सडकले फेरिदै सिगाना

आदर्श अनलाइन, बागलुङ

२०६५ सालमा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो ।

काठेखोलाकामा पुल नहुँदा सम्म वर्खाको समयमा सिगाना यातयात चल्न सक्दैनथे । वर्खामा खच्चडकै भरमा सामाग्री ढुवानीको विकल्प थिएन ।

बागलुङ जिल्ला सदरमुकाम देखि सिगानाको बौडैचोर पुग्नै अनेकौ सास्ती खेप्नुपर्दथ्यो । बौडैचौर पुग्न दुई घण्टा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म मुस्किलले एक घण्टामा पुग्ने बाटोमा सडक स्तरोन्नती भएर ग्राभेल भएसंगै अहिले २० मिनेटमै पुग्न सकिन्छ ।

सडकको ट्रयाक खुलेको २३ वर्षपछि सडक स्तरोन्नती भएर कालोपत्रेको चरणमा पुगेपछि ट्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेको छ ।

२०५४ सालमा बागलुङ बजारबाट तीन लाख बजेटमा सिगाना तर्फ सडक ल्याउने कामको शुरुवात भएको तत्कालिन गाविस अध्यक्ष टोप बहादुर खड्काले बताउनुभयो । खड्काले सडक खुलेको चार वर्ष सम्म ट्याक्टर गुड्न नसक्ने सिगानाको सडकमा अहिले ट्याक्सी बस र ट्याम्पो गुड्न थालेको बताउनुभयो ।

“सिगानामा सडक ल्याउन शुरुवाती काम आफैबाट भएको थियो, अहिले त सडकका घुम्तीहरु ढलान भइसकेका छन्, बाँकी भागमा कालोपत्रे गर्ने शुरसार छ” खड्काले भन्नुभयो “वडा कार्यालय सम्म एक घण्टामा मुस्किलले पुग्न सकिने सडकमा अहिले २० मिनेटमै सररर आउन सकिन्छ, यस्तै सडक बौडैचौर सम्म पु¥याउन आवश्यक छ ।”

खड्काका अनुसार सिगानाको यात्रा सहज भएपनि भाडादर भने बढ्दै गएको गुनासो गर्नुभयो । अहिले वडा कार्यालय सम्म २० मिनेटमा पुगिने यात्रामा रु. २५० भाडादर रहेको छ ।

सिगानामा एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत अहिले धमाधम सडक स्तरोन्नती संगै घुम्ती सडक ढलान भएपछि सिगानाको यात्रा छोट्टीएको हो ।

बागलुङ बजार देखि बोक्से सम्म गत वर्षनै कालोपत्रे सम्पन्न भइसकेको थियो ।

अहिले बोक्सेदेखि सिगाना सम्मको ८ किमि सडक चौडा पार्ने, पक्की नाली बनाउने र अन्य पूर्वाधार निर्माण संगै एक दर्जन घुम्ती सडक ढलान भएपनि सिगानामा अहिले नियमित बस गुड्न थालेको छ ।

सिगानामा नियमित स्कुल बस पुग्न थालेको छ भने आन्तरिक पर्यटकहरुले ट्याक्सी र अटोरिक्सा लैजान थालेका छन् ।

निर्माण व्यवसायीले ठेक्का सम्झौता गरेको ८ महिनामै झण्डै ५० प्रतिशत काम सम्पन्न भइसकेका कारण सिगानाको मुहारै फेरिएको हो । सिगानामा रु. २९ करोड लागतमा ८ किमि सडक कालोपत्रे र ढालान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भएपनि सम्झौता अगावै काम सक्नेगरी धमाधम सडक निर्माण हुँदा सिगानाको यात्रा सहज भएको हो ।

सिगानामा नियमित यात्रा गर्ने हंस सार्कीले दुई वर्ष अघिको सडक र अहिलेको सडकमा कुनै तुलना नहुँने गरी सडक स्तरोन्नती भएको बताउनुभयो । “उकालो सडक हिउँदमा धुलाम्मे, वर्खामा हिलाम्मे हुन्थ्योे, सडक जीर्ण र नमिलेको थियो” सार्कीले भन्नुभयो “अहिले सडकको ग्रेड मिलाउदा सोझो भएको छ, अहिले सिगाना पुग्न मोटर साईकलमा २० मिनेट मात्रै लाग्छ, वर्खामा मोटरसाईकल फसेर समयमै पढाउन जान समेत सक्दैनथे, अहिले यात्रा निकै सहज भएको छ ।”

निर्माणकार्य सुस्त भएपछि अधिकांश स्थानमा निर्माण कम्पनीको चार्को आलोचना भइरहेको सन्र्दभमा यहाँ निर्माण व्यवसायीको कामप्रति स्थानीयहरुले प्रशंसा गरेका छन् । सम्झौताको ८ महिनामै आधा काम सकिनु सिगाना बासीका लागि सुखद् भएको बताउदै सडक कालोपत्रे सम्पन्न पश्चात सिगाना वासीको मुहारै फेरिने स्थानीय शिव खड्काले बताउनुभयो ।

२०६४ सालमा काठेखोलामा मोटरेवल पुल निर्माण भएपछि बाह्रैमास सवारी चल्न थालेको सिगानाको सडकमा २०८० सालदेखि बस तथा ट्याक्सीहरु चल्न थालेका हुन् । सिगानामा सडक स्तरोन्नती र ढलान भइसक्दा समेत भाडादर भने समायोजन हुन नसक्नु दुखद् रहेको स्थानीय लाल थापाले बताउनुभयो । थापाका अनुसार सिगानामा सडक स्तरोन्नती भएर ट्याक्टर उक्लिन समस्या भएको सडक अहिले ग्राभेल भइसक्दा र घुम्ती सडक ढलान भइसक्दा समेत भाडादर समायोजन हुन नसकेको बताउनुभयो । “अहिले सिगानामा विद्यालयको बस नियमित चल्छ, तर यात्रु बोक्नका लागि जीप मात्रै छन्, उनिहरुको एकाधिकार छ, सिगाना वडा कार्यालय पुग्ने भाडा एक सय कायम गर्दा हुन्छ, वडा कार्यालय सम्म १० किमि मात्रै छ” थापाले भन्नुभयो “सडक बन्दै जाने तर भाडादर नघट्नु दुखद् हो सिगानामा रिजर्बमा ट्याक्सी, कार भ्यान र अटोरिक्सा समेत पुग्ने गरेका छन् ।”

सडक डिभिजन कार्यालय अन्र्तगतको सडकको अहिले सम्म झण्डै ५० प्रतिशत प्रगती भएको सडक कालोपत्रेको जिम्मा पाएको कर्ण विल्डर्सका साइट इन्चार्ज सन्दिप श्रेष्ठले बताउनभुयो ।

३२ महिनाको ठेक्का सम्झौताको काम १५ महिनामै सक्ने निर्माण व्यवसायीको लक्ष्य रहेको छ ।

अहिले बागलुङ नगरपालिका–३ बोक्सेदेखि वडा कार्यालय हुँदै गोखोला सम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण गर्ने र सबबेस विछ्याउनेको काम सम्पन्न भइसकेको छ भने एक दर्जन घुम्ती सडकमा एक किलोमिटर सडक ढलान भइसकेको छ । वर्खा सकिदा साथ धमाधम कालोपत्रे गर्ने निर्माण व्यवसायीको भनाई छ । सडक कालोपत्रे थालेको दुई महिनामै सडक कालोपत्रे भइसक्नेछ ।

उकालो, घुम्ती र चिसो स्थानमा ढलान र अन्यत्र कालोपत्रे गर्ने योजना अनुसार निर्माण कम्पनीले दु्रत गतिमा काम गरेको र यही गतिमा काम गरेमा निर्धारित सम्झौता भन्दा अगावै काम सम्पन्न हुने देखिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण पोख्रेलले जानकारी दिनुभयो ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक ३० किमि सकड मध्ये पहिलो चरणमा १० किमि सडकको काम भइरहेको र उक्त सडक सम्पन्न पश्चात पुन १० किमि सडक ठेक्कामा जानेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *