खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिका–९ तित्याङमा पालिका स्तरीय आधारभूत रङ्गशाला निर्माणको योजना अगाढी बढाइएको छ ।
बागलुङ बजारबाट नजिकै रहेको तित्याङ स्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा रंगशाला बनाउने योजना स्थानीय र पालिकाको पहलमा अगाढी बढाइएको छ ।
बागलुङ बजारमा साँघुरो जग्गाका कारण एक मात्रै बाङ्गेचौर खेलमैदानलाई रंगशाला बनाउनका लागि बजेट बिनियोजन हुँदा समेत रङ्गशाला निर्माणको काम अगाढी बढ्न नसकेपछि आलेखर्क खेलमैदानलाई विकल्पको रंगशालाको रुपमा लिन थालिएको छ । बागलुङ नगरपालिकाले एक पालिका एक रङगशाला अन्र्तगत प्राथमिकतामा राखेको छ ।
राष्ट्रिय स्तरका खेल प्रतियोगितमा एउटै खेलमैदानमा प्रतियोगिता गर्न नसकिने भएकाले बाङ्गेचौर खेल मैदानको विकल्पको रुपमा आलेखर्क खेल मेदानलाई रङ्गशाला निर्माण गर्नका लागि हालै मात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइएको छ ।
झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रङ्गशाला निर्माण गर्नका लागि थप जग्गा विस्तार गर्न सकिने भएकाले जिल्लाकै ठूलो रंगशाला समेत बनाउन सक्ने विकल्पहरु देखिएको आलेखर्क खेलमैदानलाई स्तरोन्नती गर्दै तित्याङ रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष मन बहादुर थापाले जानकारी दिनुभयो ।

“बागलुङ बजारमा एउटा मात्रै खेल मैदान छ, त्यो पनि विस्तार गर्न मिल्दैन, तर आलेखर्क खेलमैदान विस्तारमा समस्या छैन, बहुउदेश्यी रङ्गशाला बनाउनका लागि प्रयाप्त जग्गा छ, नपुगे सामुदायिक वन र सार्जजनिक जग्गा विस्तार गर्न सकिन्छ” थापाले भन्नुभयो “स्थानीयकै रु. १० लाखको लागतमा डिपिआर बनाएर नगरपालिकामा पेश गरेका छौं, जस्मा रु. ५ करोड ८८ लाखमा आधारभूत रङ्गशाला बन्ने उल्लेख गरिएको छ, पालिकाले प्रदेश र केन्द्रमा बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”
खेलमैदान विस्तारका लागि हाल सम्म रु. ६२ लाख खर्च भइसकेको छ । रङ्गशाल निर्माणका लागि स्थानीय स्तरबाट समेत सहयोग जुटेको थापाले बताउनुभयो । जग्गा व्यवस्थापन तथा खेलमैदान विस्तार गर्नका लागि हाल सम्म बागलुङ नगरपालिकाले रु. १४ लाख र गण्डकी प्रदेश सरकारको २५ लाख बजेट कार्यान्वयन भइसकेको र स्थानीय स्तरबाट रु. २३ लाख संकलन गरेर खेलमैदान विस्तार गरिएको हो ।
१० वर्ष अघि मात्रै सानो भलिबल मैदानलाई स्थानीयको पहलमा विस्तार गरेर फुटबल मैदान गराइएको बागलुङ नगरपालिका–९ का वडा अध्यक्ष राजु थापाले बताउनुभयो ।
“स्थानीयको सहयोगमा खेलमैदान विस्तार भएको थियो, पछि बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा झनै ठूलो बनाइयो” थापाले भन्नुभयो “डिपिआर नहुँदा बजेट नआउने भयो, पछि एक पालिका एक खेल मैदान अन्र्तगत आलेखर्क खेलमैदानलाई सर्वसम्मतीमा नगरकार्यपलिकाबाट सिफारिस गरिएको हो, बागलुङ बजार नजिकै रहेकाले खेलगतिविधि गर्न सहज छ, बागलुङको ठूलो खेल मैदान बाङ्गेचौरमा ठूला खेल प्रतियोगिता आयोजना हुँदा केही खेलहरु यहाँ ल्याएर खेलाउन सकिन्छ भन्नेमा छौं ।”
बाङ्गेचौर खेल मैदानले सिंगो जिल्लालाई थेग्न सक्ने अवस्था छैन त्यसैले विकल्पका लागि आलेखर्क खेल मैदानलाई एक पालिका एक खेल मैदान कार्यक्रम अन्र्तगत अगाढी बढाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।