शालग्राम दर्शन गर्ने पर्यटक बढे


खेमराज गौतम, बागलुङ

एकै पटक सवालाख शालग्रामको दर्शन गर्न पाइने भएपछि यहाँको शालग्राम संग्रहालयमा धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।

विश्वमै दुर्लभ मानिएको शालग्राम शिलाको संरक्षण र प्रचार प्रसारका कारण बागलुङ नगरपालिका–४ कुडुँले स्थित शालग्राम संग्रहालयमा धार्मिक पर्यटकहरु आउने क्रम बढ्दै गएको छ । चैत महिना देखि अध्ययन अवलोकन भ्रमणका लागि शालग्राम संग्रहालयमा आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

तीन वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको भूमिगत शालग्राम संग्रहालयले शालग्रामको संरक्षणका लागि उल्लेखनीय काम गरेको स्थानीयहरुले बताएका छन् ।

मुस्ताङको मुक्तिनाथ देखि म्याग्दी, बागलुङ र पर्वत भएर वहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाईने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजी धाममा श्रीधराचार्य शालग्राम संग्रहालय निर्माण पछि शालग्राम दर्शनका लागि आउने धार्मिक पर्यटकको संख्यमा वृद्धि भएको संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो ।

“हिन्दुधर्मालम्बीहरुका लागि कालो रंगको बाटुलो शिला (ढुंगा) शालग्राम अति पूजनीय मानिन्छ, यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ, बैष्णवहरु र सनातनीहरुले शालिग्रामलाई साक्षात बिष्णुको अवतारका रुपमा लिन्छन्” प्रपन्नचार्यले भन्नुभयो “लोप हुँदै गएको शालग्रामलाई वर्षौदेखि संग्रह गरी संग्रहालयमा राखेका छौं, अहिले शालग्राम संग्रहालयको व्यापक प्रचार प्रसारका कारण शालग्राम दर्शनका लागि भारत सहित नेपालका विभिन्न स्थानबाट यहाँ आउनेको संख्या बढेको छ ।”

चैत यता विभिन्न विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धर्मलम्बीहरु अवलोकन भ्रमणका लागि उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले औषतमा दैनिक सय देखि २०० को हाराहारीमा पर्यटकहरु गुफा भित्रको शालग्राम दर्शनका लागि आएको अध्यक्ष प्रपन्नचार्यले बताउनुभयो ।

शालग्रामको महिमा बढाउनका लागि संग्रहालयले शालग्रम महोत्सव गर्ने, शालग्राम सम्बन्धी प्रवचन गर्ने र शालग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीहरुको संख्यामा वृद्धि भएको हो ।

शालग्रामको महिमा बढाउन र प्रचार प्रसार गर्न हालै मात्रै शालग्राम महोत्सव सम्पन्न गरिएको छ । पछिल्लो समय शालग्राम दर्शनका लागि आउनेको संख्यमा उल्लेख्य वृद्धि भएको स्थानीय राम प्रसाद शर्माले जानकारी दिनुभयो ।

“शुरुमा शुरुङ भित्र शालग्राम संग्रहालय भन्दा धेरै मानिसहरु झुक्किने गर्दथे, तर अहिले शालग्राम गुफा कहाँ हो भन्दै खौज्दै आउनेहरु बढे, चैत यता त अध्ययन तथा अवलोकन भ्रमणको ओइरोनै लागेको छ” शर्माले भन्नुभयो “शालग्राम दर्शनका लागि शुरुङमार्ग प्रवेश गर्न रु. एक सयको टिकट काट्ने व्यवस्था मिलाउदा संग्रहालयको आम्दानीको स्रोत समेत बढेको छ, मुक्तिनाथ पुगेका भारतीय पर्यटकहरु समेत शालग्राम दर्शनका लागि बागलुङको बाटो भएर आउ जाउ गर्न थालेको पाइएको छ, संग्रहालयका कारण कुडुँलेमा व्यापार तथा व्यवसाय समेत फष्टाएको छ ।”

हिन्दु धर्मालम्वीहरुले शालग्रामको पूजा आरधना गर्न गर्ने गरेपनि बर्तमान समयमा भने शालग्राम शिलाको शंरक्षण अभावमा हराउदै गएको अवस्थामा बागलुङमा संग्रह गरि राखिएको हो ।

शंग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि संग्रहालय अहिले बाघको मुख भित्र रहेको छ । बागलुङ जिल्लाको पहिचान संग जोडिएको बाघको मुखको आकृति निर्माण संगै संग्रहालयको महिमा झनै चुलिएर गएको छ ।

भारतीय पर्यटकहरु शालग्राम दर्शनका लागि पछिल्लो समय यहाँ आउने गरेको पाइएको छ । मुक्तिनाथ दर्शनकालागि पुगेका दर्थनार्थीहरुले यहाँको सवालाख शालग्राम दर्शन गरेपछि मात्रै आफूलाई मुक्ति प्राप्त भएको प्रतिकृया दिदै आएका छन् ।

भगवना शिवको प्रिय अस्त्रका रुपमा मानिने त्रिशुल आकारमा भू–गर्भ भित्र ७६ मिटर लामो शुरुङ निर्माण गरि व्यवस्थीतरुपमा शालग्राम संग्रहालय, त्रिवेणी धाम देखी दामोदर कुण्ड सम्मको नक्सा, विभिन्न मठ मन्दिरका आकृतिहरु, वृतचित्र प्रदर्शनी कक्ष लगायतका संरचना अवलकोकन गर्न सकिन्छ । संग्रहालयमा सासाना सालग्राम देखि ३ सय केजीको सम्मको शालग्राम संग्रहीत छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *