प्रबिधिको विकासले लोप भए ढिकी जाँतो


डम्मर बुढा मगर, बागलुङ
डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउँ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन् । जब यहाँका गाउँहरुमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई/तीन वटा मिल संचालन गर्न थाले । मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जातोको महत्व हराउँदै गयो । अहिले गाउँको कुनै पनि कुनामा ढिकी जाँतो भेट्याउन सकिन्न । बरु घर–घरमा विद्युतीय मिल भेटिन थालेका छन् ।

विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुको साथै लोप हुँदै गएका छन् । कुनै बेला गाउँलेको कुटानी पिसानी गर्ने प्रमुख माध्यम मानिने ढिकी जाँतो अहिलेका पुस्ताले चिन्नसमेत छोडि सकेका छन् । खोलाको ढुङ्गालाई मिस्त्रीले कलात्मक रुपमा कुँदेर जाँतो बनाउँथे भने काठको टुप्पोमा फलमको काँज लगाई भुइँमा पक्को ढुङ्गाको ओखल बनाई ढिकी बन्थ्यो । ढिकी, जाँतोको विकासपछि पानी घट्ट प्रयोगमा आएको बुढापाकाको भनाइ छ ।

पानी घट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरि केही माथिदेखि ठूलो पाइप मार्फत फिर्केसम्म झर्ने गरि बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानी घट्टहरु ठाडो खोलाहरुमा पनी बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्टहरु जीर्ण अवस्थामा देखिन्छन् । नयाँ प्रबिधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएको प्रति बुढापाका दुखेसो पोख्छन् ।

नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरुको पालाका ढिकी, जातो र ओखलहरु हराउँदै गएको निसीखोला गाउँपालिका–७ का देवबहादुर पुन मगर बताउनुहुन्छ । मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यन्नमा हुने पौष्टिक तत्व नष्ट हुने पुन मगरको भनाइ छ ।

“पहिले–पहिले ढिकी जाँतोमा कुटे, पिसेको आँटो, पिठो र चामलको स्वादै फरक हुन्थ्यो, अहिले मिलले कुटेको पिठो आँटो खायो भने त्यत्ति स्वादिष्ट हुँदैन, मिलले चामल, मकैको बाहिरी बोक्रासँगै त्यस भित्र हुने पौष्टिक तत्त पनि नष्ट गरि दिँदो रैछ,” पुन मगरले भन्नुभयो – “अहिले त खाँदा खाँदै बानी प¥यो पहिले मिलमा पिसको आटो र चामल खास्सै मिठो लाग्दैनथ्यो, सजिलो मात्रै खोजेर हुँदैन रैछ, यसले स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ भन्ने पनि बुझ्नु पर्छ ।”

अर्का स्थानीय तिलबहादुर सुनारले अहिले गाउँमा कसैको घरमा पनि ढिकी जाँतो नभएको बताउनुहुन्छ । अहिलेको पुस्ताले ढिकी कुट्न र जाँतो पिस्न गाह्रो मान्ने हुँदा यस्ता परम्परागत सामग्रीहरुको अस्तित्व संकटमा पर्दै गएको उहाँले बताउनुभयो । पहिले आफ्नो परिवार ११ जनाको हुँदा घरमा दुई वटा जाँतो र एउटा ढिकी रहेको स्मरण गर्दै पालैपालो आँटो पिठो पिसेर उपभोग गरेको सुनारले बताउनुहुन्छ । अहिले मिलले मान्छेलाई अल्छि बनाउनुको साथै रोगीसमेत बनाएको सुनारको भनाइ छ ।

उहाँ भन्नुहुन्छ – “उतिबेला विहान सबेरै उठेर ढिकी कुट्ने, जाँतो पिस्ने र जंगलमा घाँस दाउरा गर्न जाने गर्थे, घरमै कुटेको पिसेको चामल पिठोमा प्रसस्त तागत हुन्थ्यो, काम गर्दा कसरत बढी हुन्थ्यो, मान्छे स्वस्थ हुन्थे, अहिले त कुट्न पिस्न परे मिलमा जान्छन्, विहान अबेरसम्म सुत्छन्, त्यसले गर्दा कसरत पनि हुँदैन, मान्छे रोगी हुँदै गए, मेरो घरमा दुई वर्ष अगाडिसम्म पनि जाँतो र ढिकी थियो, पछि नयाँ घर बनाउने बेला उप्काएर फाले छन्, अहिले गाउँको कसैको पनि घरमा यस्ता सामान छैनन् ।”

उहाँका अनुसार पहिले ढिकीमा आँटो, पिठो र सातु पिस्ने गरिन्थ्यो भने ढिकीमा चामल, जौँ र गुन्द्रुक बनाउनका लागि मुला कुट्ने गरिन्थ्यो । खास गरि तिहारको बेला ढिकी जाँतो बढी प्रयोग हुने गरेको हुँदाले बताउनुभयो । तिहारको बेला ढिकीमा कुटेको चामलको पिठोले टिका लगाउने, दयो बनाउने र नुन कुटेर वस्तुभाउलाई खुवाउने गरेको स्मरण गर्दै अहिले त्यो प्रचलनसमेत हराएको सुनारको भनाइ छ ।

मिलले कुटानी पिसानीका लागि सहज बनाई दिनुका साथै समयको बचतसमेत भएको स्थानीय ७३ वर्षीया सोभा कुमारी क्षेत्रीले बताउनुभयो । पहिले पानी घट्ट तथा जाँतोमा आँटो पिठो पिस्ने गाउँलेहरुको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानी पिसानीको लागि जाने गरेको बताउनुभयो । पहिले पानीघट्ट संचालन गरेकाहरु अहिले बन्द गरेर बस्न बाध्य भएको उहाँको भनाइ छ ।

“घट्ट संचालकले मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरुबाट थोरै महशुल उठाउने गर्थे, त्यहीबाट घट्ट संचालकहरुले आफ्नो परिवार चलाउने गरेका थिए, अहिले गाउँलेहरुले कुटानी पिसानीका लागि मिलमा जान्छ, घट्टमा कोही पनि आउँदैनन्” उहाँले भन्नुभयो – “मिलले ढिकी जाँतो र घट्टले भन्दा छिटो कुट्ने पिस्ने काम गरेर होला, पहिले निकै चलको घट्टहरु अहिले जीर्ण बनेका छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *