गलकोटमा शून्य ‘होमडेलिभरी’

डम्मर बुढा मगर, बागलुङ
बागलुङका दुर दराजका गाउँमा अहिले पनि घरमै सुत्केरी हुने महिलाको संख्या ठूलो छ । स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका महिला ब्यथाले च्यापेर अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएका घटनाहरु पनि धेरै छन् । विगतका तुलनामा अहिले केही कम भने भएको पाइन्छ । स्थानीय सरकार आउन पूर्व जिल्लाका धेरै पालिकामा स्वास्थ्य क्षेत्र निकै कमजो थियो । तर अहिले धेरै सुधार भएका छन् । जिल्लाको गलकोट नगरपालिका सुगम पालिका अन्तरगतनै पर्छ । यस पालिकामा पनि दुई वर्ष अगाडिसम्म यहाँका धेरै महिला घरमै सुत्केरी हुन्थे । उनीहरु गर्भ परीक्षण स्वास्थ्य संस्था पुग्दैनथे ।

अहिले नगरपालिकाका दूरका गाउँमा पनि घरमा सुत्केरी हुने महिलाको संख्या शून्य छ । पहिले गाउँमा महिलालाई सुत्केरी ब्यथाले च्याप्यो भने डोकोमा बोकेर अस्पताल पु¥याउने गर्थे । कोही अस्पतालमा पुगेर बच्चा जन्माउँथे त कोही बाटोमै सुत्केरी हुन्थे । कोहीको समयमै अस्पताल पुग्न नसक्दा अकालमै ज्यानसमेत जाने गथ्र्यो । तर पछिल्लो दुई वर्ष यता गलकोटमा ‘होमडेलिभरी’ हुने महिलाको संख्या शून्य छ । नगरपालिकाले वडा–वडामा वर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पु¥याएपछि ‘होमडेलिभरी’ हुने महिलाको संख्या शून्य भएको छ । नगरपालिकाले विकट बस्तीमा समेत वर्थिङ सेन्टर स्थापना गरेर अहिले सेवा दिइ राखेको छ ।

नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको संख्यामा कमी आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । सबैभन्दा विकट मानिने वडा नम्बर १० को रमुवामा पनि वर्थिङ सेन्टर स्थापना गरेपछि ‘शून्य होमडेलिभरी” हुन थालेको उहाँको भनाई छ । पछिल्लो समय ग्रामीण क्षेत्रका महिलाहरु पनि सचेत र शिक्षित बन्दै गएपछि घरमा सुत्केरी हुने महिलाको संख्या शून्य घटेको उहाँ बताउनुहुन्छ ।

भण्डारी भन्नुहुन्छ – “विगतमा धेरै महिला दिदीबहिनीहरुले स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गमाउनु प¥यो, दुर्गम बस्तीका महिलालाई सुत्केरी बिमार लाग्छ, घरमा सुत्केरी नभएपछि परिवारले ढिला अस्पताल लैजान्छ, ढिला अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी हुने, त्यसरी बाटोमा सुत्केरी हुँदा कहिल बच्चाको मृत्यु हुने कहिले आमाको मृत्यु हुने अवस्था थियो, अहिले यहाँ त्यस्तो समस्या छैन, हरेक बस्तीको पाइक पर्ने ठाउँमा स्वास्थ्य चौकी, वर्थिङ सेन्टर छन्, त्यहाँबाट सेवा प्रदान गर्न थालेपछि आमा र बच्चाको मृत्यु कम भएको पाएको छ भने घरमा सुत्केरी हुने परम्पार पनि हटेको छ ।”

उहाँले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले चार हजार ५०० रुपैयाँ प्रोहोत्सान भत्ता दिने व्यवस्था गरेको बताउनुभयो । ‘नगर प्रमुख मातृ तथा पोषण कार्यक्रम’ अन्तरगत नेपाल सरकारले बनाएको मापदण्ड अनुसार आठ पटक स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराएपछि नगरपालिकाले यो सुविधा दिने गरेको प्रवक्ता भण्डारीको भनाइ छ । गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा गर्भवती हुन नसके बागलुङ वा अन्य कुनै अस्पतालमा पठाउनु परे नगरपालिकाले यातायात खर्चसमेत दिने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेले महिला पहिलो स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउँदादेखि नै उनीहरुलाई परामर्श दिने गरेको र सोही अनुसार महिलाहरु सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताउनुहुन्छ । उहाँले आवश्यकताको आधारमा नगरपालिकाले दुर्गम स्थानमा वर्थिङ सेन्टर स्थापना गरेपछि स्थानीय गर्भवती महिलाले गाउँमै स्वास्थ्य परीक्षण गराउन पाएको र स्वास्थ्यकर्मीले समय–समयमा ‘होमडेलिभरी’का बारेमा जानकारी गराउने हुँदा नगरपालिकामा ‘होमडेलिभरी’ शून्य हुन पुगेको बताउनुभयो ।

“पहिले–पहिले रमुवा क्षेत्रमा घरमै सुत्केरी भएको भन्ने सुनिन्थ्यो, अहिले गलकोटमा ‘होमडेलिभरी’को अवस्था शून्य छ, अहिले वडा–वडामा वर्थिङ सेन्टर स्थापना भएका छन्, स्वास्थ्य सेवाको पहुँच पनि सहज बनेको छ, त्यसमाथि महिला दिदीबहिनीहरु पनि सचेत र शिक्षित बन्दै जानु भएको छ,” प्रमुख पौडेलले गैरेले भन्नुभयो – “मान्छे शिक्षित भयो भने धेरै समस्या समाधान हुने रैछ, हामीले पनि गर्भवती भएर स्वास्थ्य जाँचका लागि आएको पहिलो पटकदेखिनै काउन्सिल गरि रहेका हुन्छौँ, त्यसले गर्दा पनि हाम्रो नगरपालिकामा ‘होमडेलिभरी’ न्यून बनेको हो, केही समय यता घरमै सुत्केरी भएको सुनिएको छैन ।”

वर्थिङ सेन्टरकै कारण मातृ र शिशु मृत्युदर पनि शून्य भएको पौडेलको भनाइ छ । दुई वर्ष अगाडिसम्म फाट्टफुट्ट आमा तथा बच्चाको मृत्यु हुने गरेको भए पनि अहिले त्यो समस्या नभएको पौडेलले बताउनुभयो । नगरपालिकाले वि.सं. २०७५ सालदेखि ‘नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम’ संचालन गर्दै आएको छ । गलकोट नगरपालिकामा नौ वटा वर्थिङ सेन्टर, सात वटा स्वास्थ्य चौकी, एउटा नगर अस्पताल, तीन वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुई वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । पालिकाका सात वटै स्वास्थ्य चौकीहरुमा वर्थिङ सेन्टरको व्यवस्थापन गरिएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *