पर्यटक तान्दै ‘बराह ताल’

डम्मर बुढा मगर, बागलुङ
वरपर जंगल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरीपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाईमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदै आन्तरिक पर्यटको रोजाईमा परेको छ । दिनप्रति दिन यहाँ घुम्न पुग्नेको संख्या बढि रहेको छ ।

गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन् । ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ । बागलुङ बजारदेखि गाडीमा आधा घण्टा र पैदल यात्रा मार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ । तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ । गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ ।

ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ । पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको स्थानीय सोमबहादुर थापा मगरले बताउनुभयो । उहाँका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भिडभाड हुने गरेको छ । बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापा मगर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “बराह ताल पहिले अलि फरक दियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छेहरु बढेर होला यहाँ आउनेको संख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ ।”

बराह तालको गहिराई अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापा मगरको भनाई छ । पछ्रिल्लो समय फोटो, भिडियो दिच्ने र सामाजिक सञ्जालमा पोस्टाउने गर्दा प्रचारप्रसामा व्यापक बनेको थापा मगरले बताउनुभयो । बराह तालमा हरेक जेठको पूर्णमा र कार्तिक पूर्णमामा ठूलो मेला लाग्ने गर्छ । मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित, पर्वत, म्याग्दी, कास्की लगायतका ठाउँबाट पर्यटकहरु घुम्न आउने गर्छन् ।

बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तालको प्रचारप्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापा मगरले बताउनुभयो । उहाँले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेकोको हुँदा बिदाका दिन विभिन्न संघ संस्था, विद्यार्थी, व्यापारीहरु रमाइलोका लागि आउने गरेको बताउनुभयो । ताललाई थप व्यवस्थापन गर्नका लागि नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापा मगर बताउनुहुन्छ ।

“जिल्लामै सबैभन्दा राम्रो तालका रुपमा रहेको छ यो बराह ताल, अरु ठाउँका तालहरु पनि देखियो तर यो जस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेला–बेला विदेशी पर्यटकहरु पनि आउने गर्छन्” अध्यक्ष थापा मगरले भन्नुभयो – “तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनु पर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको संख्या दोब्बरले बढ्ने देखिन्छ, हामीहरु ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौँ ।”

ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन् । ताल वरपरनै घरबास (होम–स्टे) संचालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन । बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकै पटक धौलागिरी, माछापुछ«े, अन्नपूर्ण लगायत २२ वटा हिमश्रृङ्खालाको अवलोकन गर्न सकिन्छ । भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होम–स्टेकी उपाध्यक्ष इन्द्रा थापा मगरले बताउनुभयो ।

उहाँले पाहुनालाई लक्षित गरि गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताउनुभयो । घरबास लामो समयदेखि संचालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उहाँको भनाई छ । पाहुनालाई सिन्किको अचार, कोदोको रोटि ढिडो, लोकल कुखुरा लगायतका परिकार खान दिने गरेको थापा मगरले बताउनुभयो । रहेक वर्ष विदेशी पर्यटकहरु पनि आइ राखेको उहाँ बताउनुहुन्छ ।

थापा मगर भन्नुहुन्छ – “कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिक जसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होम–स्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेट लगायतका सेवा थप गरेका छौँ, पहिले भन्दा व्यवस्थित हुँदै गएका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *