बसपार्क सञ्चालन गर्न कस्सियो नगरपालिका


आदर्श अनलाइन, बागलुङ
निर्माण सम्पन्न भएर समेत सञ्चालनमा नआएको बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क सञ्चालनका लागि नगरपालिकाले आवश्यक पहल थालेको छ ।
प्राविधिक र कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले सार्वजनिक रुपमा पहल थालेको हो ।

बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गादातालाई बाँकी जग्गा फिर्ताको काम बाँकी रहेकाले बसपार्क सञ्चालनमा कठिनाई देखिएपछि नगरपालिकाले जग्गा दाता र सरोकारवालाहरुलाई सार्वजनिक रुपमा बसपार्क चलाउनका लागि पहल थालेको हो ।
बसपार्कमा अपुग संरचना निर्माणको काम र बसपार्क सञ्चालनका लागि सरोकारवालासँग छलफलको कामलाई तत्काल अघि बढाउन नगरपालिका तयार भएको हो । सोमबार सरोकारवाला, जग्गादाता तथा सर्वसाधारणबीच सार्वजनिक सुनुवाइ गरेर तत्काल बसपार्क सञ्चालनमा ल्याउन काम थाल्ने निष्कर्षमा पुगेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
“बसपर्का तयार भइसक्यो, तर घडेरी फिर्ताको काम अगाढी बढाउन थाल्ने भएका छौं, जग्गातादाले एकीकृत गरेर दिएको जग्गामा बसपार्क बनेको छ, बाँकी जग्गा घडेरीका रुपमा पूर्वाधार सहित फिर्ता गर्नुपर्ने छ, त्यही जग्गामा निर्मित संरचना र फालिएको माटोका विषयमा अख्तियारमा मुद्दा छ”, श्रष्ठले भन्नुभयो, “फिर्ता गर्नुपर्ने जग्गाको माटो व्यवस्थापनबारे अख्तियारको पत्र प्राप्त भएको छ, अख्तियारले काम रोक्न भनेको छैन, जनसमुदायले काम सुरु गर्नुस् भन्नुभयो, सार्वजनिक सरोकारको विषयमा हो, जनताको आदेशबाट काम थाल्छौँ ।”

एकीकृत गरिएको झण्डै ६९ रोपनी जग्गामध्ये १७ दशमलव आठ रोपनी जग्गामा बसपार्क बनेको छ भने बाँकी जग्गा कित्ताकाट गरेर दातालाई फिर्ता गर्ने १२ बुँदे सहमती छ । बाँकी रहेको जग्गामा फ्याँकिएको माटो व्यवस्थापनका विषयमा विवाद उत्पन्न भएपछि डेढ वर्षदेखि काम रोकिएको थियो । बसपार्क निर्माण कम्पनी ‘आशिष फेवा जेभी’ले तीन सय मिटर टाढा फ्याँक्नुपर्ने माटो बाँकी रहेको जग्गामा फ्याँकेको र त्यही माटो पन्छाउनका लागि अर्को ठेक्का लागेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

माटो पन्छाउने जिम्मेवारी पाएको तिलक निर्माण सेवालाई काममा रोक लगाइएपछि जग्गाको कित्ताकाटलगायतका काम रोकिएका थिए । तिलक निर्माण सेवालाई काम गर्ने वातावरण बनाउने नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।
जग्गादातालाई बाँकी जग्गा फिर्तापछि बसपार्क सञ्चालनको बाटो फुक्ने स्थानीय भिम बहादुर खत्रीले बताउनुभयो बसपार्कका लागि पहुँचमार्गलगायतका संरचनाका लागि काम गर्न नगरपालिका तयार रहेको नगर उपप्रमुखको भनाई छ । जग्गा व्यवस्थापन समितिका सचिव ध्रुवबहादुर केसीले बाँकी जग्गाको कित्ताकाट गर्ने काम चुनौतीपूर्ण रहेको भन्दै त्यसतर्फ नगरपालिका अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

बसपार्क नगर विकास कोषको रु. आठ करोड ७० लाख ऋण लगानीमा आशिष फेवा जेभीले निर्मागरेको हो । आधुनिक बसपार्कसँगै यहाँ टर्मिनल, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ । यहाँ ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने जनाइएको छ ।

सार्वजनिक सुनुवाईमा जग्गादाता, स्थानीय तथा सरोकारवाला एक दर्जन व्यक्तिले जिज्ञासा राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाको प्रमुख आतिथ्यता, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको मन्तव्य तथा उपप्रमुख राजु खड्काको धन्यवाद मन्तव्य र पत्रकार तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *