भावनामा मात्र नबहकियोस् राष्ट्रियता

सम्पादकीय

छिमेकी देश भारतले आफ्नो संसदीय भवनमा राखेको ग्रेटर इण्डियाको नक्साको समाचारले नेपाल एकाएक तरंगित बन्यो । यही अनुक्रममा नेपाल सरकारका प्रधानमन्त्री पूष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले त यसलाई अझ विवाद र बहसको विषय बनायो । र पनि प्रधानमन्त्रीको भारत भ्रमणमा यस विषयले ठोस वार्ताको अवसर प्राप्त गरेन । बरु नेपालमा प्रचण्ड भारत भ्रमण सकेर आए लगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर इन्डियाको काउण्टरमा ग्रेटर नेपालको नक्सा राखिदिए । त्यससँगै अरु केही स्थानीय सरकार र कार्यालयमा पनि राखियो । यसपश्चात नेपाल ग्रेटर इन्डिया र ग्रेटर नेपालको बहसले तातिएको छ । अहिले ग्रेटर इन्डिया मात्रै होइन, ग्रेटर नेपालको विषयमा समेत नेपालीहरु पक्ष विपक्षमा बिभाजित भइरहेका छन् ।

ग्रेटर इन्डियाको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ । हाल नेपालको रहेका लुम्बिनी र कपिलवस्तुसहितको नक्सा भारतले आफ्नो संसद् भवनमा राखेपछि नेपाली आक्रोशित छन् । यसकै खिलापमा ग्रेटर नेपालको नक्सा राख्ने र नयाँ बहस समेत जारी छ । ग्रेटर नेपाल नक्सामा नेपाल–भारत सुगौली सन्धि हुनुपूर्वको नेपालको सिमाना समेटिएको छ । जहाँ भारतको दार्जीलिङ, सिक्किम, गोरखपुर, लखनउ, सिलगढी, पिथौरागढ, झुलाघाट लगायतका ठाउँ समावेश छ । सन् १८०६ मा नेपालको सिमाना पूर्वमा टिष्टा नदी, पश्चिममा किल्ला कांगडासम्म पुगेको थियो । १८०९ मा किल्ला कांगडाबाट पूर्व सरेर सप्तक नदीको सिमाना भयो । सिमानाको हिसावले विशाल भएको भारतमा शासन गरेको अंग्रेजलाई राम्रो लागेन । सन् १८१५ डिसेम्बरमा नेपालसँग युद्धको घोषणा ग¥यो । यस युद्धमा कतै नेपालको जित भयो त कतै अंग्रेज सरकारको जित भयो। यसपछि सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भयो । यो सन्धिपछि नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकालीमा सीमित भएको थियो । यद्यपि, सन्धिको ७ महिनापछि नेपालले राप्तीदेखि कोसीसम्मको पूर्वी भाग र ४४ वर्षपछि बाँके बर्दिया कैलाली कञ्चनपुर फिर्ता पाएको थियो ।

राष्ट्र, राष्ट्रियता केवल भुगोल र भावना मात्र होइन । त्यो त देश र नागरिकको स्वाभिमानसँग पनि गाँसिएको छ । अहिले ग्रेटर इन्डियाको नक्सा राख्नु नेपाल माथि भारतको हेपाहा प्रवृत्तिको एक पटाक्षेप हो । त्यसकै खिलापमा ग्रेटर नेपालको नक्सा राख्ने अभियान चलाइनु एक किसिमको प्रतिवाद त हुन सक्ला । तर, त्यो कुनै ऐतिहासिक अर्थ र महत्व राख्ने कदम कदापि होइन । नेपाल भारत दुवैले हेक्का राख्नु पर्ने विषय भनेको नक्सा दुई सय वर्षमा फेरिन्छन्, ४ सय वर्ष कायम हुन्छन्, यस्ता विवादहरु सके यथोचित समयमै सुल्झाउनु पर्छ । नत्र नसके भावी सन्ततिलाई प्रमाण छोडेर जानुपर्छ । नेपाल अहिले कुन हालतमा छ ? यसबारे धेरै भनिरहन पर्दैन । अहिले नै वार कि पार भन्ने जस्तो गरेर भावनामा बहकिएर ग्रेटर नेपालको नारा लगाउँदैमा केही हुने वाला छेन । ग्रेटर इन्डिया र ग्रेटर नेपालको अतिवाद भन्दा माथि बहस मन्थन गर्नुपर्ने धेरै कुरा छ । अहिले त्यसमै केन्द्रित हुनु नै नेपाल र नेपालीका लागि हितकर हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *