जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरौँ–मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भएको छ । बागलुङ नगरपालिकाका जनप्रतिनिधिको एक वर्ष पूरा भएको अवसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संघीयता आएपछि दुर दराजसम्म विकास हुन थालेको बताउनुभयो ।

स्थानीय तह सबैभन्दा नजिकको सरकार भएको हुँदा नागरिकलाई सर्वसुलभ र सहज रुपमा सेवा दिनु पर्नेमा उहाँले जोड दिनुभयो । नागरिकले स्थानीय तहबाट धेरै अपेक्षा गर्नु हुँदा जनप्रतिनिधिले जनतालाई निराश बनाउने कुनै पनि गतिविधि गर्न नहुने बताउनुभयो । स्थानीय स्रोत साधानको भरपुर उपभोग गर्नुका साथै रोजगार सिर्जना गरेर नागरिकलाई उत्पादनसँग जाड्नु पर्ने मुख्यमन्त्री पाण्डेको भनाई छ ।

उहाँले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो छ । स्थानीय तहहरुलाई पकेट क्षेत्र मानेर सोही अनुसारको उत्पादनमा जोड दिने नीतिको तयारीमा प्रदेश सरकार रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेश सरकार टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने तयारीमा रहेको बताउनुभयो ।

“नागरिकका मुख्य समस्या के हुन्, ति समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने तर्फ जनप्रतिनिधिले ध्यान दिनु पर्छ, पालिकाले सक्ने काम पालिकाले गर्ने, नसक्ने प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्नु पर्छ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो– “स्थानीय सरकारसँग सहकार्य गरेर नागरिकको जीवनस्तर उकास्न र दुर दराजसम्म विकास पु¥याउन हामी गम्भीर भएर लागौँ ।”

आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा पालिकाले गर्न नसक्ने योजना मात्रै गण्डकी प्रदेश सरकारले प्राथमिकता दिइने बताउनुभयो । जनताले देखिने गरि, महशुस गर्ने गरि काम गर्ने उहाँको भनाइ छ । साना योजना र कामको लागि स्थानीय सरकारसँग समन्वय गर्ने बताउनुभयो ।

नगरपालिकाले सो अवसरमा जनप्रतिनिधि, कृषक, खेलाडी, विद्यार्थी लगायतलाई सम्मानसमेत गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, गण्डकी प्रदेशका उपसभामुख बिना थापा, प्रदेश सभा सदस्य कुशुम बुढा मगर प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायत बोल्नु भएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता र नगरपालिकाका शाखा अधिकृत भीमशेन पन्तको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *