अब थास्पुरीका स्थानीय सिटामोलका लागि घण्टौँ धाउनु पर्दैन

डम्मर बुढा मगर, बागलुङ
“गाउँमा ढुङ्गा, माटो र काठमुडामा काम गर्नु पर्छ, काम गर्दा कहिले हात काट्छ, कहिले खुट्टा काट्छ, उपचार गर्ने ठाउँ नहुँदा निकै दुःख पाएका थियौँ, अहिले त चोटपटक लाग्दा बित्तिकै गाउँमै उपचार गराउन पाएका छौँ ।” बागलुङको तमानखोला गाउँपालिका–५ थास्पुरी गाउँका ६५ वर्षीय ओमबहादुर गोतामे गाउँमै सामान्य स्वास्थ्य उपचार पाउन थालेपछि दंग हुनुहुन्छ । भौगोलिक विकटताका कारण पछाडि परेको थास्पुरीमा तमानखोला गाउँपालिकाले दुई वर्ष अगाडि प्राथमिक स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरि सेवा सुरु गरेको छ ।

स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापनापछि यहाँका सयौँ नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन पाएका छन् । उपचार केन्द्र स्थापना हुनु पूर्व गाउँमा कोही बिरामी प¥यो भने तीन घण्टा बढीको यात्रा गरि खुङ्खानी स्वास्थ्य केन्द्रमा पुग्नु पर्ने बाध्यता थियो । गाउँपालिकाले अहिले थास्पुरीसहित स्वास्थ्य संस्थाभन्दा टाढा रहेका गाउँहरुमा सामुदायिक स्वास्थ्य इकाइ, स्वास्थ्य परामर्श केन्द्र तथा प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरु स्थापना गरि संचालनमा ल्याएको छ । नयाँ स्वास्थ्य संस्था स्थापना गर्नुभन्दा पहिले तमानखोला गाउँपालिका भरी तीन वटा स्वास्थ्य चौकीमा मात्रै रहेका थिए ।

पालिका सानो भए पनि भौगोलिक बनावट अप्यारो किसिमको हुँदा एउटै वटाको गाउँ तथा बस्तीहरुमा पुग्न पनि एक दिन भरी लाग्छ । छरिएर रहेका बस्तीका कारण पहिले सबै नागरिकमा सहज स्वास्थ्य सेवा पुगेको थिएन । तर अहिले आधा घण्टाको दुरीमा स्थापना भएका स्वास्थ्य संस्थाले नागरिकलाई सहज बनाएको छ । थास्पुरी र खुङ्खानी एउटै वटामा पर्ने भएन पनि एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । दलित समुदायको मात्रै बसोबास रहेको थास्पुरीमा स्थापित स्वास्थ्य संस्थाले गाउँले मुख्य समस्या समाधान भएको ओमबहादुरको भनाई छ ।

उहाँ भन्नुहुन्छ– “हाम्रो आधा उमेर उपचार गर्न नपाएरै बित्यो, अहिले त गाउँमै उपचार गर्ने सुविधा छ, पहिले गाउँमा कोही बिरामी भयो भने ढोकोमा बोकेर दिनभरी लगाएर अस्पताल पु¥याउनु पथ्र्यो, धेरैको ज्यान त बच्यो तर दुःख साह्रै भयो, पोहोर सालदेखि गाउँमा सानो सानो उपचार हुन्छ, यसले पनि हामी दुर्गम गाउँका मान्छेलाई सजिलो बनायो, सरकारले गरिब दुःखी जनताको समस्या देख्न र सुन्न थालेको आभाष भएको छ ।”

गाउँमा प्राथमिक स्वास्थ उपचार तथा परामर्श केन्द्र स्थापना नहुँदा यहाँका बिरामी खुङखानी, बोङगादोबान र बुर्तिबाङ जानु पर्ने बाध्यता थियोे । स्वास्थ्य परामर्श केन्द्र स्थापनापछि बालबालिका र वृद्धवृद्धालाई बढी सहज भएको स्थानीय झाउमती सुन्चौरीले बताउनुभयो । सुन्चौरीले आफूले छोराछोरीलाई स्वास्थ्य संस्थाटाढा हुँदा विभिन्न रोग विरुद्धका खोपहरु लगाउन नपाएको सुनाउनुभयो ।

“अहिले त गर्भवती महिलाहरु समय–समयमा गर्भ जाँच गराउँ छन्, बच्चाको अवस्था थाहा पाउँछन्, टाढा जान पर्दैन, हाम्रो पालामा त खोप भनेको के हो भन्ने पनि थाहा थिएन” सुन्चौरीले भन्नुभयो – “केटाकेटीलाई ज्वरो गाउँ, पखला लाग्दा गाउँकै जडिबुटी कुटेर खुवाउँथ्यौँ, लामो समयसम्म निको नभएपछि बल्ल अस्पतालमा लैजाने गथ्र्यौँ ।”

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाख रुपैयाँमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको थियो । अहिले एक जना अनमी राखेर सेवा दिई राखेको छ । स्थानीयलाई घर–घरमा पुगेर स्वास्थ्य सरसफाइ तथा स्वास्थ्य शिक्षाको बारेमा परामर्श दिने, निरन्तर गर्भपतन जाँच गर्ने पोषण लगायतका बारेमा जानकारी दिने कार्य भएको यहाँ कार्यरत बिमला परियारले बताउनु भयो । पहिले सिकिस्त बिरामी पर्दा पनि अस्पताल नजाने स्थानीय अहिले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ सेवा लिन आउने गरेको परियाको भनाई छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नागरिकको सहजताका लागि गाउँ–गाउँमा स्वास्थ्य संस्थाहरु संचालनमा ल्याएका बताउनुभयो । उहाँले कोही पनि नागरिक सामान्य स्वास्थ्य सेवा लिनका लागि आधा घण्टाभन्दा बढी हिड्नु नपर्ने गरि व्यवस्थापन गरेको बताउनुभयो । अध्यक्ष बुढा मगरका अनुसार गाउँपालिकाले वडा नम्बर ६ वडाको नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ भने वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको छ ।

गाउँपालिका हुनुभन्दा पहिले वडा नम्बर १ को बोङ्गादोभान, वडा नम्बर ३ को तमान र वडा नम्बर ५ को खुङ्खानीमा मात्रै स्वास्थ्य चौकी थियो । पालिकाले सामुदायिक स्वास्थ्य इकाई र प्राथमिक स्वास्थ्य इकाई स्थापना नगर्दासम्म तमानखोलावासीले यी तीन वटा स्वास्थ्य चौकीबाट मात्रै सेवा लिनु पर्ने अवस्था थियो ।

पालिकाद्वारा एम्बुलेन्स संचालन
गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ मा एम्बुुलेन्स सेवा संचालन गर्ने योजना अनुसार यस वर्ष विभिन्न प्रक्रियाहरु पूरा गरेर संचालनमा ल्याएको अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो । उहाँले तमानखोलावासीलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याएको बताउनुभयो ।

१९ लाख लागत रुपैयाँको लागतमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उहाँको भनाइ छ । गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै स्वास्थ्य गाउँ–गाउँमा संस्था स्थापनापछि एम्बुलेन्स संचालनमा ल्याएको बताउनुभयो । उहाँले अघिल्लो कार्यकालमा नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्थाहरु स्थापना गर्ने र एम्बुलेन्स संचालन गर्ने योजना बनाए अनुसार अहिले गाउँपालिकाले एम्बुलेन्स ल्याएको बताउनुहुन्छ ।

“कोही पनि नागरिक स्वास्थ्य उपचार गराउन नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भनि हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र छ, नागरिकको जीवन रक्षा गर्नु हाम्रो दायित्वहो, सोही अनुसार हामीले अघिल्लो कार्यकालमा गाउँपालिकाको विभिन्न वडाहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरेर संचालनमा ल्यायौँ, गत वर्ष एम्बुलेन्स संचालन गर्ने निर्णय गरेका थियौँ, सोही अनुसार अहिले पालिकामा एम्बुलेन्स आएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *