विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

आदर्श अनलाइन, बागलुङ
घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडीको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण धमाधम भइरहेको छ । गाउभरमा व्यावसायीक कागती खेतीको लहरै आएको छ । बागलुङ जिल्लाको सुदुर पश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासीन्दाको सोच अहिले बद्लिएको छ ।

“चार पाँच वर्ष अघि सम्म बसाईसराइको लहरै आएको थियो, धेरै कमाई हुनेले घर छोडेर मधेस झरे, गाउँका केही घरहरु समेत खाली भएका थिए” झिम्पा गाउँका स्थानीय प्रमिला मगरले भन्नुभयो “अहिले खाली भएका घरमा समेत मानिस बस्न थालेका छन्, काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्ट्रिय लोकमार्ग आसपासमा बसाई सरेर समेत आउन थाले, पहिला घडेरी किन्न मधेस सर्नेहरुले अहिले तल्लो झिम्पाको फाँटमा घडेरी किन्न थालेका छन् ।”

पहिला–पहिला मेलापात जानुपर्ने, घाँस दाउराका लागि लेक जानुपर्ने अवस्थामा यहाँका बासिन्दालाई दुख भएपनि अहिले यहाँका स्थानीयहरु लेक जान छोडी सकेका छन् । “पहिला जस्तो पानी लिन जानुपर्ने, दाउरा घाँस लिन जानु पर्ने अवस्था छैन श्रीमानले विदेशमा कमाउनुहुन्छ, त्यही पैसा खर्च गरेर शहरमा कोठा लिएर बस्न भन्दा आफ्नै गाउँमा बस्न आनन्द छ, पहिला बसाईसराइ गरेर गएकाहरु समेत गाउँमा सुविधा थप भएपछि फर्केका उदाहरण छन्”– मगरले भन्नुभयो ।

गाउँको कुनाकाप्चामै सडक पुगेकाले अहिले शहरमा पाइने सुविधा गाउँमै पाइन थालेपछि बसाईसराइ गर्नेहरु घटेको मात्रै छैनन् मधेस गएकाहररु समेत गर्मीले शितल खोज्दै गाउँ फर्किन थालेको स्थानीय चक्र बहादुर रोकाले बताउनुभयो । रोकाका अनुसार गाउँबाट दश वर्ष अघि बसाईसराइगरेर गएका चार परिवार फर्केर गाउँमा आएको बताउनुभयो ।

“सुविधाका लागि शहर जाने हो, शहरको सुविधा गाउँ आइसक्यो, आँखै अगाडीबाट लामो दुरीका बसरहरु नेपालका विभिन्न शहरमा छुट्छन्, मध्यपहाडी राष्ट्रिय लोकमार्ग कालोपत्रे भएपछि निसीखोलामा विकासले फड्को मारेको हो, गाउँमै प्लाष्टिक टर्नेलमा तरकारी उत्पादन हुन्छ” रोकाले भन्नुभयो “अहिले २० वटा बाख्रा पालेको छु, ५० वटा कागती र ५० वटा सुन्तलाका बोट हुर्कदै गरेका छन्, गरिबहरु बसाईसराइ गर्र्नेे कुरै भएन, धनीहरु समेत शहरको जस्तो घर गाउँमै बनाएर बस्न थाले ।”

रोकाले झिम्पा गाउँमैै १० शैयाको पालिका अस्पताल निर्माण भइरहेको बताउदै स्वास्थ्य सेवा समेत दैलोमै पाइनेमा झिम्पा गाउँका स्थानीयहरु आशावादी रहेका छन् । तराईमा अहिले गर्मीले बस्न नसक्ने अवस्था हुँदा गाउँमा शितल रहेको छ ।

झिम्पामा एक घर एक धारा निर्माण भएपछि शुद्ध खानेपानीको सुविधा समेत थपिएको छ । अव्यवस्थित रुपमा पानीको उपभोग गर्दै आएका झिम्पाबासीलाई शुद्ध खानेपानीको सुविधा थपिएपछि बसाई सराई रोक्न झनै टेवा पुगेको हो । निसीखोला गाउँपालिका–४ झिम्पाका झण्डै एक सय घरमा गत वर्ष गोर्खा वेलफेयर ट्रर्सले घर–घरमा धारा निर्माण गरेर शुद्ध पानी वितरण गरेको हो ।

झिम्पा खानेपानी आयोजना मार्फत अहिले ९४ घरमा शुद्ध खानेपानी बितरण भइरहेको झिम्पा खानेपानीका अध्यक्ष चक्र बहादुर रोकाले जानकारी दिनुभयो । “पानीको संकट थिएन तर अव्यवस्थित थियो, कहिले आउने कहिले नआउने गर्दथ्यो, अहिले मुहानमै शुद्धिकरणको व्यवस्था छ, पानीलाई प्रशोधन गर्नका लागि मुहानमै व्यवस्थापन भएपछि अहिले घर–घरमा शुद्ध पानी बितरण हुन्छ” रोकाले भन्नुभयो “दुर्गम गाउँका रुपमा चिनिएको झिम्पा अहिले शुद्ध खानेपानी, सडकको पहुँच, दैलोमै राष्ट्रिय राजमार्ग आएपछि फेरिएको छ, यहाँका नागरिकले विकासको महशुस गरेका छन् ।”

स्थानीय झजी बुढामगरले विकास दैलोमै आएपछि गाउँ थप रमाईलो भएको बताउनुभयो । आम्दानीको स्रोत भए सुविधा खोज्न शहर जान नपर्ने बुढामगरले बताउनुभयो । गाउँमा अहिले आय आर्जनका लागि व्यवसायिक कागती खेती थालिएको छ । अहिले झिम्पा गाउँका घर–घरमै कागती खेतिको लहर आएको छ । यहाँका स्थानीयहरु परम्परागत खेती छोडेर आयआर्जनका लागि कागतीखेति तर्फ आकर्षति भएको स्थनीय कागती किसान रेम बहादुर क्षत्रीले बताउनुभयो ।

क्षत्रीका अनुसार अहिले एक घरमा १० कागतीको बोट देखि ४०० कागतीको बोट लगाउनेहरु रहेका छन् । झिम्पागाउँमा प्लाष्टिक टर्नेल मार्फत समेत व्यवसायीक तरकारी खेती गर्न थालिएको हो । राष्ट्रिय सडकको पहुँच पुगेसंगै बजारीकरणको समस्या नभएपछि यहाँका स्थानीयहरुले घाँस दाउरा छोडेर व्यवसायीक कागती खेती, सुन्तला खेती, बाख्रापालन तथा तरकारी खेतीमा आकर्षीत भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *