बागलुङको थास्पुरी गाउँमा हट्यो खानेपानीको समस्या

डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिका–५ थास्पुरी गाउँ अग्लो पहाडको बीचमा छ । प्रसस्त खेतीयोग्य जमिनले भरिएको यस गाउँमा वर्षौदेखि खानेपानीको समस्या छ । स्थानीयले घण्टौँ लगाएर एक गाग्री पानी भरेर उपभोग गर्दै आएका छन् । विद्यालय र मासुदायिक स्वास्थ्य परामर्श केन्द्रमा पनि खानेपानीको समस्या उस्तै छ । खानेपानीको समस्या समाधानका लागि अहिले गाउँका घर–घरमा धारा निर्माण भइसकेको छन् । गाउँका तीन ठाउँमा हजारौँ लिटर पानी अटाउने ट्याङकीसमेत निर्माण भइसकेका छन् ।

घर–घरमा बनेका धारामा यही वैशाखको अन्तिम सातासम्म पानी झार्ने योजना छ । घरै पिच्छे धारा बनेपछि स्थानीय दंग परेका छन् । तमानखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सहलगानीमा यहाँ खानेपानी आयोजना संचालन भइरहेको छ । गाउँपालिकाको १७ लाख ४६ हजार र नेवाको ३८ लाख गरि ५५ लाख ४६ हजार रुपैयाँ लागतमा काम थालिएको थियो । वि.सं. २०७९ पौष १६ गतेदेखि सुरु भएको योजना अहिलेसम्म ९० प्रतिशत काम सकिएको सव इन्जिपनयर भीम नेपालीले जानकारी दिनुभयो ।

थास्पुरी खानेपानी तथा सरसफाइ आयोजनाको काम यही महिनामै सकिने भन्दै बेमौसमी वर्षाले गर्दा अवरोध पु¥याइ रहेको उहाँको भनाई छ । खानेपानी आयोजनाको पाइलाइन, धारा र ट्याङ्की निर्माणको कार्य सकिएको भन्दै अब मिटर जडान गर्न बाँकी रहेको नेपालीले बताउनुभयो । थास्पुरी गाउँमा तीन किलोमिटर टाढा रहेको सेपुबारी मुहानबाट पाइपलाइनमार्फत पानी ल्याउन थालिएको हो ।

सव इन्जिनियर नेपाली भन्नुहुन्छ– “धेरै काम सम्पन्न भइसकेको छ, अब केही प्राबिधिक काम मात्रै बाँकी छ, त्यो काम पनि छिट्टै सकेर स्थानीयका घरका धारामा पानी ल्याउने तयारी गरेका छौँ, धेरै दिन भयो पानी परेको, अहिलेसम्म रोकिएको छैन, पानी रोकिदा साथ काम सकेर पानी ल्याउँछौँ, धारा बनेपछि स्थानीय धेरै उत्साहित बन्नु भएको छ, अब उहाँहरुको वर्षौँदेखिको समस्या समाधान हुन्छ ।”

अहिले गाउँका ८२ घरमा ८२ धारा, प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, विद्यालय र आमा समूहको भवनमा एक/एक गरि ८५ धारा निर्माण भएका छन् । स्थानीय झउमती सुन्चौरीले गाउँमा खानेपानीको समस्या हुन थालेको वर्षौँ भएको भन्दै अब सहज हुने बताउनुहुन्छ । अहिलेसम्म गाउँलेले एक घण्टाको दूरीमा रहेको ठूलाचौरदेखि पानी बोकेर उपभोग गर्दै आएको सुन्चौरीको भनाइ छ । उहाँले खानेपानीको हाहाकार हुँदा कुवा र पोखरीको पानी कपडाले छानेरसमेत उपभोग गरेको बताउनुभयो ।

“यो गाउँमा खानेपानीको अभाव भएको धेरै वर्ष भयो, पहिले १/२ घण्टाको बाटो हिँडेर पानी ल्याएर खायौँ, पछि गाउँमा केही धारा बने, एउटा धाराबाट १५/२० घरले पानी भर्नु पथ्र्यो,” सुन्चौरीले भन्नुभयो – “अब त सजिलो हुने भयो, घरकै आँगनमा धारो बन्यो, हामीहरुले सोचेका पनि थिएनौँ, घर–घरमा धारो बन्ला भन्ने, दुर्गममा छौँ, सरकारले हाम्रो समस्या बुझेछ, खानेपानीको समस्या हुँदा गाउँबाट धेरै मान्छे बजार तिर बसाइँ पनि सरे ।”

थास्पुरी खानेपानी तथा सरसफाइ आयोजनाका सचिव जयप्रकाश सुन्चौरीले वैशाखमै यहाँका स्थानीयले यस आयोजनाको पानी उपभोग गर्न पाउने बताउनुभयो । खानेपानीको समस्या हुँदा सरसफाइमा बढी समस्या भएको बताउनुहुन्छ । गाउँमा थुप्रै खेतीयोग्यो जमिन भए पनि पानीको अभावले गर्दा तरकारी र खाद्यबाली उत्पादनमा पछाडि पर्नु परेको उहाँको भनाइ छ ।

सचिव सुन्चौरी भन्नुहुन्छ– “यस गाउँका सयौँ नागरिक धेरै वर्षदेखि खानेपानीको अभावमा छन्, अब करिब–करिब हामीहरुको समस्या समाधान हुनै लागि सक्यो, खानेपानीको माग गरेको धेरै वर्षपछि अहिले बल्ल यस गाउँका मान्छेहरुको समस्याको सुनुवाई भयो, दिसामुक्त गाउँ घोषणा भएको धेरै वर्ष भए पनि पानीको समस्या हुँदा प्रभावकारी हुन सकेको थिएन ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले थास्पुरीसँग पालिकाका धेरै गाउँमा खानेपानीको समस्या समाधान हुन थालेको बताउनुभयो । उहाँले आफूहरु निर्वाचित भएर आएदेखि जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । यहाँको नागरिकको मुख्य समस्या खानेपानी भएको हुँदा अघिल्लो कार्यकालदेखि नै समाधान गर्ने तर्फ आफूहरु लागेको भन्दै अहिले बल्ल पूरा हुन थालेको अध्यक्ष बुढा मगरको भनाइ छ ।

“तमानखोलाका अधिकांश गाउँमा अहिले खानेपानीको सहज पहुँच पुगेको छ, केही वडामा गाउँपालिकाको लगानीमा त केही गाउँमा विभिन्न संघ संस्थासँग सहकार्य गरेर खानेपानी आयोजना सम्पन्न भएका छन्” अध्यक्ष बुढा मगरले भन्नुभयो– “अहिले पनि वडा नम्बर २ मा पनि नेवासँग सहकार्य गरेर काम गरि रहेका छौँ, अब तमानखोलामा खानेपानीको समस्या छैन, मर्मत, सम्भार र अन्य काम भने निरन्तर हुने छ, पहिलो कार्यकालमा वडा नम्बर ६ को नर्जाखानी, भित्रीवन र पात्ले गाउँमा एक घर एक धारा निर्माण गरेका छौँ, अहिले त्यहाँ समस्या छैन ।”

उहाँले खानेपानीसँगै स्वास्थ्य र शिक्षालाई पनि प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । नागरिकको सहजताका लागि बस्ती बस्तीमा स्वास्थ्य संस्था स्थापना गरेर सेवा प्रदान गरेको अध्यक्ष बुढा मगरको भनाई छ । पछिल्लो समय तमानखोलाका शैक्षिक संस्थाहरु भौतिक पूर्वाधारमा अब्बल बन्दै गएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *