फोटो फ्रेम उद्योगबाट व्यवासायिक बन्दै कैलाश सहकारी

रोहन जि.सी, बागलुङ

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड बचत तथा ऋणसंगै उद्योग सञ्चालन गरेको गण्डकी प्रदेशमै फरक पहिचान स्थापित गर्न सफल भएको छ । संस्थाले १ दशक भन्दा बढी समयदेखि नियमित रुपमा बचत तथा ऋण र फ्रेम उद्योग सञ्चालन गर्दै आइरहेको छ ।

२०६८ पौष ३ गते स्थापना भएको कैलाश साकोस अहिले १२ औं वर्षमा प्रवेश गर्दै उत्कृष्ट सहकारी बन्न पुगेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुद्वारा २०७० सालमा पोखराको टुँडाकोपाटन–४ मा कैलाश फोटो फ्रेम उद्योग स्थापना गर्दै संचालन गरिरहका छन् । कैलाश सहकारी मार्फत सञ्चालित फोटो फ्रेम उद्योग पोखरा मात्र नभएर प्रदेशकै राम्रो उद्योगको रुपमा परिचित छ ।

नेपालको पर्यटकीय राजधानी पोखरामा फोटोग्राफी पेशासंग आबद्ध पोखरा फोटोग्राफर संघमा रहेका व्यवसायीबाट सहकारी ऐन २०४८ अन्र्तगत सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय कास्कीमा विधिवत रुपमा २०६८ पौस ३ गते दर्ता भई कारोवार शुरुवात गर्दै आएको सहकारी संस्था हो ।

सहकारीले प्रतिपादन गरेको समुदायप्रतिको जिम्मेवारीलाई आत्मसाथ गर्दै सदस्यहरुको आर्थिक उन्नतिको निम्ति उनीहरुकै व्यवसायसँग सम्बन्धित उद्योग संचालन गरि कैलाश बचत तथा ऋण सहकारीले समुदायमा एउटा उदाहरण बन्न पुगेको छ ।

सहकारीहरु बचत तथा ऋणमा मात्र केन्द्रीत रहेको गुनासो आइरहदा कैलाश बचत तथा ऋण सहकारी संस्थाले कैलाश फोटो फ्रेम उद्योगमार्फत देशको समृद्धिमा योगदान पुर्याउँदै मुलुकभरका अन्य सहकारीहरुका बिच आफ्नो बेग्लै पहिचान स्थापित गरि एउटा फरक उदाहरण बनेको छ । पोखराभित्र मात्र नरहेर गण्डकी प्रदेशका अधिंकाश फोटोग्राफी व्यावसाय गर्ने फोटोग्राफरहरु वा फोटोग्राफी पेशामा आबद्ध व्यक्तिहरुलाई व्यवसायिकमुखी बनाउने माध्यम हो कैलाश फोटो फ्रेम उद्योग ।

हिजोका दिनमा ब्यक्तिगत ब्यबसायीहरुबाट महंगो मुल्यमा गुणस्तरहीत फ्रेम खरिद गरि बेच्न बाध्य फोटोग्राफरहरु आज आफ्नै उद्योगमा उत्पादित आधुनिक डिजाईनका आकर्षक तथा गुणस्तरीय फ्रेमहरु सुपथ मुल्यमा छरितो रुपमा उपभोग गर्न सक्षम भएका छन् । सहकारीले आफ््ना शेयर सदस्यलाई आफ्नै फोटो फ्रेम उद्योग छ भनेर गर्व गर्न सक्ने अनुभुति दिलाएको छ । उद्योगबाट फोटोग्राफरहरुको आर्थिक बिकासमा टेवा पुगेको छ । जसको निम्ति उद्योगले आफ्नो छरितो सेवामार्फत शेयर सदस्यहरुलाई ठुलो राहत प्रदान गरेको छ ।

उद्योग स्थापना भएको सुरुवाती दिनहरुमा फ्रेमको मात्र उत्पादन तथा विक्री गर्ने गरेको उद्योगले शेयर सदस्यहरुको आबश्यकतालाई ध्यानमा राखी आफ्नो ब्यबसायलाई विस्तार गर्ने क्रममा हाल फोटो प्रिन्ट तथा फ्लेक्स प्रिन्ट सेवा पनि थप गरि फोटोग्राफी ब्यबसायमा ठुलो योगदान पुर्याएको छ । उद्योगको कलर ल्यावमा २४/५६ सम्मको फोटो तथा फ्लेक्समा ६ फिटसम्मको फ्लेक्स प्रिन्ट गर्न सकिने र फ्लेक्स प्रिन्टमा उत्कृष्ट गुणस्तरका सुपर म्याट, क्यानभास, सिल्क, स्टिकर, फोटो मिडिया र ब्यानर मिडिया पेपरहरु उपलब्ध रहेको कैलाश साकोसका प्रबन्धक एंव कैलाश फोटो फ्रेम उद्योगका व्यवस्थापक सागर शर्माले जानकारी दिनुभयो ।

पहिला फोटो र फ्लेक्स प्रिन्ट गर्दा चर्को मुल्य तिर्न बाध्य फोटोग्राफरहरु अहिले आफ्नै उद्योगमा सुपथ मुल्यमा उत्कृष्ट प्रिन्टको अनुभव गर्न सफल भएको कैलाश बचत तथा ऋण सहकारीका शेयर सदस्य एंव फोटोग्राफर रविनाथ दाहालले बताउनुभयो । यहाँको फ्रेम, फोटो र फ्लेक्सको गुणस्तर अन्यत्रभन्दा उत्कृष्ट रहेको बाहिरी जिल्लाका सेवाग्राहीहरुको पनि धारणा रहेको छ ।

हाल संस्थामा २५ जना कर्मचारीहरु कार्यरत छन् । उद्योगले शेयर सदस्यको आर्थिक बिकासका साथसाथै स्वदेशमै रोजगार सृजना गरि कर्मचारीहरुको आर्थिक बिकास तथा दक्ष कामदारहरु उत्पादन गरि देशको आर्थिक तथा सामाजिक बिकासमा टेवा पुर्याउन सफल भएको छ । यस कैलाश फोटो फ्रेम उद्योग कला सिकाउने एउटा माध्यम बनेकोे छ । साथै संस्थाले आफ्ना कर्मचारीहरुको सुरक्षाका लागि दुर्घटना बिमा तथा सामाजिक सुरक्षा कोष स्थापना गरेको कैलाश साकोसका सचिव विष्णुहरि अधिकारीले जानकारी दिनुभयो ।

सहकारी संस्था स्थापना पश्चात एकै प्रकारको पेशा व्यवसाय भएकाहरु बिच सोही सम्बन्धि फोटो फ्रेम उद्योग २०७० पौष ३ गते नै दर्ता गरि स्थापना गर्दै हालसम्म सञ्चालन गरिरहेको र सहकारीको नाममा जग्गा खरिद गरि अस्थायी संरचना तयार गरी उद्योग सञ्चालन गर्दै समय सापेक्षीत रुपमा व्यवसायलाई चाहिने सम्पूर्ण सामानहरु जस्तै कलर ल्याब (फोटो प्रिन्टर) मेशिन र फेलेक्स मेशिन थप्दै सहकारीमा आबद्ध सदस्यहरुलाई सेवा सुबिधा दिदै आइरहेको कैलाश फोटो फ्रेम उद्योगका सहायक व्यवस्थापक प्रदिपराज घिमिरेले जानकारी दिनुभयो ।

कैलाश साकोसले उद्योग र बचत, ऋणको कारोवार एउटै कार्यालयबाट सञ्चालन गर्दै आइरहको अवस्था रहेको छ । शेयर सदस्यले अन्य संस्थाबाट गर्ने कारोवारलाई न्यूनिकरण गरी यसै संस्थाबाट सम्पूर्ण कारोवार गर्नको लागि सहज वातावरण बनाएर बचत तथा ऋण कार्यविधिलाई नेपाल सरकारको नयाँ ऐन अनुसार संशोधन गर्ने र सहकारीमा उत्पादित वस्तुलाई गुणस्तरीय बनाई सेवाग्राही समक्ष छिटो छरितो पुरÞ्याउने योजना रहेको कैलाश साकोसका अध्यक्ष खडानन्द अधिकारीले जानकारी दिनुभयो ।

वर्तमान नेपालको तीन खम्बे अर्थनीति अवलम्बन गरेको छ । जस अनुसार मुलुकको अर्थतन्त्र निर्माणका लागि केही हदसम्म सहकारीले आफनो ठाँउबाट सहयोग गर्दै आइरहेको छ । हालसम्म आइपुग्दा उद्योग सञ्चालन र सहकारी सञ्चालन गर्दा प्रदेशभरबाट ३५ जनालाई प्रत्यक्ष रोजगारी दिदैं आएको छ । वेला वेलामा सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक पुर्णकुमारी थापाले सहकारी एउटा उत्पादन गर्ने अभियान हो, यो सामाजिक परिवर्तनको उचित माध्यम हो र नागरिकका बीच एकता मित्रताका भावना जगाउने सक्षमताको माध्यम रहेको बताउनुभयो । थापाले कैलाश सहकारीको नारा सहित अगाडी बढी स्वयं सेवाको भावनाका साथ सहकारी माध्यमद्वारा सवैलाई सुशासन र समृद्धिमा रुपान्तरित गर्न एक जुट हुन आव्हान गर्नुभयो ।

कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्य क्षेत्र कास्की जिल्लाभर रहेको छ । हाल संस्थामा १९४ जना शेयर सदस्य रहनुभएको छ जसमा महिला ५८ र पुरुष १३६ जना हुनुहुन्छ । संस्थामा ३ करोड १५ लाख शेयर पूजी, ७ करोड ८० लाख बचत, ८ करोड ८६ लाख रुपैया ऋण लगानी र उक्त कैलाश सहकारी फ्रेम उद्योगतर्फ १ करोड ३० लाख लगानी रहेको छ । सहकारीको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ४ टुडाँको पाटनमा जग्गा तथा अस्थायी भवन रहेको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), जिल्ला सहकारी संघ लिमिटेड कास्की, कास्की जिल्ला बचत संघ लगायतका संस्थामा कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आवद्धता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *