युवाको अपेक्षा पुरा गर्ने संकल्पका साथ कार्यक्षेत्रमा जुटौ : एमाले सचिव विष्ट

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई ठिक बाटोमा ल्याउनका लागि युवाहरुको अपेक्षा पुरा गर्ने संकल्पका साथ कार्यक्षेत्रमा खटिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।

नेकपा एमाले बागलुङको वैठकमा बोल्दै पार्टी सचिव विष्टले राजनीतिबाट विमुख बन्दै गएको युवालाई राजनीतिमा केन्द्रीत गराउदै उनीहरुको भावना र चाहनालाई आत्मसात गर्दै कार्यक्षेत्रमा खटिन आव्हान गर्नु भएको हो ।

युवा पुस्ताले परिणाम छिटो खोज्छ, यो उसको स्वभाव हो, युवालाई यथार्थ अवस्था बुझाउन, विकासमा साझेदार बनाउन तथा आयआर्जन र रचनात्मक काममा संलग्न गराउदै युवाको सहभागितामा विकास निर्माणलाई अगाडि बढाउनु पर्ने आजको आवश्यकता रहेको विष्टको भनाइ छ ।

यो मुलुकमा आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा सबै भन्दा धेरै र प्रभावकारी काम एमालेले गरेको छ, तर के हामीले गरेको कामबाट पनि युवा लगायत आम समुदाय सन्तुष्ट छन् त ? यतिबेला थप गंभिरताका साथ समस्याको पहिचान गर्ने र समाधानका उपाय सहित जनताका बीचमा जाने काम एमालेका सम्पूर्ण पंक्तिले गर्नु पर्नेमा विष्टको जोड छ ।

नयाँ शक्तिहरुप्रतिको आकर्षणका बारेमा चर्चा गर्दै विष्टले यो मुलुकमा धेरै पटक धेरै शक्तिहरुप्रति जनताको समर्थन भएको तर ति समयसंगै कजमोर हुदै गएको बताउनुभयो । कुनै दिन यो मुलुक कांग्रेसकै मात्र हो कि जस्तो थियो, आज कांग्रेस एमालेसंगै एक्लै भिड्न नसक्ने अवस्थामा पुगेको छ, २०६४ सालमा अब यो देशमा माओवादी बाहेक अरु कुनै शक्ति हुदैनन् भन्ने मान्छेहरुलाई लागेको थियो, २०७९ मा आउदा माओवादी तेस्रो शक्ति, त्यसमा पनि पहिलो र दोस्रो भन्दा धेरै तल पुगेको अवस्था छ, एउटाको अडेस नलगाई चुनावमा जानै नसक्ने अवस्थामा माओवादी छ ।

राजनीतिक विचार, योजना र कार्यक्रमका साथ अगाडि बढ्नेहरु टिक्ने कुरामा समस्या नहुने भन्दै नेता विष्टले एमालेसंग वैचारिक स्पष्टता, विकासको दृष्टिले धेरै परसम्मको सोच, सामाजिक हिसावले न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्य भएकाले एमाले नेपाली जनताको पहिलो रोजाईका रुपमा रहेको उहाँले दावी गर्नु भयो । गत चुनावमा समानुपातिकतर्फ जनताले एमालेलाई नै पहिलो दल बनाएका छन, प्रत्यक्ष निर्वाचनमा सबै दल मिलेको हुनाले मात्रै एमाले दोस्रो भएको हो । आगामी निर्वाचनमा सबै एकजुट भएर लड्दा पनि एमाले प्रत्यक्षतर्फ पनि पहिलो हुने विष्टको दावी छ ।

यो मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरण एमालेबाट मात्र संभव छ भन्ने कुरालाई मनन गरेर जनताका बीचमा आजैदेखि केन्द्रीत भएर लाग्न उहाँले कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो ।कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज जगत विश्वकर्माले पार्टीलाई थप शसक्त र व्यवस्थित रुपमा सञ्चालनका लागि कमिटिहरुलाई व्यवस्थित गराउनु पर्ने बताउनु भएको थियो ।

एमाले बागलुङको वैठकले आगामी साउनदेखि सञ्चालन गर्ने गरी वार्षिक योजना निर्माण गर्नुका साथै पार्टी सदस्यता नविकरणलाई व्यवस्थित गराउने, युवाहरुलाई हरेक कमिटिमा र सदस्य विस्तारमा जोड्ने निर्णय गरेको कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

वैठकमा जिल्ला अध्यक्ष हिरा बहादुर केसीले वार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद भुषालले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *