बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० ओटा स्थानीय तहमा पुगेर २१३ खानेपानी मुहानहरुको नमुनाका रूपमा लिइएको मुहानको पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परिक्षण गर्दा कोलीफर्म भेट्टीएको पाइएको छ । स्वास्थ्य कार्यालयले एक महिना अघि मात्रै निसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परिक्षण गर्दा तिग्रापानी भन्ने स्थानको मुलमा कोलीफर्म भेट्टीएको थियो ।

निसीखोलामा मात्रै सात स्थानका खानेपानी मुहानको नमूना परिक्षण गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताउनुभयो । चालु आर्थिक वर्षमा २१३ खानेपानी मुहानको नमुना संकलन गरी परिक्षण गरिएको थियो, जस मध्ये ७७ खानेपानीको मुल तथा धारामा कोलीफर्मको मात्रा देखिएको आचार्यको भनाई छ ।

“निसीखोला–६ मा अधिकांश विद्यार्थीहरुमा झाडापखला र टाईफाईड जस्ता सरुवा रोग देखिएको थियो, स्वास्थ्य चौकीबाट धेरै विद्यार्थीहरु विरामी भएको जानकारी आएपछि भलकोटका विद्यालयमा वितरण गरेको खानेपानी परिक्षण गर्दा कोलिफर्म भेटिएको थियो” आचार्यले भन्नुभयो “स्वास्थ्य कार्यालयले अहिले विद्यालयमा वितरण गरिरहेको खानेपानीको मुहान र धारामा परिक्षण गर्ने गरेका छौं, जिल्लामा चालु आर्थिक वर्षमा ७७ खानेपानीका मुहान र धारोमा कोलीफर्मको मात्रा देखिएको छ ।”

आचार्यका अनुसार बागलुङ बजारमा ६० हजार नागरिकहरुले उपभोग गर्दै आएको नगरखानेपानीले वितरण गर्दै आएको खानेपानीको मुहान र धारो दुबैमा कोलिफर्म फेला परेको बताउनुभयो । बागलुङ नगरखानेपानीले बागलुङ बजारमा वितरण गरेको रेशखोला र भुदीखोला मुहान दुबैमा कोलीफर्म फेला परेको बताउनुभयो ।

जिल्लाका नागरिकहरुले उपभोग गर्दै आएको खानेपानीको अवस्थाका विषयमा स्वास्थ्य कार्यालय बागलुङले वर्षेनी परिक्षण गर्दै आएको र दुषित देखिएको खानेपानी मुहानका उपभोक्ताहरलाई सचेत गराउदै आएको स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

कोलिफर्म देखिएको खानेपानीको मुहानमा ट्रिटमेन्ट गरेर मात्रै वितरण गर्न आवश्यक रहेको बताउदै शर्माले एक पटकको परिक्षण र एक पटकको ट्रिटमेन्टले मात्रै समस्या समाधान नहुँने भन्दै खानेपानी उपभोक्ता समिति नै बढी जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो ।

“कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमण हुने गर्दछ, जिल्लाको केही गाउँ र विद्यायमा यो अवस्था चालु आर्थिक वर्षमानै आइसक्यो” प्रमुख शर्माले भन्नुभयो “कोलीफर्म भएको पानीले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ,हिउँदको समयमा भन्दा बर्खायामको समयमा ‘कोलीफर्म’ बढी भेटिन्छ ।”

वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहोरलाई पानी मिसाउँछ भने मानिस तथा पशुको दिसा बगेर खानेपानीको मुहानमा पुग्ने जान्छ । खानेपानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्च मात्रामा रहेको पाइएको छ । झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने स्वास्थ्य कार्यालय प्रमुख शर्माको भनाई छ ।

कोलीफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगहरूले महामारीको रूप लिन सक्ने पनि अवस्था आउन सक्ने भन्दै यसबाट जोगिनको लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउन आवश्यक हुन्छ ।

कोलिफर्मबाट बच्न प्रत्येक मुहानमा ट्रिटमेन्ट प्लान्टमा केमिकल प्रयोग गर्न आवश्यक रहेको हुन्छ । कोलीफर्म फेला परेको खानेपानी मुहानका उपभोक्रा समितिलाई कोलिफर्म निमूल पार्न स्वास्थ्य कार्यालयले सचेत बनाइराखेको छ ।

ट्रिटमेन्ट प्लान गराउन, मुहान वरपर सफा राख्न, पाइपलाईन मर्मत गर्न उपभोक्ता समितिलाई ताकेता गरिएको छ । जिल्लाका ७७ खानेपानीका मुहानमा कोलिर्फ फेला परेको नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको देखिन्छ ।

कोलीफर्म फेला पर्नु भनेको हामीले पिउने भनेको पानीमा दिसा मिसिएको छ भन्ने हो । कोलीफर्मको जीवाणुले कडा झाडापखाला तथा मिर्गौला समेत फेल गराउन सक्दछ । खानेपानीमा कोलीफर्म देखिनु भनेको हैजाको पनि जोखिम बढ्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *