बागलुङका ८६५ घरमा अझै छैनन् शौचालय


खेमराज गौतम, बागलुङ

बागलुङ जिल्ला खुला दिसा मुक्त घोषणा भएकोे दश वर्ष पुरा भइसक्दा समेत यसले पुर्णता पाउन नसकेको छ । खुला दिसा मुक्त घोषणा भइसकेको जिल्लामा शौचालय बिहिन परिवार समेत रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

जिल्लामा हाल ८६५ घरमा अझै शौचालय नभएको पाइएको छ । सबै घरमा शौचालय निर्माण गरेर खुल्ला दिसा मुक्त बागलुङ जिल्ला २०७० सालमा घोषणा भएपनि अझै केही घर परिवारले शौचालय बिहिन रहेको तथ्याङ्कले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ अन्र्तगत बागलुङ जिल्लाको प्रमुख नतिजा अन्र्तगत बागलुङ जिल्लामा रहेका ६४ हजार १५३ घर परिवार मध्ये ८६५ घरमा अझै शौचालय नभएको पाइएको तथ्याङ्क कार्यालय बागलुङका कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीले जिल्लाकोे तथ्याङ्क सार्वजनिक गर्दै जिल्लामा अझै शौचालय नभएको ८६५ घर, कुवा तथा खुला इनारको पानी प्रयोग गर्ने ५३१ परिवार र नदी तथा खोलाको पानी प्रयोग गर्ने ३१६ परिवार रहेको जानकारी दिनुभयो ।

जिल्लामा जम्मा १६७ सार्वजनिक शौचालय रहेका छन् भने सार्वजनिक ढलमा मिसिने शौचालय एक हजार ८६५, सेफ्टी ट्याङ्की भएको ४७ हजार २६४ परिवार र साधारण खाल्टे शौचालय रहेको १३ हजार ९४२ घर परिवार रहेको जनगणनामा उल्लेख गरिएको छ ।

दुर्गम स्थानमा कतिपय खाल्टे शौचालय भत्किने, पहिरोले लैजाने, बाढीले पुर्ने र घर परिवार छुट्टीने कारणले घरमा शौचालय नभएका केही घरहरु अझै कायम रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख तुल्सी बस्नेतले जानकारी दिनभयो ।

“१० वर्ष अघि खुला दिसा मुक्त जिल्ला घोषणा भएको रहेछ, उक्त समयमा सबैको घरमा अस्थायी सम्मको शौचालय भएको हुन सक्छ, तर १० वर्षको अवधीमा बढी मात्रमा परिवार छुट्टीदा सामुहिक रुपमा शौचालय प्रयोग गर्ने अवस्था हुन्छ” बस्नेतले भन्नुभयो “अहिलेको सरसफाई तर्फको जिम्मेवारी धेरै मात्रमा स्थानीय तहलाई दिइएको छ, जिल्लामा खानेपानी आयोजना सञ्चालन नभएका गाउँसमेत छन् उनीहरुले अझै खोला र खुल्ला कुवाको पानी खाइरहेका छन् ।”

घरमा शौचालय नभए पनि सार्वजनिक तथा सयुक्त रुपमा प्रयोग गर्ने परिवारसमेत रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

तथ्याङ्क कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा रहेको ६४ हजार १५३ घर परिवार मध्ये तीन प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ को नतिजाले देखाएको हो ।

जिल्लाका तत्कालीन सबै गाविसहरुमा घर–घरमा चर्पी निर्माण सम्पन्न भैसकेको भन्दै नेपालको ८ औं खुला दिसा मुक्त जिल्लाको रुपमा २०७० माघ १६ गते घोषणा गरिएको थियो । खुला दिसामुक्त जिल्ला घोषणा गरेको १० वर्षपछि समेत ८६५ घरमा शौचालय नभएको पाइनु दुःखद् रहेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

जिल्लामा सार्वजनिक भएको तथ्याङ्कले सरसफाईको अवस्था नाजुक रहेको देखाएको उहाँको भनाई छ । बरालका अनुसार जिल्लामा सरसफाईको क्षेत्र शौचालय तथा खानेपानीमा उल्लेख्य सुधार गर्न आवश्यक रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार एक लाख १६ हजार १९४ पुरुष, एक लाख ३३ हजार १७ महिला गरी दुई लाख ४९ हजार २११ बागलुङ जिल्लाको कुल जनसंख्या रहेको छ ।

बागलुङ जिल्लामा २०६८ को जनगणनाभन्दा ऋणात्मक रुपमा जनसंख्या वृद्धि भएको पाइएको हो । जिल्लामा २०६८ सालको जनगणना अनुसार २ लाख ६८ हजार ६१३ जनसंख्या रहेको थियो ।

अहिले उक्त जनसंख्यामा ऋणत्मक ०.७२ प्रतिशत रहेको पाइएको छ । शौचालय अभावमा खुल्ला स्थानमा दिसा गर्दा आउ, हैजा, झाडापखला लगायतका महामारीको प्रकोप फैलने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *