किसानलाई धानको बिउ र मकै जोगाउनै मुस्किल

डम्मर बुढा मगर, बागलुङ
बैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बिउ लगाए । तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बिउ सुक्न थालेका छन् । लामो समय खडेरी पर्दा ब्याडमा धानको बिउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे । वर्षा नहुँदा खोलानालासमेत सुकेका छन् । खोलानाला सुक्दा सिंचाइको चरम अभावमा रहेका किसानलाई धानको बिउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ ।

जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन् । कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका विरुवासमेत सुकेर मर्न थालेका हुन् । असार सुरु हुँदासमेत पानी नपर्दा धानको बिउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ । गएका वर्षहरुमा यति बेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बिउसमेत सुकेको उहाँको भनाइ छ ।

क्षेत्री भन्नुहुन्छ – “जेठको २०/२२ मै रोपाइँ गर्ने भनेर बैशाख महिनामै ब्याड राखियो, अहिले धानको बिउ हुर्किएर ठूलो–ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागे जस्तै लगातार हप्ता दिन पानी प¥यो, यसपाली छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बिउ पनि त्यस्तै भएको छ, बढो समस्या प¥यो, बिउ जोगाउनै गाह्रो भयो ।”

स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना सुरु हुनु पूर्वनै ढपक्क बर्खा लाग्ने हुँदा किसानहरुलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरु समस्यामा परेको बताउनुभयो । खेतमा लगाएको गहुँ स्यारे लगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझोसमेत मार्न नपाएको गुनासो पोख्नु भयो । पानी नर्पदा ठाडो खोलाहरु सुकेको हुँदा सिंचाइ गर्न नपाएको उहाँको भनाइ छ ।

“पहिले–पहिले यस्तो समस्या त हुँदैनथ्यो, जेठको पहिलो÷दोस्रो सातादेखि बर्खा लाग्थ्यो, अहिले असार लागि सक्दा पनि बर्खाको अनुभूति हुन सकेको छैन, जताजतै सुख्खैसुख्खा छ, पानी परेर मकै छरियो, ब्याड राखियो, अहिले सुकेर भुसा जस्तो भन्न थाले” जिसीले भन्नुभयो – “एक झर्का ठूलो पानी परेत मकै पानी राम्रो हुन्थ्यो, खेतमा रोपाइँ गर्न पनि सहज हुन्थ्यो, अब लगातार हप्ता दिनसम्म ठूलो पानी परेन भने रोपाइँ गर्न सम्भव छैन, खोलानाला बढे भने मात्रै रोपाइँ गर्न सकिला, अहिले गाउँका खोलामा कमिला हिँड्छन्, पानी छैन ।”

अर्का किसान निलमाया विकले बैसाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै त्यस यता पानी नपर्दा बारीमा लगाएको सबै मकैको विरुवा सुकेर नष्ट हुन थालेको बताउनुभयो । मकैसँगै लगाएको कोदोको बिउ पनि कामै नलाग्ने गरि सुकेको विकले बताउनुभयो । घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बिउ हुर्काउन सफल भएको उहाँ बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बिउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उहाँकाृ भनाइ छ । उहाँका अनुसार यति बेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनु पर्ने थियो । बैसाखको वर्षाले कृषक उत्साहित भएर धेरै बिउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न संभावना बढेको प्रमुख भट्टराईले बताउनुभयो ।

“गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुन्छ भन्ने लागेको थियो, खडेरीले गर्दा केही समस्या परेको छ” प्रमुख भट्टराईले भन्नुभयो – “अब वर्षा भयो भने पनि किसानले धेरै नोक्सानी व्यहोर्नु पर्ने थिएन, जिल्लामा अझै ७५ प्रतिशत रोपाइँ गर्न बाँकी छ ।”

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यस मध्ये छ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिंचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिंचाइको सुविधा छ । त्यस मध्ये बाह्रै महिना सिंचित क्षेत्र दुई हजार ७७५ हेक्टर रहेको छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् । गाउँमा प्रसस्त खेतीयोग्य जमिन भए पनि सिंचाइको सुविधा नहुँदा बाँझै राख्नु परेको कृषकको गुनासो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *