काठेखोलाको नीति तथा कार्यक्रम : प्रशासकीय भवन निर्माणदेखि शैक्षिक गुणस्तर वृद्धिसम्म

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । आइतबार १३ औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले प्रशासकीय भवन निर्माण कार्य प्रारम्भ गरिने बताउनुभयो । काठेखोला गाउँपालिका हालसम्म भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको थियो । भवन निर्माण कार्य प्रारम्भका लागि आगामी आर्थिक वर्षका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकाले पूर्वधार विकास तर्फ व्यवस्थित सडक सञ्जालको रुपमा विकास गर्दै दिगो विकास लक्ष प्राप्ति गर्ने अभिप्रायले सडक गुरुयोजना निर्माण गर्ने योजना अगाडी बढाइएको उहाँको भनाइ छ । गाउँपालिकाको गौरवको योजना अन्तरगत वडा नम्बर ६ बिहुँ सुलडाँडा, किम्वोट, चिरपानी, धरमदास हुदै ठुलढुंगा जोड्ने सडक स्तरोन्नतिका लागि ५० लाख र सुलडाँडा लेखानी मोटरबाटो अन्तरगत भुंदीखोला सिरीमपाटा खण्डको सडक स्तरोन्नतिको क्रमागत योजनाका लागि २५ लाख गरि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको थापाले बताउनुभयो ।

“हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी” गुणस्तरीय सामुदायिक विद्यालयको शिक्षाको अवधारणालाई सार्थक रुप दिन आगामी शैक्षिक सत्र २०८१ बाट जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा नै अध्ययन अध्यापन गराउने नीति अवलम्वन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बाल तथा अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिई समग्र काठेखोला गाउँपालिको शिक्षा विकासका लागि “काठेखोलावासीको इच्छा, गुणस्तरीय, व्यवहारीक र प्रविधिमैत्रि शिक्षा” कार्यक्रमलाई वैज्ञानिक तवरले व्यवस्थापन गरिने भएको छ ।

कृषि तथा पशुपालनको क्षेत्रमा हेफर प्रोजेक्ट नेपालसंग गरिदै आइएको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना साझेदारी कार्यक्रम सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकता र आयआर्जन तर्फ उन्मुख गराउदै नविनतम खेती प्रणालीको पहिचान गर्दै चिया, अलैची, टिमुर, आलु जस्ता नविनतम खेती प्रवद्र्धन र मौरी पालन कार्यक्रमका लागि १९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक चालु आर्थिक वर्षदेखि नै सुरुवात गरिएको र विद्यालय कर्मचारी एवम बालविकास सहजकर्ताहरुको तलब भत्ताका लागि ८६ लाख रुपैयाँ र अंग्रेजी भाषालाई सहयोग पुराउने गरि विद्यालयमा के.जी.कक्षा व्यवस्थापनका लागि आगामी २० लाख रुपैयाँ बजेट विनयोजान भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले बजेट ५६ करोड १२ लाख ३४ हजार
आर्थिक वर्ष २०८०/८१ को लागि ५६ करोड १२ लाख ३४ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औं गाउँ सभामा उपाध्यक्ष तेजबहादुर थापा (तिलक)ले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड, सर्शत र समपुरक शिर्षकमा प्राप्त अनुदान गण्डकी प्रदेश सरकारबाट प्राप्त हुँने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाले संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान ९ करोड ९७ लाख, संघीय सरकार ससर्त अनुदान ३० करोड ४२ लाख, विशेष अनुदान १ करोड १५ लाख,समपुरक अनुदान ५० लाख, राजस्व बाँडफाँड, ८ करोड ५० लाख ९६ हजार १००, गण्डकी प्रदेश सरकार वित्तीय समानिकरण अनुदान १ करोड ३० लाख ४४ हजार, राजस्व बाँडफाँड अनुदान ६८ लाख ६२ हजार, मालपोत कार्यालयबाट बाँडफाड हुने घरजग्गा रजिस्ट्रेशन दस्तुर ५ लाख, गाउँपालिकाको आन्तरिक आय ७० लाख गण्डकी प्रदेश सरकार सशर्त अनुदान ५० लाख, गण्डकी प्रदेश सरकार समपुरक अनुदान ५० लाख, संचित कोषबाट अल्या हुने अनुमानित रकम १ करोड ८३ लाख ३१ हजार ९०० आय अनुमान गरी बजेट निर्माण गरिएको उपाध्यक्ष थापाले बताउनुभयो ।

बजेटमा गाउँपालिकाले आर्थिक विकास तर्फ दुई करोड ६३ लाख ५२ हजार, पुर्वाधार विकास तर्फ सात करोड ४३ लाख ९ हजार, सामाजिक विकास तर्फ चार करोड ६७ लाख २० हजार, सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ ८९ लाख ८६ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७१ लाख ६७ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *