लागुऔषध त्यागेर सचेतनामा युवा


आदर्श अनलाइन, बागलुङ

१४ वर्षको उमेरबाट लागुऔषध दुव्र्यसनीमा फस्नु भएका रमेश भण्डारी अहिले लागु औषध प्रयोग गर्नु हुँदैन भनेर जनचेतना फैलाउने अभियानमा हुनुहुन्छ ।

बागलुङ नगरपालिका–२ श्रीनगर टोल निवासी भण्डारीले लागु औषधमा फसेको त्यो जर्जर ८ वर्षे अध्यारो यात्रालाई विर्सेर नयाँ जीवन जिउदै हुनुहुन्छ । उहाँले आफूले जस्तो दुःख अरुले भोग्न नपरोस भन्दै समाज रुपान्तरण र लागुऔषधमा फसेकालाई पुनस्थापना गर्न तर्फ लागेको बताउनुहुन्छ ।

“नौ कक्षा पढ्दा देखिनै लागु औषध दुव्र्यसनीमा लागे, चुरोट बाट शुरु भएको दुव्र्यसनीको यात्रा कोकिन र हिरोइन सम्म पुग्यो, सुई मार्फत लागुऔषध प्रयोग समेत गरे” त्यो कालो ८ वर्षे यात्रालाई सम्झदै भण्डारीले भन्नुभयो “लागुआषैधमा फसेको ८ वर्ष सम्म पारिवारिक असन्तुलन, सामाजिक बहिस्कार र शारिरिक स्वास्थ्यमा धेरै समस्या आयो, प्रहरीले पक्राउ गरेपछि मात्रै सुधार केन्द्रमा पुगेको थिए, सुधार केन्द्रमा भइरहेका क्रिर्याकलापहरुबाट प्रभावित भए, सुधार केन्द्रबाट फर्केको ६ वर्षपछि आफ्नै पहलमा पुनस्थापना केन्द्र सञ्चालनमा ल्याएको छु ।” लागुऔषधमा फसेका युवाहरु परिवार र समाजमा पुनस्थापना हुन निकै समस्या हुनेगरेको आफ्नै अनुभव रहेको बताउनुभयो ।

लागुऔषध प्रयोग गरिरहेको समयमा प्रहरीले पक्राउ गरेपछि परिवारले सुधार केन्द्रमा राखेर उपचार गरेको भण्डारीको भनाई छ । अहिले उनै भण्डारी जिल्लामा लागुऔषध विश्रद्धको सचेतनामुलक अभियानमा प्रहरीसंगै मिलेर काम गरिरहनुभएको छ ।

उहाँले आफूले अध्यारो जीवनलाई उज्यालो तर्फ लैजाने प्रयास गरिरहेको बताउदै युवाहरुलाई लागु औषधमा फस्न नदिन प्रहरी र पुनस्थापना केन्द्रबीचको समन्वयमा विद्यालयमा समेत सचेतनामुलक कार्यक्रम गर्दे आएको बताउनुभयो ।

लागुऔधमा छोराछोरी फस्दा परिवारमा हुँने समस्याको विषयमा आफै अनुभवी रहेकोे बताउदै भण्डारीले पुनस्थापना केन्द्र मार्फत लागुऔषधमा फसेकालाई मनोपरामर्श गर्ने, योग तथा ध्यान गराउने र विस्तारै परिवारमा पुर्नमिलन गराउदै सामान्य जीवन यापनमा फर्काउने काम गरिरहेको जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–२ रुद्रेपिपलका प्रवेश बोहोरा लागु औषधमा फसेको त्यो समयलाई आफूले कालो दिनको रुपमा स्मरण गर्नुहुन्छ । पढाईमा अब्बल रहेको आफू साथीहरुको संगते चुरोटबाट कुलतमा फसेको बताउनुहुन्छ । लागुऔषधका कारण आफ्नो जीन्दगीले नराम्रो मोड लिएको अनुभव बोहोराको छ ।

“लागुऔषधमा फस्ने कुरा जिन्दगीमा नसोचेको भयो, साथीहरुको संगतले लागु औषधमा फसे, परिवार, आफन्त र समाजबाट टाढा भए, आफ्नै आमालाई चिन्न सकिन” बोहोराले भन्नुभयो “आमालाई माया समेत गर्न विर्सेको म अहिले लागु औषधबाट छुटकारा पाउदा खुसी छु, अहिले लागुऔषधमा म जस्तै नफसुन भन्ने मात्रै हो, पढाईमा अब्बल भएपनि कक्षा पाँचबाटै लागु औषधमा फसेको थिए, चुरोट खाँदा खाँदै गाँजा, चुरोट हुँदै अन्य लागु औषधहरु समेत प्रयोग गरे, लागु औषधकै कारण पढाई छोडे अहिले सम्झदा पीडा हुन्छ ।”

लागुऔषधमा छोरो फसेपछि समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको सम्झाना क्षेत्रीले बताउनुभयो । क्षेत्रीका अनुसार आफ्नो छोरा लागु औषधबाट छुटकाराको चरणमा पुगेको भन्दै आफ्नो छोरा जस्तै अन्य छोराहरु लागुऔषधमा नफस्न विशेषगरी आमाहरु सचेत हुन आवश्यक रहेको छ ।
छोराको आनीबानी, साथी संगीको संगत र उस्ले गर्ने व्यवहारबाट लागुऔषधमा फसे नफसेको छुट्टाउन सहज हुने उहाँको भनाई छ । “घरमा नआउने, खाना नखाने, एक्लै कोठामा सुतिरहने समस्या हुँदो रहेछ, पछि मात्रै छोरा लागुऔषधमा फसेको कुरा पत्ता भयो” क्षेत्रीले भन्नुभयो “समाजले हेर्ने दृष्टिकोण बद्लियो, छोरा अहिले लागुऔषधबाट छुटकारा पाउने अवस्थामा आइसकेको छ, आफ्नो छोरा छोरीलाई लागुऔषधमा फस्न नदिन आमा बुबा सचेत हुन आवश्यक छ ।”

उहाँका अनुसार परिवारबाट धेरै माया पाएका र अपहेलितहरु बढी लागुऔषधमा फस्ने गरेको क्षेत्रीले सुनाउनुभयो । लागुऔषधमा फस्ने युवायुवतीको पहिलो चरणमा चुरोट नै सेवन गर्ने गरेको अनुसन्धानको क्रममा पाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

“लागुऔषधमा फसेको धेरै युवायुवतीहरुले चुरोट सेवनबाट शुरुवात गरेको अनुसन्धानबाट देखिन्छ, चुरोट खाने, चुरोटले नपुगे चुरोट संग गाँजा मिसाउने, पछि अफिम तथा लागु औषध मिसाउने गरेको पाइन्छ” केसीले भन्नुभयो “हामी निरन्तर लागु औषध सेचतनामुलक कार्यक्रम गर्दे आएका छौं, गण्डकी प्रदेशमा ९ हजार लागु औषध प्रयोग कर्ताहरु रहेको पाइन्छ ।”

लागुऔषधमा फसेका युवाहरुले लागुऔषध सेवनका लागि चाहिने आवश्यक रकम चुटाउन चोरी गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । लागुऔषधमा फसेका युवाहरुको शरिरमा गिर्खा देखिने, पाक्ने, कुपोषण हुने र शारिरिक तोल घट्ने गरेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

लागुऔषध त्यागेर सचेतनामा युवा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *