ढोरपाटन देउरालीमा वन्यजन्तुको मूर्ति स्थापना

डम्मर बुढा मगर, बागलुङ
नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा आउने आगन्तुकलाई आकर्षण गर्न देउरालीमा वन्यजन्तुको मूर्ति निर्माण गरेको छ । ढोरपाटन नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख रुपैयाँले उपत्यका प्रवेशद्वार देउरालीमा झारल र नाउरको मूर्ति बनाइएको हो ।

नाउर र झारल ढोरपाटन सिकार आरक्षमा मात्रै पाइने हुँदा मूर्ति बनाइएको नगरपालिकाले जनाएको छ । सिकार आरक्षमा देउराली हुँदै पुग्ने हुँदा आन्तरिक तथा बाह्य पर्यटकले देख्ने गरि मूल प्रवेशद्वारमै वन्यजन्तुको मूर्ति राखिएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो । सिकार आरक्षलाई चिनाउनका लागि ‘सिम्बोल’ का रुपमा मूर्ति राखिएको उहाँको भनाइ छ ।

अहिलेसम्म प्रवेशद्वारमा सिकार आरक्ष चिनाउने खालक कुनै पनि संरचना नबनेको भन्दै यसपालिका नगरपालिकाले सुरुवात गरेको उपप्रमुख कायतको भनाइ छ । प्रवेशद्वारलाई व्यवस्थित बनाउँदै आगन्तुकलाई सहज रुपमा उपत्यका पुग्ने वातावरण बनाइने उहाँ बताउनुहुन्छ । सडकका कारण ढोरपाटन पुग्ने पर्यटकले समस्या भोग्नु परेको भन्दै सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरि रहेको बताउनुभयो ।

उपप्रमुख कायत भन्नुहुन्छ – “ढोरपाटन जति सुन्दर छ प्राकृतिक रुपमै छ, अहिलेसम्म त्यसलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्ने काम हुन सकेको छैन, हामीहरुले कोसिस गरि रहेका छौँ, यसपाली दुई वटा वन्यजन्तुको मूर्ति राखेका छौँ, अहिले जुन ठाउँमा मूर्ति रहेको छ, त्यो ठाउँ ढोरपाटन पुग्ने जोकोही मूर्ति देखेर/हेरेर मात्रै बल्ल उपत्यकामा प्रवेश गर्ने हुँदा प्रवेशद्वारमा मूर्ति बनाएका छौँ, यसले ढोरपाटनमा पर्यटक आकर्षण गर्न भूमिका खेल्ने छ ।”

मूर्ति लुम्बिनी स्टोन कार्भिङ प्रा.लि ललितपुरले निर्माण गरेको हो । उपप्रमुख कायतले सडकका कारण ढोरपाटन आउने पर्यटकको संख्यामा वृद्धि हुन नसकेको बताउनुभयो । वर्षौँ अगाडि ट्रयाक खुलेको सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म स्तरोन्नती हुन नसक्दा स्थानीयलाई समेत आवतआजतमा समस्या भएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *