजना गरेको पर्यटन बहसमा पत्रकार संघम धर्तीले तमानखोला गाउँपालिकाको पर्यटन संभावना, चुनौती र अवसरको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले तमानखोलामा सोलेडाँडा, बराह ताल, नौ डल्ले पहाड, ढोमैथान लगायतका स्थान अत्यन्तै पर्यटकीय संभावना रहेको बताउनुभयो ।

बागलुङको तमानखोला गाउँपालिका–४ र म्याग्दीको मालिका गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडा लोभलाग्दो पर्यटकीय स्थल भएपनि प्रचार प्रसार र पूर्वाधारको अभावमा पर्यटकहरुको आगमन सोचेजस्तो बढाउन नसकिएको स्थानीय नर कुमार गोतामेको भनाई छ ।

No description available.

सोलेडाँडामा शहिद स्मृति पार्क, सत्तल, शौचालय र खानेपानी लगायतको पूर्वाधारमा २० लाख बजेट खर्च भइसकेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । सोलेडाँडाबाट प्राकृतिक दृश्याअवलोकन, हिमश्रङ्खला, सूर्योदय र चैत वैशाखमा लागिगुराँसको वन हेर्न यहाँ पर्यटकहरु पुग्ने गरेका छन् ।

“चैत र वैशाखमा लालीगुँरास फुल्दा र हिउँदमा सोलेडाँडालार्ई हिउँले छपक्कै छोप्दा सोलेडाँडाको आर्कषक थप हुन्छ, पालिकाले २० लाख लगानीमा केही पूर्वाधार निर्माण गरेको छ, अब खाँचो स्तरीय सडक र प्रचार प्रसारको हो ।”

यहाँबाट बागलुङ र म्याग्दीका दर्जन गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ्रे, मानापाथीलगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएको भएपनि खान तथा बस्नको सुविधा नभएको स्थानीय बताउँछन् ।

गाउँपालिकाले सहिदको सम्मानका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसँगै सहिदको सालिक समेत निर्माण गरेको छ । प्रचुर संभावना भएर समेत ओझेलमा परेको सोलेडाँडामा पालिकाको लगानीमा पूर्वाधार निर्माणसंगै चर्चामा आउन थालेको हो ।

लेखन नेपाल मिडिया प्रालिको संयोजनमा भएको पर्यटन बहस कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, तमानखोला गाउँपालिका—४ का अध्यक्ष छ प्रसाद सिर्पालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमानखोला—५ का वडाध्यक्ष हिराबहादुर विक, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, नेकपा माओवादी केन्द्रका प्रेम रोका, तमानखोला गाउँपालिका—४ का पूर्वअध्यक्ष उदिम छन्त्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको हो ।
कार्यक्रमबारे नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गर्नुभएको थियो । तमानखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रा.लि.को संयोजनमा भएको कार्यक्रममा स्वागत तमानखोला—२ का वडाध्यक्ष नारायण सुनार र सञ्चालन पत्रकार डम्मर बुढा मगरले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *