कृषि ज्ञान केन्द्रद्वारा कृषकलाई प्रोहोत्सान रकम वितरण

आदर्श अनलाइन, बागलुङ
कृषि ज्ञान केन्द्र बागलुङले यहाँका ३४ जना कृषकलाई प्रोहोत्सान रकम वितरण गरेको छ । ज्ञान केन्द्रले जिल्लामा लामो समयदेखि व्यवसायिक कृषि गर्दै आउनु भएका कृषकलाई साढे नौँ हजारदेखि २५ हजार रुपैयाँ रकमसहित सम्मानपत्रले सम्मान गरेको हो ।

खुल्ला जग्गा तथा टनेल भित्र तरकारी तथा फलफूल उत्पादन गर्ने कृषकलाई क्षेत्रफलका हिसाबमा मूल्याङ्कन गरेर रकम उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । कृषकलाई व्यवसाय तर्फ थप आकर्षित गर्न र लामो समयदेखि निरन्तर कृषि कर्म गर्दै किसानलाई प्रोहोत्सानका लागि रकमसहित सम्मान गरिएको भट्टराईले बताउनुभयो ।


उहाँले भन्नुभयो – “बागलुङमा धेरै अनुभवी र लामो समयदेखि व्यवसायिक कृषकहरु हुनुहुन्छ, उहाँहरु मध्य कतिपयले राज्यबाट पाउनु पर्ने सुविधा पनि प्राप्त गर्नु भएको छैन, यस वर्ष कृषकलाई प्रोहोत्सान गर्ने हिसाबले सम्मान गरेका छौँ, सम्मानित हुने मध्ये कति किसानले अलि बढी र कतिले अलि थोरै रकम दिएका छौँ, यो खेती कति क्षेत्रमा गर्नु भएको छ भनि मूल्याङ्कन गरेर सोही अनुसार उहाँहरुलाई सम्मान गरेका छौँ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाले राज्यले कृषक पहिचान गरि अनुदान दिन थालेको बताउनुभयो । अनुदानले किसानलाई सहजसमेत बनाउन थालेको उहाँको भनाई छ । प्रमुख थापाले पछिल्लो समय कृषकले उत्पादन गरेका वस्तुमा बिचौलियाको हाबी भएको भन्दै अब कृषक आफैले बजारीकरण गर्नु पर्नेमा जोड दिनुभयो ।


“कृषकले उत्पादन गर्छन्, बिचौलियाले उनीहरुबाट न्यून मूल्यमा खरिद गरेर उपभोक्तालाई महङ्गो बेच्ने गरेको छ, यसले कृषक र उपभोक्ता दुवै मारमा परेका छन्” उहाँले भन्नुभयो – “अब कृषकले गाउँमा आफूले उत्पादन गरेको वस्तु बजारमा आफै लिएर आफै विक्री गरे मात्रै कृषकले उचित मूल्य पाउने र उपभोक्ता नठगिने वातावरण बन्छ ।”

कार्यक्रम ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईको अध्यक्षता र वागबानी अधिकृत कुमार पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *