अब निसेलढोरमै स्वास्थ्य सेवा

डम्मर बुढा मगर, बागलुङ
“केटाकेटीहरु बिरामी भएर हैरान हुन्छ, हामी पनि बेला–बेलामा बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न एक दिन भरी लाग्छ, गाउँपालिकाले अहिले अस्पताल ल्याइ दियो अब सजिलो हुन्छ की ।” निसीखोला गाउँपालिका–५ निसेलढोरकी कमला विकका चार छोराछोरी छन् । उनीहरु हरेक महिना बिरामी परेकै हुन्छ । उपचारका लागि गाउँमा स्वास्थ्य संस्था नहुँदा दिन भरी लगाएर अस्पताल पुग्नुको विकल्प थिएन । तर यसै साता निसीखोला गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ ।

स्वास्थ्य इकाइ संचालनमा आएपछि स्थानीय हर्षित भएका छन् । निसेलढोर बागलुङको सबैभन्दा टाढाको बस्ती हो । यहाँ हिउँदको समयमा करिब एक सय परिवार बसोबास गर्छन् भने बर्खाको समयमा सयौँ नागरिक यहाँ बस्दै आएका छन् । निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइँ गर्ने गर्छन । असोज लागेपछि निसीखोला गाउँपालिका–५ को निसी गाउँ झर्ने र बर्खा लागेपछि निसेलढोर जाने स्थानीयको परम्परानै हो । कहिले लेक कहिले बेसी गर्ने हुँदा निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था स्थापना हुन सकेका थिएन ।

एक दशक अगाडिसम्म निसेलढोरमा बाह्रै महिना बस्नेको संख्या निकै कम थियो । अहिले सडक संजालले जोडिएपछि स्थायी रुपमा ६० घर परिवार बस्ने गर्छन् । बिरामी हुँदा घरेलु ओखती मुल गर्दै आएका स्थानीयले अब स्वास्थ्य संस्थामा उपचार गराउनुका साथै औषधीसमेत पाउने छन् । गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु परेको कमला बताउनुहुन्छ । अब कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने आशा गरेको उहाँको भनाइ छ ।

“सहर बजारभन्दा धेरै टाढा छौँ, गाउँमा डाक्टर थिएन्, अस्पताल थिएन, कोही बिरामी भयो भने झाँक्री धामी गर्ने गथ्र्यौँ, कोही धामी झाँक्री गरेर पनि निको भएनन् भने अस्पताल लैजानु पथ्र्यो,” उहाँले भन्नुभयो – “अस्पताल लैजाँदै गर्दा कतिलेत बाटोमै ज्यान गुमाए, अब त्यसरी अकालमा कसैलाई पनि मर्न पर्ने छैन, सरकारले गाउँमै अस्पताल ल्याइ दियो, हामीहरु धेरै खुसी भएका छौँ ।”

सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि गाउँका सबै नागरिकले सहज रुपमा सेवा पाइने स्थानीय प्रेमबहादुर पुनको भनाइ छ । यतिका वर्षसम्म सामान्य स्वास्थ्योपचारका लागि हजारौँ खर्च गर्नु परेको भन्दै अब जटिल किसिमका रोग बाहेक अन्य उपचार गाउँमै गराउन पाइने उहाँको भनाइ छ । सरकारले दुर्गमको स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर औषधी र उपकरणको कमी हुन नदिन आग्रह गर्नु भयो ।

उहाँ भन्नुहुन्छ – “हामीहरु धेरै टाढा छौँ, अस्पताल संचालनमा आयो भन्ने मात्रै नहोस् यहाँबाट प्रवाह हुने सेवा गुणस्तरीय र प्रभावकारी बनोस्, हामीहरु सामान्य उपचारका लागि ठूला–ठूला अस्पतालमा जान नपरोस्, अहिले जति खुसी भएका छौँ, त्यति खुसी हामीभन्दा पछाडिका पुस्ता पनि हौन्, यसलाई राज्यले विशेष प्रथमिकतामा राख्न जरुरी छ ।”

यहाँ सामुदायिक स्वास्थ्य इकाइ संचालनका लागि निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकाले तत्कालका लागि घर भाडामा लिएर एक जना अनमी र एक जना कार्यालय सहयोगी राखी सेवा विस्तार गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार चन्दले जानकारी दिनुभयो । आगामी वर्ष गाउँपालिकाले प्रदेश सरकारसँग सहकार्य गरि भवन निर्माण गरेर सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउने बताउनुभयो ।

चन्द भन्नुहुन्छ – “यो ठाउँमा अहिलेसम्म कुनै पनि स्वास्थ्य संस्था थिएन, चालु आर्थिक वर्षमा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ संचालन गर्ने निर्णय अनुसार ढिलै भए पनि सेवा विस्तार गरेका छौँ, स्थानीयमा पनि खुसी पलाएको छ, भौगोलिक विकटताका कारण यो ठाउँ सुन्दर हुँदा हुँदै पनि पछाडि परेको छ, गाउँपालिकाले स्वास्थ्यसँगै अन्य क्षेत्रको विकासका लागि योजना बनाइ रहेको छ ।”

निसीखोला गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य इकाइ दुई वटा, सामुदायिक स्वास्थ्य इकाइ दुई वटा गरि आठ स्वास्थ्य संस्था संचालनमा रहेको उहाँले बताउनुभयो । अहिले वडा नम्बर ४ को झिम्पामा पालिका स्तरीय १० शैयाको आधाभुत अस्पताल निर्माणको अन्तिम चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाइ छ । निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन । स्थानीय अन्धकारमै बस्न बाध्य छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *