बागलुङका बाढीपीडितले पाएनन् घर बनाउने राहत रकम


खेमराज गौतम, बागलुङ

बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितहरुले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् ।

२०७७ साल भदौं १७ गते भूजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दा समेत पाउन नसकेका हुन् । घर निर्माण पश्चात ८२ बाढीपीडितहरुले रु. चार लाखका दरले पाउनुपर्ने रकम मध्ये जम्मा ५० हजारका दरले मात्रै पाएका छन् ।

घर निर्माण गरिसकेका बाढीपीडितहरुले पाउनुपर्ने दोस्रो किस्ता रकम सात महिना देखि पाउन नसकेका हुन् ।

८२ बाढीपीडित परिवारहरुले घर निर्माणका लागि ५० हजार मात्रै प्राप्त गरेका छन् । ढोरपाटन नगरपालिकाले उचित पहल नगर्दा बाढीपीडितहरुले पहिलो किस्ता रकम पाएको सात महिना वित्दा समेत दोस्रो किस्ता रकम पाउन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले ढोरपाटन नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

“ढोरपाटनमा बाढी जादा ठूलो जनधनको क्षती भएको रहेछ ३७ जनाले ज्यान गमाउनुभएको रहेछ भने १५ जना वेपत्ता हुनुभएको रहेछ, घर बनाउनका लागि प्रकृया पुगेका ८२ पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट सात महिना अघि मात्रै पहिलो किस्ता वापतको रु. ५० हजारका दरले लिनुभएको रहेछ” श्रेष्ठले भन्नुभयो “दोस्रो किस्ताका लागि नगरपालिकाले माग गरेको छैन, दोस्रो किस्ताका लागि मापदण्ड अनुसारको घर निर्माण भएको प्रमाण संगै नगरपालिकाको सिफारिस आवश्यक छ, ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितहरुको प्रकृया नपु¥याउदा सात महिना देखि दोस्रो किस्ता रकम अड्किएको छ ।” नगरपालिकाले छिटो कानूनी प्रकृया पुरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको श्रेष्ठको भनाई छ ।

२०७७ सालमा बागलुङ जिल्ला मनसुनजन्य विपद् प्रभावित जिल्लाको रुपमा सुचिकृत भएकाले ढोरपाटन सहित बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका सहित ६ पालिकाका बाढी तथा पहिरो पीडितहरुले घर बनाउनका लागि नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्ण रुपमा पाउन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले विपद्का लागि कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आव्हान गरेपनि सबैभन्दा बढी पीडितरहरु रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना वित्दा समेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताउनुभयो । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी भएको गौतमले बताउनुभयो ।

“सबैभन्दा समस्या ग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता वापतको रु. दुई लाख दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाण सहित माग आउन प¥यो, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौं”–गौतमले भन्नुभयो ।

ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताका वापत पाउनुपर्ने रु. दुई लाखका दरले रु. एक करोड ६४ लाख रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको छ ।

ढोरपाटन नगरपालिकाले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मुल्याङ्कनका लागि प्राविधकि खटाउने तयारी गरेको छ । मुल्याङ्कन फाराम नपाउदा विवरण संकलनमा ढिलाई भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीका अनुसार बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मुल्याङ्कनका लागि तत्कालै बाढी ग्रस्त क्षेत्रमा पाठाइने र मुल्याङ्कन पश्चात जेठ महिना भित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताउनुभयो ।

बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भएपनि घर निर्माण गरेका छन् । दोस्रो किस्ता वापत रु. दुईलाख भुक्तानी गरेपछि पुन घर सम्पन्नताको सिफारिस पछि तेस्रो किस्ता बापतको रु. एक लाख ५० हजार भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बाढीका कारण ढोरपाटनमा घर संगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविदुत आयोजनामा क्षती पु¥याएको थियो ।

जिल्लामा ढोरपाटन नगरपालिकाका ८२ बाढीपीडित सहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा ९, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी २१३ बाढीपीडितले घर निर्माणका लागि रु. चार लाख पाउने जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानूनी प्रकृया पुरा नगराउदा हाल सम्म २१३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *