दुर्गमको गाउँपालिकामा सडक कालोपत्र भएपछि स्थानीय हर्षित

आदर्श अनलाइन, बागलुङ
बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा एक वर्ष अघिसम्म जिल्ला सदर मुकाम आउन अघिल्लो दिन नै यात्रा तय गर्नुहुन्थ्यो । दोस्रो कार्याकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित अध्यक्ष गाउँपालिकाको कामका लागि जिल्ला सदर मुकाम आउन जानका लागि गाउँपालिकाकै सवारीसाधनमा समेत एक दिन आउन र जान नै समय व्यवस्थापन गर्नु पर्ने समस्या थियो ।

विभिन्न प्रशासनिक काम गर्न आउनेका लागि बरेङका सर्वसाधरणलाई आउन जानै मात्रै दुई दिन आवश्यक थियो । तर अहिले दक्षिण भेगको मुख्य सडकको सुधार संगै जिल्ला सदरमुकाम आउने समय आधा भन्दा बढी छोट्टीएको छ । अहिले दुर्गम मानिएको बरेङ पुग्नका लागि बागलुङ बजारबाट धेरै सडक कालोपत्रे र केही सडक स्तरोन्नती भएपछि सदरमुकाम आउन सहज भएको । निर्माण व्यवसायीको उदारणीय कामका कारण ठेक्का सम्झौता गरेको दुई वर्ष नपुग्दै राङ्खानी देखि बरेङ पुग्ने सडक धमाधम कालोपत्रे भएपछि बरेङबासीमा खुसीयालीनै छाएको छ ।

“पालिकाकै गाडीमा बागलुङ बजार जान अघिल्लो दिन नै साइत गर्नु पर्दथ्यो, बिहानै हिडेर कार्यालय समयमा बागलुङ बजार पुग्न सकिदैनथ्यो, अहिले पूर्वाधार विकास कार्यालयको रु. ३४ करोड लागतमा जैमिनी नगरपालिकाको राङ्खानी देखि बरेङ सम्मको अधिकांश सडक कालोपत्रे भइरहेको छ” गाउँपालिका अध्यक्ष शर्माले भन्नुभयो “पालिकाकै गाडीमा यात्रा गर्दा त आउन जान पुरै एक दिन खर्च हुन्थ्यो, सर्वसाधरणलाई जान र आउन दुई दिन व्यवस्थापन गर्न आवश्यक थियो, अहिले सडक कालोपत्रे भएपछि निकै सहज भएको छ, बिहानै हिडेपछि कार्यालय समयमा बागलुङ बजार आउन सकिन्छ ।”

बरेङमा उक्त सडक मात्रै नभएर अन्य ग्रामीण सडकहरु समेत वर्खामा समेत चल्न सक्नेगरी स्तरीय बनाईको गाउँपालिका अध्यक्ष शर्माको भनाई छ । बरेङ गुल्मी जिल्लासंग जोडिएकाले यहाँका जनताहरुले प्रशासनिक काम बाहेक किनमेलका लागि गुल्मी हुँदे वुटवल पुग्ने गरेका छन् । बरेङमा सडक पुगेपछि दुर्गम मानिएको बरेङ बिस्तारै सुगम बन्दै गएकोमा बरेङमै कालोपत्रे सकड पुगेपछि स्थानीयहरु खुसी भएका छन् ।

बागलुङदेखि कुश्मिसेरा जाने अधिकांश सडक कालोपत्रे भइसकेको छ भने कुश्मिसेरा देखि राङ्खानी सम्मको सडक ग्राभेल भइरहेको सन्र्दभमा राङ्खानी देखि बरेङ सम्मको सडक भने धमाधम कालोपत्रे भइरहेको छ । दुर्गमबाट सुगम तर्फ सडक कालोपत्रे भइरहदा स्थानीयहरु खुसी भएका छन् । बरेङ गाउँपालिका–१ धुल्लु लिउवाका स्थानीय लिलाधर शर्माले घर अघिनै कालोपत्रे सडक आएपछि विकासको महशुस गर्नुएको छ ।

“कुश्मिसेरा बजारदेखि माथी सडक धुलाम्मे छ, कालोपत्रे भएको छैन तर यहाँत घर अघिनै सडक कालोपत्रे भयो, हामीलाई विकासको महशुस कालोपत्रे सडक आएपछि भयो, दोस्रो खण्ड कालोपत्रे भइसक्दा समेत पहिलो खण्ड कुश्मिसेरा–राङ्खानी सडक कालोपत्रे हुन नसक्दा समस्या छ, तर त्यो सडक समेत कालोपत्रे भए तीन घण्टामै बागलुङ बजार पुग्न सकिन्छ” शर्माले भन्नुभयो “पहिला बागलुङ बजार पुग्न एक दिन र फर्कन मात्रै एक दिन लाग्दथ्यो, सडकले निकै सहज बनाएको छ, अहिले बिहानै हिडेपछि १० बजे बागलुङ बजार पुगिन्छ दिनभर काम गरेर बेलुका घरै फर्किन सक्ने भइयो ।”

नेपालमा सम्झौता अवधी भित्रै निर्माणकार्य सक्ने निर्माण व्यवसायीले निकै कम छन् । तर बागलुङको दक्षिण भेगको मुख्य सडकको रुपमा रहेको कुश्मिसेरा राङ्खानी सडक निर्माण व्यवसायीले चार वर्ष देखि कालोपत्रे गर्न नसकिरहेको सन्र्दभमा राङ्खानी देखि बरेङ सम्मका दोस्रो खण्डको रुपमा रहेको ११ किमि सडकमा अहिले धमाधम कालोपत्रे भइरहेको छ ।

बागलुङ जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्नका लागि बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा देखि नाम्दुक राङ्खानी हुँदै बरेङ शान्तिपुर जोड्नका लागि पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किमि सडक कालोपत्रेका लागि छुट्टा छुट्टै मितिमा ठेक्का लगाएको थियो । दोस्रो खण्ड कालोपत्रे भएर सडकका कारण स्थानीयको दैनिकी नै फेरिएको भएपनि तल्लो खण्डको काम सन्तोषजन नभएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीले जानकारी दिनुभयो ।

“कुश्मिसेरा देखि राङ्खानी पुग्ने १० किमि सडक चार वर्षमा कालोपत्रे भएको छैन तर राङख्खानी देखि कुश्मिसेरा पुग्ने ११ किमि सडकमा ठेक्का सम्झौताको दुई वर्ष नपुग्दै धमाधम कालोपत्रे भइरहेको छ” सुवेदीले भन्नुभयो “दुवै खण्ड कालोपत्रे भएमा बरेङ पुग्न कुश्मिसेराबाट एक घण्टा मात्रै लाग्नेछ ।”

अहिले राङ्खानी देखि बरेङ सम्मको ११ किमि सडक मध्ये तीन किलोमिटर सडक ढलान र चार किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी चार किमि सडकमा धमाधम कालोपत्रेका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ ।

राङ्खानी देखि बरेङ सम्मको ११ किमि सडक पूर्वाधार सहित कालोपत्रे गर्नका लागि २०७८ साउनमा दुई वर्षमा कालोपत्रे र घुम्ती सडकमा ढलान गर्नेगरी रु. ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी÷धुलीखेल जेभी संग ठेक्का सम्झौता गरिएको थियो । पूर्वाधार कार्यालय अन्र्तगत कालोपत्रे गर्नका लागि निर्माणको चरणमा रहका ६ वटा सडकमध्ये सबैभन्दा पछी ठेक्का खोलिएको राङ्खानी– बरेङ सडकको नै हाल सम्मको प्रगती सबैभन्दा बढी रहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले जानकारी दिनुभयो । देवकोटाका अनुसार सडकको हाल सम्म ८५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगती भइसकेको छ ।

२०७६ असोजमा दुई वर्षमा कालोपत्रे गर्नेगरी ठेक्का लगाएको कुश्मिसेरा राङ्खानी सडक भने ठेक्का सम्झौताको चार वर्ष पुग्नै लाग्दा समेत १० किमि सडकको भौतिक प्रगती ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । जिल्लाभर सञ्चालित ६ ठूला सडक मध्ये राङ्खानी देखि बरेङ सम्मको सडक धमाधम कालोपत्रे भइरहेको छ भने २०७७ सालमा ठेक्का सम्झौता गरेको गलकोट देखि ताराखोला पुग्ने सडक सम्झौता मिति सकिएपछि कालोपत्रको काम शुरु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *