कुश्मिसेरा–राङ्खानी सडक : म्याद सकियो सकिएन कालोपत्र


आदर्श अनलाइन, बागलुङ
निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्ष अगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकको रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्रे भइसक्थ्यो ।

निर्माण व्यवसायीको चरम लापरर्वाहीका कारण अहिले कुश्मिसेरा–नाम्दुक हुँदै राङ्खानी सडक अलपत्र परेको छ । दुई वर्ष पहिलै कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भएको सडकको चार वर्ष पुग्नै लागदा आधा मात्रै काम भएको छ । एक वर्षदेखि ठेकेदार सम्पर्क विहिन हुँदा अलपत्र सडकमा यात्रुलाई सास्ती भएको नारायणदत्त पाध्यायले गुनासो गर्नुभयो ।

“अहिले बरेङमा कालोपत्र भइसक्यो तर कुश्मिसेराबाट राङ्खानी सम्म आउने सडक कालोपत्र नहुँदा हामीलाई सास्ती भएको छ” पाध्याले भन्नुभयो “सडक कालोपत्रको जिम्मा पायर काम नगर्नेलाई कार्वाही गर्न आवश्यक छ ।”

बागलुङ जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्नका लागि बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा देखि नाम्दुक राङ्खानी हुँदै बरेङ शान्तिपुर जोड्नका लागि पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किमि सडक कालोपत्रेका लागि छुट्टा छुट्टै मितिमा ठेक्का लगाएको थियो ।

कुश्मिसेरा देखि राङ्खानी पुग्ने १० किमि सडक २०७६ असोजमा दुई वर्षमा कालोपत्रे गर्नेगरी ठेक्का लगाएपनि ठेक्का सम्झौताको चार वर्ष पुग्नै लाग्दा समेत १० किमि सडकको भौतिक प्रगती ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीले जानकारी दिनुभयो । राङ्खानी देखि बरेङ सम्मको ११ किमि सडक भने दुई वर्ष नपुग्दै ८० प्रतिशत प्रगती भइसकेको छ ।

“दक्षिण बागलुङको मेरुदण्डको रुपमा रहेको उक्त सडक कुश्मिसेरा देखि बरेङ पुग्ने २१ किमि सडकमा पहिलो खण्ड १० किमि २०७६ असोज र दोस्रो खण्ड ११ किमि २०७८ कात्तिकमा ठेक्का सम्झौता गरेर अगाढी बढेको हो, पहिलो खण्ड २०७८ असोजमै सकिनु पर्ने थियो, तर अहिले सम्म ५० प्रतिशत भौतिक प्रगती देखिएको छ, हामीले निरन्तर ताकेता गरेका छौं, निर्माण व्यवसायी एक वर्षपछि अहिले काममा फर्किएको छ, असार अन्तिम सम्म म्याद छ, कालोपत्रे सक्नेगरी कामलाई तिब्रता दिन भनेका छौं” प्रमुख पौडेलले भन्नुभयो “तल्लो सडक यस्तो हालतमा हुँदा उपल्लो सडक शुरुको ठेक्का मितिमै धमाधम कालोपत्रे भइरहेको छ, असार सम्म सडक कालोपत्रे नथाले कुश्मिसेरा देखि राङ्खानी सडक निर्माणको जिम्मा पाएको शर्मा क्याराभान कम्पनीलाई कार्वाहीको प्रकृयामा जानेछौं ।”

एक वर्षदेखि सम्पर्क बिहिन भएको निर्माण व्यवसायी अहिले काममा फर्केर कटिङ, नाली तथा ग्राभेलको काम थालेपनि असार सम्म कालोपत्र सक्ने कुनै लक्षण देखिदैन । निरन्तरको ताकेता पछि निर्माण व्यवसायीले एक वर्षदेखि सम्पर्क बिहिन भएकोमा अहिले काम थालेपनि तिब्रता पाउन नसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले जानकारी दिनुभयो ।
रु.२४ करोड ५८ लाखमा दुई वर्षमा सक्नेगरी २०७६ असोजमा शर्मा क्याराभान जेभी संग ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेपछि पुन २०८० असार मसान्त सम्म म्याद थप गरेपनि उक्त समयमा समेत सडकको कालोपत्र गर्न नसक्ने अवस्था देखिएको देवकोटाले जानकारी दिनुभयो ।

कोरोना कहर र मुल्य वृद्धिका कारण समयमै काम गर्न नसकेको निर्माण वयवसायीको भनाईछ ।
समस्या भएपनि पछिल्लो समय कामलाई निरन्तरता दिएको शर्मा क्याराभान जेभीका आधिकारीक प्रतिनिधि सोमनाथ थकालीले बताउनुभयो । “मुल्य वृद्धिका कारण समस्या भयो, कोरोना कहरले एक वर्ष काम गर्न सकिएन” अहिले काममा फर्केका छौं, ग्राभेल गर्नेकाम थालेका छौं, असार सम्म सन्तुष्ट हुनेगरी कार्यप्रगती दिने योजनामा छौं ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *