नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

आदर्श अनलाइन, बागलुङ
नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको आयोजना र नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको समन्वयमा धौलागिरि अस्पतालमा भर्ना भएका ५५ जना बिरामीलाई उनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरप्रमुख एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले स्वास्थ्य क्षेत्र निकै संवेदनशील भएकाले सबैले चासो दिनुपर्ने बताउनुभयाे ।

‘स्वास्थ्य क्षेत्र सबैभन्दा संवेदनशील क्षेत्र हो,’ भन्नुभयाे,‘यस क्षेत्रको सुधार र विकासका लागि सबैले चासो दिनु आवश्यक छ । स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि पनि सबैले ध्यान दिनुपर्छ ।’ उहाँले धौलागिरि अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले आफ्नो तर्फबाट पहल गरिरहेको बताउनुभयाे । ‘धौलागिरि अस्पताललाई दुई सय शैयाको बनाउनका लागि हामीले मुख्यमन्त्रीज्यूसंग कुरा राखेका छौं,’ उहाँले भन्नुभयाे-,‘यहाँ दरबन्दी थप गर्नेदेखि भौतिक पूर्वाधारको निर्माणका विषयहरुलाई गम्भीरताका साथ लिएका छौं ।’ सबैको सहयोगबाट अस्पतालको विकास हुने भन्दै उहाँले अस्पतालले समन्वय गर्दै अगाडि बढ्नुपर्ने र नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयाे।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्यायले स्वास्थ्यकर्मीलाई राज्यले उच्चकोटीमा राखेर सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयाे । ‘मानवीय जीवन बचाउन अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई राज्यले उच्चकोटीमा राखेर सम्बोधन गर्नुपर्छ,’ भन्नुभयाे,‘विभिन्न समयमा आएका महामारीमा स्वास्थ्यकर्मीले देखाएको कुशलता उच्च प्रशंसा गर्न लायक छ ।’ कार्यक्रममा स्वास्थ्य प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष देवप्रकाश घिमिरे र सञ्चालन जिल्ला सचिव शिव केसीले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *